जनसम्पर्क समिति न्युयोर्क च्याप्टर उपसभापति अमर तामाङको ३९ बर्षको उमेरमा निधन


प्रकाशित मिति : भाद्र ३, २०७७ बुधबार

नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टर उपसभापति अमर तामाङको निधन भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले शोक सन्देश जारी गर्दै तामाङको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

‘नेपाली जनसम्पर्क समिति अमेरिका मार्फत नेपाली काँग्रेसको संगठन विस्तार र निर्माणमा निरन्तर कृयाशिल भै काम गरेका यस परिवारका सदस्य तामाङको निधनले समितिको सिंगो परिवार अत्यन्त दुखित छ । हामी सबै मर्माहत भएका छौं ।’ – बिष्टले भन्नुभएको छ ।

तामाङ संगठनप्रति अत्यन्त इमान्दार र प्रतिबद्ध सदस्य रहेको बिष्टले स्मरण गर्नुभयो । क्यान्सर रोगबाट पीडित तामाङ विगत केही महिनादेखि अस्पतालमा उपचाररत थिए ।

उपचारकै क्रममा आजविहान ३ बजेर १२ मिनेटको समयमा न्युयोर्कको माउन्ट साइनाई अस्पतालमा उनको निधन भएको हो ।

पुख्यौली थलो नेपालको कास्की जिल्ला रहेका ३९ बर्षका तामाङ विगत १५ बर्षदेखि न्युयोर्कमा बसोबास गर्दै आएका थिए ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहनुभएका बिष्टले यस दुखद घडीमा तामाङको योगदानको उच्च सम्मान व्यक्त गर्दै आत्माको चीर शान्तिको कामना गर्नुभएको छ । साथै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै दिवंगत तामाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

अमेरिकामा रहेका नेपालीहरुले केहीदिनदेखि सिकिस्त तामाङको स्वास्थ्य लाभको कामना गरिरहेका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com