न्युयोर्कमा बेरोजगारी विमा आवेदन हेर्ने कर्मचारी फरार अभियुक्त भएको खुलासापछि बर्खास्त


प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

न्युयोर्कमा बेरोजगारी विमा आवेदन हेर्ने एकजना कर्मचारी फरार अभियुक्त भएको खुलासापछि बर्खास्त गरिएको छ । लामो अपराधको पृष्ठभूमि भएका र परिचय चोरीको अभियोगमा पक्राउ परेका ती व्यक्तिलाई गत जुलाईमा काममा लगाइएको जनाइएको छ ।

न्युयोर्क लेबर डिपार्टमेन्टमा बेरोजगारी विमाका आवेदन हेर्ने जनशक्तिको अभाव भएपछि सयौं कर्मचारीसहित उनलाई प्रतिघण्टा १७ डलर ६१ सेन्टस्को काममा राखिएको थियो । ती ४६ बर्षका कर्मचारीले ह्यारीम्यान अफिस कप्लेक्समा बरिष्ठ रोजगारी सुरक्षा क्लर्कका रुपमा जुलाई २० बाट काम सुरु गरेका थिए ।

उनैको सुरक्षा जाँचका क्रममा फरार अभियुक्त रहेको पुष्टी भएपछि कामबाट निकालिएको हो । हतारहतारमा काममा राख्दा न्युयोर्क डिपार्टमेन्ट अफ लेबरले कर्मचारीको व्यक्तिगत पृष्ठभूमि परीक्षण नगरेको यो घटनाबाट खुलासा भएको छ ।

उनलाई बेरोजगारी विमाका आवेदकको व्यक्तिगत वित्तिय सुचनामा समेत पहुच दिइएको थियो । ती व्यक्ति ४ सय जना बरिष्ठ रोजगारी सुरक्षा क्लर्कमध्येका एकजना भएको बताइएको छ ।

ती व्यक्ति फ्लोरिडाको लिओन काउन्टीका चोरीका फरार अभियुक्तका रुपमा दर्ज रहेका छन् । सन् २०१७ चोरीको अभियोगमा मा पक्राउ परेपछि उनी अदालतमा हाजिर नभएको जनाइएको छ । सिराकसमा पनि सन् २०१५ मा उनले चोरीको अभियोग स्वीकारेका थिए ।

ती व्यक्तिले जालजासी लगायतका ३० वटा अपराधको अभियोग सामना गरेको जनाइएको छ । उनीमाथि भर्मोन्ट, भर्जिनिया, पेन्सिलभेनिया, न्युजर्सी लगायतका राज्यमा दुईदर्जनभन्दा बढी क्रेडिट कार्ड चोरी गरेको समेत अभियोग थियो ।

सन् २०१५ मा जेलबाट निस्केपछि उनी सिराकसमा ज्याकेट चोरी गरेपछि पक्राउ परेका थिए । त्यसको ५ महिनापछि सिराकसमा नै सबवे स्टोरमा सप्ताहन्तमा काम गर्ने क्रममा रजिस्टरबाट ६६० डलर चोरेको अभियोग उनीमाथि लागेको थियो । उक्त रकम स्टोरमालिकलाई तिर्न उनी राजी भएका थिए ।

जुलाईदेखि उनी न्युयोर्क डिपार्टमेन्ट अफ लेवरको मुख्य अफिस रहेको कम्प्लेक्समा नै कार्यरत रहेका थिए । त्यहाँ उनले काममा निकै प्रशंसा समेत बटुलेका थिए । नक्कलीजस्ता लाग्ने बेरोजगारी विमाका आवेदनहरु फ्लाग गर्ने काममा उनी खटेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com