कोरोना सङ्क्रमित गर्भवती ४ दिननै निको भएर डिस्चार्ज


प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार

कोराना सङ्क्रमण भएर भरतपुर अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना परीक्षण नेगेटिभ आएपछि आइतबार डिस्चार्ज गरिएको छ । गत बुधबार हेटौँडामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी महिलाको दोस्रो पटकको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो ।

शुक्रबार र शनिबार भएको परीक्षणमा नेगेटिभ आएपछि महिलाको श्रीमानलाई जिम्मा लगाएर आइतबार डिस्चार्ज गरेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना पुष्टि भएको चार दिनको दिन उहाँमा सङ्क्रमण निको भएको हो । कोरोना सङ्क्रमणको आशङ्कामा गत वैशाख ९ गते हेटौँडामा गरिएको परीक्षणका आधारमा एक सातापछि पुनःस्वाब सङ्कलन गरी दुईपटकसम्म परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । भरतपुर अस्पताल कोभिड– १९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलले सङ्क्रमित महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले पुष्टि भएको चार दिनमा नै निको भएको बताउनुभयो ।

यही जेठ १४ गते सङ्क्रमण पुष्टि भएसँगै उहाँलाई भरतपुर अस्पताल पठाइएको थियो । उहाँ गर्भवती भएकाले भरतपुर अस्पताल पठाइएको हो । उहाँ र उहाँका श्रीमान् भरतपुुर महानगरपालिका वडा नं १२ मा बस्दैआउनुभएकाे थियाे । उहाँहरू बस्ने घरका घरधनीको पनि स्वाब परीक्षणका क्रममा नेगेटिभ आइसकेको छ । आइतबार हेटौँडाबाट आएको एम्बुलेन्समा हालेर पठाइएको पौडेलले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com