के छ कमला र बर्नीले ल्याएको मासिक २ हजार डलर राहतको प्रस्तावमा ?


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

आगामी राष्ट्रपतिको चुनावमा उम्मेदवारी घोषणा गरेर पछि हटेका २ डेमोक्रेटिक सिनेटरहरु कमला ह्यारिस र बर्नी स्याण्डर्सले ल्याएको मासिक आर्थिक संकट सहायता ऐनमा कोरोनाको महामारी जारी रहुन्जेल अमेरिकनहरुलाई मासिक २ हजार डलर दिनुपर्ने उल्लेख छ । सिनेटर ह्यारिसले मासिक २ हजार डलरको राहत पठाउनुपर्ने आफ्नो प्रस्तावका लागि निरन्तर आवाज उठाउँदै आएकी छिन् ।

आगामी साता नयाँ राहत प्याकेजबारे संसदीय बहस तीब्र हुने अपेक्षा गरिएको छ । सिनेटर ह्यारिसले बर्नी स्याण्डर्स र एड मार्केका साथमा आफूले महामारीभर अमेरिकनहरुलाई मासिक २ हजार डलर राहत उपलब्ध गराउनुपर्ने प्रस्ताव गरिरहेको बताएकी छिन् । तोकिएको भन्दा कम आम्दानी हुनेहरुलाई महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न मासिक २ हजार डलर उपलब्ध गराउनुपर्ने उनको तर्क छ ।

यो प्रस्तावमा १ लाख २० हजारभन्दा कम आम्दानी हुनेहरुलाई मासिक २ हजार डलर उपलब्ध गराउनुपर्ने समेटिएको छ । बार्षिक १ लाख डलरबाट मासिक राहत फेजआउट हुन सुरु गर्ने जनाइएको छ । यो प्रस्तावमा संयुक्त ट्याक्स फाइल गरेका विवाहित जोडीलाई मासिक ४ हजार डलर उपलब्ध गराउने विषय समेटिएको छ ।

पूर्ण पाठ

यदि कसैको डिपेन्डेन्ट भएमा प्रत्येक डिपेन्डेन्टका २ हजार डलरका दरले अधिकतम तीनजना डिपेन्डेन्टका लागि ६ हजार डलरसम्म प्राप्त गर्नसकिने प्रस्तावमा उल्लेख छ । यो प्रस्ताव पारित भएमा गत मार्च महिनाबाट लागु हुनेगरी महामारी अवधिभर मासिक २ हजार डलरका दरले रकम प्राप्त हुनेछ ।

कोरोनाको महामारी समाप्त भएको तीनमहिनासम्म रकम प्राप्त हुने र ट्याक्स फाइल गरेपनि नगरेपनि हरेक अमेरिकाबासीले उक्त रकम पाउने प्रस्तावमा उल्लेख छ । अर्को चरणको राहत रकम पठाउने सन्दर्भमा यो प्रस्ताव नयाँ भने होइन । अन्य कैयन सांसदहरुले विभिन्न प्रकारका प्रस्तावहरु अगाडि ल्याएका छन् ।

संसदमा आगामी साता दुईदलीय सहमतिको नयाँ राहत प्याकेज आउने सम्भावना रहेको छ । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनले राहत प्याकेजको ड्राफ्ट प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । सोमबारदेखि संसद काममा फर्कने भएकाले लगत्तै राहतको प्याकेजमा संसदमा पेश गरिने अपेक्षा गरिएको छ ।

रिपब्लिकनहरु भने बार्षिक ४० हजारभन्दा कम आम्दानी हुनेहरुलाई एकपटक दोश्रो चरणमा राहत चेक उपलब्ध गराउने पक्षमा रहेका छन् । राहत चेक पहिलेको १२ सय डलरभन्दा पनि कम दिनुपर्ने कतिपय सांसदको तर्क रहेको छ । यद्यपी डेमोक्र्याट्सहरुले भने ४० हजारको थ्रेसहोल्डको विरोध गर्दै आएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com