काठमाडौं पुग्यो बेलायतका नेपाली बोकेको चार्टर उडान
प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

बेलायतका नेपाली बोकेर बुधबार लन्डनबाट उडेको चार्टर उडान काठमाडौं पुगेको छ ।
लन्डनको ग्याटविक एयरपोर्टबाट बुधबार अपरान्ह छुटेको जजिरा एयरवेजको विमान बिहीवार बिहान साढे ८ बजे काठमाडौं अवतरण गरेको छ ।
यो उडानमार्फत लकडाउनले बेलायतमा रोकिएका १ सय ४६ जना नेपाली स्वदेश फर्किएको छन् ।
भिसा अवधि सकिएका , नेपालमा बाबुआमाको मृत्यु भएर काजक्रिया गर्न जान लागेका, पढाइ सकिएका वा बीचमा छोडेरै जान लागेका विद्यार्थी, तालिमलाई आएका कर्मचारी र सेनाका अधिकृत, जाँच दिन आएका डाक्टर, महामारीका बेला रोजगारी गुमाएका कामदार तथा बेलायतमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरु चार्टर उडानमा नेपाल गएका हुन्।
यसअघि गैरआवासीय नेपाली संघ यूकेको सहयोगमा दूतावासले नेपाल फर्कन जरुरी अवस्थामा रहेका बेलायतस्थित झण्डै ५ सय नेपालीको सूची तयार गरेको थियो । सोही सूचीबाट पहिलो प्राथमिकतामा पर्नेहरु पहिलो उडानमै उड्ने मौका पाएका हुन् ।
बेलायतमा अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकारले व्यवस्था गरेको दुई चार्टर उडानमध्येको दोस्रो उडान भने शुक्रबार हुनेछ । उक्त उडानमा जानेहरुलाई यथाशीघ्र आफ्नो टिकट काटेर यात्रा सुरक्षित गर्न लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
नेपाली लिङ्क