आफैँ मिति सच्याउँदै, गाडी गुडाउँदै !


प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार

मुलुकमा कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्न शुरु गरिएको बन्दाबन्दी ‘लकडाउन’ मा प्रयोग हुने सवारी साधनलाई दिइने पासको दुरुपयोग हुनेक्रम अझै रोकिएको छैन भने त्यसको उल्लङ्घन गर्ने मानिसको सङ्ख्यामा समेत कमि हुन सकेको छैन ।

झुठो विवरण पेश गरेर सवारी पास लिने तथा पुरानै पासलाई मिति सच्याएर प्रयोग गर्नेक्रम जारी छ । कतिपयले आफन्त बितेको भनेर पासको दुरुपयोग गरी मानिस चढाएको समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि दैनिकजसो नै पासको दुरुपयोग हुनेक्रम जारी छ ।

कोभिड–१९ को सङ्क्रमण दैनिकरुपमा देखिँदै आएकाले जोखिम कायमै रहेको भन्दै वैशाख १५ पछि लकडाउनलाई सरकारले थप कडाइ गर्न प्रहरीलाई स्पष्ट निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा लकडाउनमा चलाउने सवारी सञ्चालनको निगरानीमा कडाइ गरिएको र अनावश्यकरुपमा बाहिर निस्किने व्यक्तिविरुद्धको कारवाहीलाई समेत तीव्र पारिएको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अहिले पनि मुलुकभर लकडाउन उल्लङ्घन गर्ने दैनिक तीन हजार मानिसलाई कारवाही गर्ने गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकामा मात्रै लकडाउन उल्लङ्घन गर्ने ८१ हजारलाई कारवाही गरिएको जानकारी दिए । यो बीचमा पासको दुरुपयोग गर्ने र पुरानो पास प्रयोग गर्ने झण्डै दुई हजार २०० गाडीलाई समेत कारवाही गरिएको छ । मुलुकभर लकडाउन उल्लङ्घन गर्ने एक लाख १० हजारभन्दा बढीलाई कारवाही गरिएको छ । यो अवधिमा उपत्यकाका तीन जिल्लामा मात्रै दुई हजार २०० सवारी पास प्रहरीले खिचेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘धेरैजसो मिति सच्याएर चलाउने गरेको पाइयो’, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले भने, ‘तोकिएको पासबाहेक कसैलाई छुट छैन, प्रहरीको पूरा निगरानी हुन्छ ।’ स्थानीय प्रशासनले गत चैत ११ देखि १८ गतेसम्मका लागि सेतो रङको सवारी पासको व्यवस्था गरेको थियो । लकडाउन थपिएपछि एकदिने, तीनदिने र सात दिने पहेँलो पास जारी भयो । गत चैत २५ मा पुनःलकडाउन थपिएपछि प्रशासनले सात दिने पहेंलो पासलाई कायमै राखेको छ । तर एकदिने र तीनदिने पासको मिति सच्याउँदै गाडी प्रयोग गर्ने अवस्था अहिले पनि दोहोरिरहेको ढकालले बताए ।

जुन काम र जुन प्रयोजनका लागि पास दिइएको हो, त्योभन्दाविपरीत पासको दुरुपयोग भएको समेत फेला परेकाले उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको छ । अत्यावश्यक कामबाहेक अन्य समयमा घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यकरुपमा बाहिर निस्किने क्रमसमेत दोहोरिएको छ । अहिले पास नभएका गाडीसमेत नियमित सञ्चालन भइरहेको छ । आजमात्रै ट्राफिक प्रहरीले बिनापास चलाएका ४७५ गाडीलाई नियन्त्रणमा लिएको छ । दैनिकरुपमा यसरी बिनापास गाडी चलाउने गरेको पाइएको छ ।

यसरी उल्लङ्घन गर्ने कतिपय गाडीलाई घटनाको प्रकृति हेरेर तीन/चार दिनसम्म होल्डमा राख्ने गरिएको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेक प्वाइन्ट राखी जाँचको व्यवस्था मिलाएको छ भने अन्य स्थानमा संयुक्त जाँच हुने गरेको छ । स्थानीय प्रशासनले दुरुपयोग हुने सम्भावना बढेपछि यसअघि अनलाइबाट पास माग्ने प्रक्रियालाई समेत रोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउनको आदेश जारी गरेको थियो । उक्त आदेश वैशाख २५ सम्म जारी रहनेछ ।

उपत्यकामा बढ्न थाल्यो सवारीको चाप

पछिल्लो समयमा उपत्यकामा गाडीको चाप बढ्न थालेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा पछिल्ला दिनमा गाडी निक्कै बढी गुड्न थालेका छन् । सवारीको चाप बढ्न थालेकाले ट्राफिक नियम उल्लङ्घनविरुद्धसमेत कारवाही थालिएको ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले जानकारी दिए । मुख्यगरी बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत भित्रिने गरेका, राहत वितरण र अत्यावश्यक सामान ओसारपसारमा प्रयोग भएका गाडीको चापसमेत बढेको प्रहरीले जनाएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था, विभिन्न उद्योग आयोजना सञ्चालन हुन थालेकाले गाडीको चाप बढेको ढकालले बताए । कतिपयले जवर्जस्तीसमेत गाडी चलाउने गरेको पाइएको छ ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com