कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका फर्कन नसक्ने ग्रिनकार्डवाहकले के गर्ने ?


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

ग्रिनकार्डसहित नेपालमा रहेको अवस्थामा कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका आउननसक्दा मेरो ग्रिनकार्ड खारेज हुने हो कि ?

रमेश श्रेष्ठ: 

अमेरिकी कानुन अनुशार ग्रिनकार्डवाहकले विदेशको यात्रा गरेपछि ६ महिनाभन्दा बढी बसेमा अमेरिकी नागरिकता आवेदनका लागि आवासीय निरन्तरताको नियम भंग हुन्छ । एकबर्षभन्दा बढी बसेमा अध्यागमनले आप्रवासीले अमेरिकाको बसाई त्यागेको निष्कर्ष निकाल्छ । यस्तो अवस्थामा ग्रिनकार्डमा एकबर्षभन्दा बढी अमेरिकाबाहिर बसेको व्यक्ति विमानस्थलमा आउँदा अमेरिका प्रवेशको अनुमति नपाउनसक्छ ।

तर त्यसमा केही अपवादहरु पनि छन् । तर ग्रिनकार्डवाहकको काबु बाहिरको स्थीतिका कारण ग्रिनकार्डवाहकको अमेरिकाबाहिरको बसाई एकबर्ष नाघेको छ भने छुट पाउन सक्छ । तर त्यसको प्रमाणहरु देखाउनसक्नुपर्छ । उदाहरणका लागि सिकिस्त बिरामी भएमा अस्पताल भर्ना भएको छ भने सबै कागजात देखाएर आफू बिरामी भएका कारण बसाईको अवधि एकबर्ष नाघेको प्रमाणित गर्नसक्छ । त्यस्तै भूकम्प वा कोरोनाको महामारीलाई पनि काबुबाहिरको अवस्थाका रुपमा लिन सकिन्छ ।

यसरी आफूले असाधारण अवस्थाका कारण एकबर्षभन्दा बढी अमेरिकाबाहिर बस्नुपरेमा सीबीपी अधिकारीको चित्त बुझ्नेगरी असाधारण अवस्थाबारे प्रमाण पेश गर्नुपर्छ । तर यो अत्यन्तै जोखिमपूर्ण हुन्छ । सीबीपी अधिकारीले कागजापत्रमा विश्वास नगरेमा एयरपोर्टबाट तुरुन्त फर्काउने वा देशनिकालाको प्रकृयामा हाल्ने सम्भावना रहन्छ ।

अहिलेको अवस्थामा एकबर्ष नाघेको व्यक्तिलाई अमेरिकी सरकारले कुनै विशेष छुटको व्यवस्था गरेको छैन । तर कोरोनाको महामारीका कारण एकबर्षभित्र अमेरिका फर्कन नसक्ने ग्रिनकार्डवाहकले अमेरिकी दूतावासमा सम्पर्क गर्नु उचित हुन्छ । यो अवस्थामा दूतावासले कुनै प्रकारको नोट वा पत्र बनाउसक्ने सम्भावना रहन्छ ।

ग्रिनकार्डबाहक ६ महिनामा अमेरिका फर्कन नसके नागरिकता आवेदन दिंदा के असर पर्छ ?

६ महिनाभन्दा लामोसमय अमेरिकाबाहिर बसेको ग्रिनकार्डवाहकले अमेरिका प्रवेश गर्ने बेलामा अमेरिकाभित्रको आफ्नो सम्बन्ध पुष्टी गर्नुपर्ने अवस्था हुनसक्छ । अमेरिकी नागरिक दम्पत्ति भएको, अमेरिकामा घर लगायतका अन्य सम्पत्ति रहेको, अमेरिकी कम्पनीबाट तलब लिइरहेको वा ट्याक्स फाइल गरेको जस्ता प्रमाणहरुले यस्तो सम्बन्ध पुष्टी गर्न सक्छ । सम्बन्ध पुष्टी गर्न नसके सीबीपी अधिकारीले अमेरिकाको स्थायी बसाई त्यागेको निष्कर्ष निकाल्न सक्छ । खासगरी अमेरिकाबाहिर सातआठ महिना बस्ने अनि अमेरिका आएर दुईचारदिन बस्ने त्यसपछि पुन अमेरिकाबाहिर सात आठ महिनाबस्ने गर्दा आवासीय स्टाटस गुम्न सक्छ ।

त्यसैले एकबर्षभन्दा बढी अवधि अमेरिकाबाहिर बस्नुपरेको ग्रिनकार्डवाहकले तुरुन्त अमेरिकी दूतावासमा सम्पर्क गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा अमेरिकी दुतावासले अमेरिका प्रवेशका लागि विशेषप्रकारको अनुमति दिनसक्छ । त्यस्तै ग्रिनकार्डवाहक अमेरिकाबाहिर एकबर्षभन्दा बढी बस्नुपरेमा त्यस्तो व्यक्ति रिटर्निंग रेसिडेन्स भिसाका लागि योग्य हुनसक्छ । यो नयाँ अध्यागमन भिसामा अमेरिका आइसकेपछि पुरानै स्थायी बसोबासको निरन्तरता हुन्छ ।

तर यो भिसाको लागि योग्य हुनका लागि आफ्नो नियन्त्रणबाहिरको अवस्थाका कारण अमेरिका फर्कन नसकेको पुष्टी गर्नसक्नुपर्छ । अमेरिका छाड्दा उक्त व्यक्ति अमेरिकी ग्रिनकार्डको स्टाटसमा हुनुपर्छ ।

एसबी वान अर्थात् रिटर्निङ रेसिडेन्स भिसाबारे जान्न र आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

(यो प्रश्नको जवाफ अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । तपाईले कुनै कानुनी कदम चाल्नुपरेमा लाइसेन्सप्राप्त कानुन व्यवसायीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com