कोरोना भाइरसविरुद्धको भ्याक्सिन अगस्टमा औपचारिक रुपमा दर्ता हुने


प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार

चीन, बेलायत र अमेरिकासहित अन्य देश पनि सम्भावित भ्याक्सिन निर्माणका लागि जुटिरहेका छन् । रुसको गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता हुने भएको छ ।

रुसी सहायक स्वास्थमन्त्री ओलेग ग्रिडनेभले अगामी बुधबार भ्याक्सिन दर्ता हुन लागेको खुलासा गरेका हुन् । ग्रिडनेभका अनुसार स्वास्थकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा यो भ्याक्सिन लगाइनेछ ।

गत साता स्वास्थ मन्त्री मिखाइल मुरास्र्कोले अक्टुबरदेखि देशव्यापी सामुहिक भ्याक्सिन कार्यक्रम सुरु गर्ने योजना बनाइएको बताएका थिए । मुरास्र्कोले यसका लागि सबै खर्च सरकारले व्यहार्ने पनि जानकारी गराएका थिए ।

रुसी सञ्चारमाध्यम आरटीकाअनुसार शुक्रबार बिहान ग्रिडनेभले भ्याक्सिनको अहिले अन्तिम चरण अर्थात् तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको बताएका छन् । यो परीक्षण अति महत्वपूर्ण भएको पनि उनले बताए ।

१८ जुनमा मस्कोस्थित सेचेनोभ विश्वविद्यालयमा भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भएको थियो । ३८ स्वयंम्सेवक सहभागी भएको अध्ययनमा यसले सुरक्षा प्रोटोकल पूरा गरेको रुसको दाबी छ । रुसका अनुसार क्लिनिकल ट्रायलमा सहभागी सबैमा संक्रमणविरुद्ध इम्युनिटी विकास भएको थियो ।

रुसले तिव्र गतिमा भ्याक्सिन निर्माण गर्न सफल हुँदा पश्चिमा देशका केही व्यक्तिहरुको आँखीभैं ठाडो भएको पनि आरटीमा प्रकाशित समाचारमा उल्लेख छ । यता, यसअघि भ्याक्सिन निर्माणबारे प्रतिक्रिया दिदैं विश्व स्वास्थ संगठनले हतार नगर्न चेतावनी दिएको थियो । प्रक्रियासम्मत रुपमा भ्याक्सिन निर्माणलाई निरन्तर दिनुपर्ने र यसमा हतार गर्न नहुने डब्ल्युुएचओले जनाएको थियो ।

चीन, बेलायत र अमेरिकासहित अन्य देश पनि सम्भावित भ्याक्सिन निर्माणका लागि जुटिरहेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार गर्ने भ्याक्सिन, चीनको सिनोफार्म र अमेरिकाको मोडर्ना कम्पनीले तयार गर्न लागेको भ्याक्सिन परीक्षणको अन्तिम अर्थात् तेस्रो चरणमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com