अमेरिका नआउँदै ६ महिनाको आप्रवासी भिसा सकिदै छ ? तुरुन्त चाल्नुहोस् यी कदम


प्रकाशित मिति : बैशाख ११, २०७७ बिहीबार

मैले रोजगारमा आधारित, परिवारमा आधारित वा डिभी लोटरीमा आधारित अमेरिकाको आप्रवासी भिसा प्राप्त गरेको ६ महिनाको म्याद पूरा हुँदैछ तर कोरोनाको महामारीका कारण म भिसाको म्यादभित्र अमेरिका आउन नसक्ने अवस्था भएको छ । अब मैले के गर्ने ? कतै मेरो भिसा खारेज भएर समस्या हुने हो कि ?

रमेश श्रेष्ठ : 

सामान्यतया अमेरिकाको आप्रवासी भिसा ६ महिनाको लागि जारी गरिन्छ । अर्थात् कुनै पनि व्यक्ति अमेरिकाको ग्रिनकार्ड पाउने गरी आप्रवासी भिसा पाएको ६ महिनाभित्र अमेरिकाभित्र आइसक्नुपर्छ । तर कुनै व्यक्ति कोभिड १९ का कारण आप्रवासी भिसा अद्यावधिक रहेको ६ महिनामा आउन सक्नुभएन भने उहाँहरुले अमेरिकी दूतावासमा सम्पर्क गर्नुपर्छ ।

ग्रिनकार्डबाहक ६ महिनामा अमेरिका फर्कन नसके नागरिकता आवेदन दिंदा के असर पर्छ ?

कोरोनाको महामारी वा आफ्नो काबु बाहिरको अन्य अवस्थामा समेत ६ महिनाभित्र अमेरिका आउन नसके भिसा नसकिदै अमेरिकी दूतावासमा सम्पर्क गर्नुपर्छ । दूतावासको आप्रवासी भिसा युनिटमा ६ महिनाभित्र अमेरिका जान नसक्नुको कारणसहित कभरलेटर लेखेर भिसा फर्काउनुपर्छ । त्यसपछि कन्सुलर अफिसरले पुनरावलोकन गरेर तपाईको काबु बाहिरको अवस्थाका कारण ६ महिनाभित्र अमेरिका जान नसकेको निष्कर्ष निकालेमा तपाईका लागि नयाँ भिसा जारी गर्छ । त्यसका लागि तपाईले अतिरिक्त भिसा प्रकृया शुल्क तिर्नुपर्ने हुनसक्छ भने अतिरिक्त स्वास्थ्य जाँच समेत गर्नुपर्ने हुनसक्छ । कन्सुलर अधिकारीले तपाईको आवेदन आइसकेपछि थप कागजात के के आवश्यक पर्ने भन्नेबारे तपाईलाई जानकारी गराउनेछन् ।

रमेश श्रेष्ठ

यसबारे अमेरिकी दूतावासको वेवसाइटमा प्रकाशित यो विवरण पनि पढ्न सक्नुहुनेछ ।

६ महिनाको आप्रवासी भिसा अन्तरगत आप्रवासी ६ महिनाभित्र अमेरिका प्रवेश गरेमा उसलाई आवासीय स्टाटसमा अमेरिकामा प्रवेश दिइन्छ । तर ६ महिनाको अवधिमा आउन नसकेकाहरुका हकमा उसले अमेरिकाको आगमन त्यागेको अमेरिकी अध्यागमनले निष्कर्ष निकाल्छ । त्यसैले यदि ६ महिनाको आप्रवासी भिसा सकिन लागेको छ वा सकिएको छ भने तर तपाई अमेरिका आउन सक्नुभएन भने अमेरिकी दूतावासमा सम्पर्क गर्नुपर्छ । त्यसो भएमा अमेरिकी दूतावासले तपाईको भिसाको अवधि थप्न सक्छ ।

कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका फर्कन नसक्ने ग्रिनकार्डवाहकले के गर्ने ?

यदि ६ महिनाभित्रमा अमेरिका आउन नसकेमा र यसको जानकारी अमेरिकी दूतावासलाई नगराएमा भिसा रद्द हुन्छ । फेरी अमेरिका आउनका लागि सुरुदेखि नयाँ प्रकृया गर्नुपर्ने हुनसक्छ । डिभी र रोजगारमा आधारित भिसा छ भने अझ समस्या हुन्छ । तर परिवारमा आधारित भिसा छ भनेपनि नयाँ भिसाका लागि प्रकृया गर्नुपर्ने हुन्छ ।

(यो प्रश्नको जवाफ न्युयोर्क निवासी नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । तपाईका कुनै अध्यागमन प्रश्नहरु छन् भने खसोखासलाई लेख्नुहोला । हामी जवाफ खोज्ने प्रयास गर्नेछौं । तर प्रश्न सोध्दा आफ्ना संवेदनशिल विवरणहरु नपठाउनुहोला ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com