नेपालमा थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५


प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार

नेपालमा थप ७२ जनामा कारोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा काेराेना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएका संक्रमित काठमाडौं, बारा, रौटहट, दैलेख, धनुषा, सप्तरी, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौंडा, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा नयाँ संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता समीरकुमार अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सोमबार संक्रमण पुष्टि हुनेमा काठमाडौंको टोखा र बुढानिलकण्ठ नगरपालिकाका तीन पुरुष, धनुषाको नगराइन नगरपालिकाका तीन पुरुष, कपिलवस्तुको शिवनगर नगरपालिकाका तीन पुरुष, रौतहटको राजपुर फरहदवा र इसनाथ नगरपालिकाका २६ पुरुष, बाराको कलैया नगररपालिकाका २ पुरुष र गढीमाई नगरपालिकाका २१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी सप्तरीको डाक्नेखरी नगरपालिकामा २ पुरुष, बर्दियाको बासगढी नगरपालिकाका एक पुरुष, बाँकेको दुधरा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका चार पुरुष, दैलेखको नारायण नगरपालिकामा एक महिला र दैलेखको गुराँस नगरपालिकाका २ पुरुषमा संक्रमण पुष्टि भएको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com