‘४ देखि ६ हप्तासम्म अनुशासित ढंगले मास्क लगाए कोरोना नियन्त्रण हुने’


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

अमेरिकामा कोरोनाको महामारी फैलिरहँदा ४ देखि ६ हप्ता अनुशासित ढंगले मास्क लगाएमा कोरोना नियन्त्रणमा आउने अमेरिकन सीडीसीका प्रमुखले बताएका छन् । अमेरिकाका केही राज्यमा कोरोनाको महामारी तीब्र बनिरहेको बेलामा सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डको यो भनाई आएको हो ।

मास्क लगाउँदा संक्रमितबाट कोरोनाको भाइरस बोकेका स्वासप्रश्वासका सुक्ष्म थोपाहरु खोक्दा वा हाछ्यु गर्दा हवामा फैलिनबाट रोकावट हुने र अर्को व्यक्तिमा सर्नबाट रोकिने उनले बताएका छन् । यो नै कोरोना भाइरसको फैलावट रोक्ने सबैभन्दा प्रभावकारी उपाय रहेको उनको भनाई छ ।

उनले मास्कको प्रयोगलाई अमेरिकामा राजनीतिकरण गरिएकोमा दुख व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गर्दै आएपछि अधिकांश रिपब्लिकनहरुले मास्क लगाउन अस्वीकार गर्दै आएका थिए । तर यसैसाता ट्रम्पले पहिलोपटक मास्क लगाएका छन् ।

यसैबीच फ्लोरिडामा कोरोना संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । त्यस्तै टेक्सासमा पनि मंगलबार अहिलेसम्मकै उच्च संक्रमित संख्या रिपोर्ट गरिएको छ । मंगलबार टेक्सासमा १० हजार ७ सय ४५ मा संक्रमण पुष्टी भएको थियो ।

अमेरिकाभर संक्रमितको संख्या ३४ लाख नाघिसकेको छ भने १ लाख ३६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ३३ लाख नाघिसकेको छ । विश्वभर मृतकको संख्या ५ लाख ८० हजार नाघेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com