न्युयोर्कमा कोरोना संक्रमणबाट अस्पताल भर्ना हुनेदर अहिलेसम्मकै कम


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट अस्पताल भर्ना हुनेको दर कोरोनाको महामारी सुरु भएयताकै ४ महिनामा सबैभन्दा कम भएको छ । अस्पतालमा भर्ना हुने दर मार्च १८ यताकै कम भएको जनाइएको छ ।

न्युयोर्क राज्यभर शुक्रबार कोभिड १९ का कारण अस्पताल भर्ना हुनेहरु ७४३ जना रहेका थिए, जुन अघिल्लो दिनको तुलनामा २२ जनाले कमी रहेको शनिबार न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जानकारी दिए । कुमोले भाइरस नियन्त्रणका लागि तोकिएका मापदण्डहरु पालना गरेकोमा न्युयोर्कबासीको प्रशंसा गरे ।

न्युयोर्कबासीहरुले मास्क लगाउने, हात धुने र सामाजिक दुरी कायम गर्ने जस्ता आधारभूत आनीवानी स्वीकारको कारण तथा साहस र सावधानी अपनाएका कारण भाइरस नियन्त्रण गर्न सहज भएको तथा सफलताको बाटोमा निरन्तर अगाडि बढनुपर्ने कुमोले बताए । अमेरिकाका अन्य कैयन राज्यमा कोरोनाको महामारी बढिरहँदा त्यसको प्रभाव न्युयोर्कमा पर्नेसक्ने समेत उनको भनाई छ ।

शुक्रबार फ्लोरिडाले नवौं पटक दैनिक १० हजारभन्दा धेरै संक्रमितको संख्या रिपोर्ट गरिसकेको छ । त्यहाँ कैयन अस्पतालहरुका आईसीयुहरु भरिएका छन् । कैयन काउन्टीहरुमा भोजभतेर र भाइरस फैलिने गतिविधि रोक्न निषेधाज्ञा जारी गरिएको छ ।

यस्तो अवस्थामा न्युयोर्कले कोरोनाका नयाँ संक्रमित र अस्पताल भर्ना हुनेको संख्यामा निकै कमी ल्याएको छ । तर अन्य राज्यमा कोरोना फैलिरहँदा न्युयोर्कबासीहरु शतर्क रहिरहनुपर्ने गभर्नर कुमोले बताएका छन् ।

न्युयोर्कमा १ सय जनलाई अहिलेपनि भेन्टिलेटरमा राखिएको छ भने १७२ जनालाई आइसीयुमा राखेर उपचार भइरहेको छ । शुक्रबार न्युयोर्कमा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com