चीनका ९ शहरमा फैलियो कोरोना, नयाँ संक्रमितपछि पुनः प्रतिबन्ध लागू


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

चीनको पूर्वोत्तरमा तटवर्ती शहर दालियनमा नयाँ संक्रमित भेटिएपछि अब अन्य प्रान्तमा पनि संक्रमण फैलन सुरु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार अधिकारीले नयाँ संक्रमित भेटिएपछि पुनः प्रतिबन्ध लागू गरेका छन् । पहिलो कोरोना संक्रमित गत वर्ष चीनमा नै भेटिएको थियो तर उसले लकडाउन र अन्य कडा नियम लागू गरेर स्थिती नियन्त्रण गरेको थियो ।

तर चीनमा पछिल्लो केही समयदेखि ठाउँठाउँमा संक्रमण फैलिरहेको छ जसका कारण सरकारको चिन्ता बढेको छ । मंगलबार चीनमा ६८ नयाँ संक्रमित भेटिएका छन् । अप्रिलपछि यो अहिलेसम्मको सबैभन्दा ठूलो संख्या हो ।

यीमध्ये ५७ संक्रमित शिन्जियांग प्रान्तका छन् । यस्तै मंगलबार लिएओनिंग प्रान्तको पोर्ट सिटी दालियनमा पनि ६ नयाँ संक्रमित भेटिएका छन् । गत हप्ता यहाँ सी–फूड प्रोसेसिङ गर्ने कारखानामा थुप्र्रै व्यक्तिहरु संक्रमित भएका थिए ।

नयाँ संक्रमित मिलाएर दालियानमा संक्रमणका कूल संख्या ४४ भएको छ । स्वास्थ्य अधिकारीका अनुसार दालियनबाट निस्किएको संक्रमण देशको पाँच प्रान्तका ९ शहर पुगेको छ ।

यसमा त्यहाँभन्दा १५ सय किलोमिटर टाढा दक्षिण पूर्वी तटीय प्रान्त फुजियान पनि समावेश छ । त्यहाँ दालियनका बिना लक्षणका एक बिरामीबाट पत्ता लागेपछि अधिकारीले विशेषगरी बाहिरबाट आउने व्यक्तिहरुको परीक्षणमा कडाई गरेको छ ।

बेइजिङमा पनि मंगलबार एकजना संक्रमित भेटिएका छन् । यसको सम्बन्ध पनि दालियनका एक बिरामीसँग जोडिएको थियो जसमा संक्रमणको कुनै लक्षण थिएन ।दालियनले मंगलबार यस्तै १२ संक्रमित भेटिएको छ जसमा कुनै लक्षण थिएन । चीनभरी अहिले ३९१ संक्रमित अस्पतालमा भर्ना छन् । हालसम्म चीनमा कूल ८३ हजार ९ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com