बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि अस्थायीरुपमा लम्बाउने प्रस्ताव रिपब्लिकन टेबुलमा


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता प्राप्त गरिरहेकाहरुलाई अतिरिक्त साप्ताहिक रुपमा प्रदान गरिदै आएको ६ सय डलरको अवधि समाप्त हुँदै गर्दा रिपब्लिकन सांसदहरुबीच अतिरिक्त रकमको अवधि अस्थायीरुपमा बढाउनेबारे छलफल भएको छ । डेमोक्र्याट्सहरुले उक्त रकमको अवधि यो बर्षभरकै लागि बढाउन प्रस्ताव गरेपनि रिपब्लिकन सांसदहरुभने अतिरिक्त रकमको अवधि अस्थायी रुपमा बढाउनेबारे छलफल गरिरहेका छन् ।

ह्वाइट र सांसदहरुबीच राहत प्याकेजबारे छलफल भइरहँदा बेरोजगारी विमाको अतिरिक्त रकम अस्थायीरुपमा बढाउने प्रस्ताव टेबुलमा पुगेको छ । तर अतिरिक्त साप्ताहिक ६ सय डलर नै प्रदान गर्ने वा त्योभन्दा कम रकम प्रदान गर्ने भन्नेबारे केही निष्कर्ष निस्केको छैन । साथै कतिसमयका लागि बढाउने भन्ने पनि निश्चित भइसकेको छैन ।

सिनेटर जोन बारासोले यो विषय अझै छलफलकै क्रममा रहेको र मिश्रित खालका धारणाहरु आइरहेको बताएका छन् । बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि समाप्त हुनुअगाडि नै सांसदहरुबीच प्याकेजमा सहमति हुने ओहायाको रिपब्लिकन सिनेटर रोब पोर्टम्यानले आशा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिरिक्त रकमको अपधि अस्थायीरुपमा बढाउने कुरालाई समर्थन गर्ने नगर्नेबारे केही बताएका छैनन् । तर उनले अन्तत केही राम्रो निर्णय बाहिर आउने बताएका छन् । कस्तो निर्णय भन्नेबारे उनले केही खुलाएका छैनन् ।

ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मेडोजले भने बेरोजगारी विमाको अतिरिक्त रकमको अवधि अस्थायीरुपमा बढाइनेमा शंका व्यक्त गरेका छन् । बेरोजगारी विमाको अतिरिक्त रकम अहिले क्यापिटल हिलमा सांसदहरुबीच मुख्य बहसको विषय बनेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com