विद्यार्थी र भिजिटर भिसामा अमेरिका आउने नेपालीको संख्यामा ट्रम्पकालका ११ महिनामा भारी गिरावट


प्रकाशित मिति : पुस १२, २०८२ आईतबार

२०२५ को ११ महिनामा ३५ हजार ४४९ नेपाली गैर आप्रवासी भिसामा अमेरिका प्रवेश गरेको तथ्यांक अमेरिकी सरकारको इन्टरनेशनल ट्रेड एड्मििनिष्ट्रेशनले सार्वजनिक गरेको छ । नोभेम्बरको तथ्यांक प्रारम्भिकमात्र रहेको छ भने अन्य १० महिनाको तथ्यांक अन्तिम तथ्यांक रहेको छ । यो तथ्यांक आई ९४ को आधारमा गणना गरिएकाले कुनै नेपालीहरु बर्षमा १ पटकभन्दा बढी अमेरिका आएको खण्डमा उनीहरुको गणना पनि एकपटक भन्दा बढी भएको हुनसक्छ । नेपालीहरुका सन्दर्भमा यो संख्यामा विद्यार्थी भिसामा आउनेहरु र भिजिटर भिसामा आउनेहरु समावेश छन् ।

मासिक रूपमा हेर्दा जनवरीमा ४०५१, फेब्रुअरीमा १८७३, मार्चमा २४८०, अप्रिलमा २५५३, मेमा ३८७३ र जुनमा ३१५१ नेपाली भिजिटरहरु अमेरिका आएका देखिन्छन्। त्यसैगरी जुलाईमा ३८४६, अगस्टमा ५८७९, सेप्टेम्बरमा ३४८५, अक्टोबरमा २४३४ र नोभेम्बरमा १८२४ नेपाली भिजिटरहरु अमेरिका आएका छन् । यस तथ्याङ्क अनुसार अगस्ट महिनामा सबैभन्दा बढी नेपाली भिजिटरहरु अमेरिका आएका छन् ।

२०२४ मा कुल ४८ हजार ५२५ जना नेपालीहरु गैर आप्रवासी भिसाहरुमा भिजिटरका रुपमा अमेरिका आएका थिए । २०२४ को ११ महिनासँग २०२५ को ११ महिनाको तुलना गर्दा अमेरिका आउने नेपाली भिजिटरको संखयामा उल्लेख्य गिरावट आएको छ । अर्थात् २०२४ को पहिलो ११ महिनामा ४४ हजार ४६१ नेपालीहरु अमेरिका आएकोमा यो संख्या २०२५ को पहिलो ११ महिनामा ९ हजारभन्दा धेरैले गिरावट आएको छ । यो झण्डै २० प्रतिशतको गिरावट हो ।

सन् २०२४ मा नेपालबाट अमेरिकामा आउने भिजिटरहरुको मासिक विवरण अनुसार जनवरीमा ४५३८, फेब्रुअरीमा २३८४, मार्चमा २८८९, अप्रिलमा ३०५५, मेमा ४३२५ र जुनमा ३८९७ जना नेपालीहरू भिजिटरका रुपमा अमेरिका भित्रिएका थिए। त्यसैगरी जुलाईमा ४७७९, अगस्टमा ९३३९, सेप्टेम्बरमा ३५३४, अक्टोबरमा ३५४९, नोभेम्बरमा २१७२ र डिसेम्बरमा ४०६४ जनाको आगमन भएको देखिन्छ। यस तथ्याङ्कलाई हेर्दा अगस्ट महिनामा सबैभन्दा धेरै र नोभेम्बर महिनामा सबैभन्दा कम नेपालीहरू अमेरिका आएको पाइन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०२३ मा अमेरिकामा भिजिटर र विद्यार्थीका रुपमा आउने नेपालीहरुको संख्या ४२ हजार ४ सय ७२ थियो भने २०२२ मा ३० हजार १ सय १६ थियो । त्यस्तै २०२१ मा यो संख्या १८ हजार ४ सय ३६ थियो भने कोरोना महामारीका कारण २०२० मा यो संख्या ८ हजार १ सय ३४ मा झरेको थियो । २०१९ मा ३३ हजार ७६०, २०१८ मा ३२ हजार ७७, २०१७ मा ३१ हजार ९ सय ७८, २०१६ मा ३१ हजार ४०१, २०१५ मा २५ हजार ९ सय ६८ जना नेपालीहरु अमेरिकामा भिजिटर र विद्यार्थी भिसामा प्रवेश गरेका थिए ।

सन् २००० देखि २०२४ सम्म नेपालबाट अमेरिका प्रस्थान गर्ने आगन्तुकहरूको संख्यामा उल्लेख्य उतारचढाव र वृद्धि देखिएको छ। सन् २००० मा ४१०१ बाट सुरु भएको यो संख्या क्रमशः बढ्दै सन् २००८ मा १४ हजार ७०६ पुगेको थियो। बीचका केही वर्षहरूमा सामान्य गिरावट आए पनि सन् २०१४ पछि यसमा तीव्र वृद्धि भयो ।

सन् २००० देखि २०२४ सम्म भिजिटर र विद्यार्थी लगायतका भिसामा अमेरिका आएका नेपाली गैरआप्रवासीहरु ।

आई ९४ रेकर्ड अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीबाट विगत ५० वर्षभन्दा बढी समयदेखि प्रयोग गरिँदै आएको एउटा महत्वपूर्ण दस्तावेज हो। सन् १९८३ देखि अमेरिकी डिपार्टमेन्ट अफ कमर्शले अन्तर्राष्ट्रिय आगमनको तथ्याङ्क राख्न यसको प्रयोग गर्दै आएको छ। पहिले यो एउटा सेतो कागजको कार्डको रूपमा हुन्थ्यो, तर अहिले यसलाई पूर्ण रूपमा इलेक्ट्रोनिकमा परिमार्जन गरिएको छ। यो रेकर्डले कुनै पनि व्यक्ति अमेरिकामा कानुनी रूपमा प्रवेश गरेको, उसको बसाइको अवधि र प्रस्थानको आधिकारिक प्रमाणको रूपमा काम गर्दछ।

तथ्याङ्क सङ्कलनका लागि अमेरिकाले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनको मापदण्ड पालना गर्दछ। यस अनुसार आगन्तुक भन्नाले आफ्नो बसोबास भन्दा बाहिर कम्तीमा एक रात बिताउने तर एक वर्षभन्दा कम समय बस्ने व्यक्तिलाई बुझिन्छ। अमेरिकाले आगमनको गणना गर्दा भिसाको प्रकार, बसाइको अवधि र बसोबास गर्ने देशलाई मुख्य आधार बनाउँछ। सन् २०११ देखि यो तथ्याङ्कलाई मासिक परिवर्तन, भिसाको प्रकार, यातायातको माध्यम र प्रवेश गर्ने पोर्टका आधारमा वर्गीकरण गरिदै आएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com