न्युयोर्कमा कोरोना संक्रमित १०५, कुन सिटी र काउन्टीमा कति ?


प्रकाशित मिति : फाल्गुन २५, २०७६ आईतबार

न्युयोर्क राज्यमा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । आज न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

न्युयोर्कको वेस्टचेस्टर काउन्टीमा ८२ जनामा संक्रमण भएको छ भने न्युयोर्क सिटीमामात्र १२ जनामा संक्रमण भएको छ । त्यस्तै रकल्याण्ड काउन्टीमा २, नासु काउन्टीमा ५ , सारागोटा काउन्टीमा २ जना, सफल्कमा १ र उल्स्टेरमा १ जनामा संक्रमण भएको छ ।

गभर्नर कुमोले न्युयोर्कमा कोरोनाको परीक्षण आक्रमक रुपमा गरिरहेको जानकारीदिएका छन् । उनले सावधानी अपनाउन तर नडराउन भनेका छन् ।

उनले न्युयोर्कबासीहरुलाई कोरोना संक्रमणबाट बच्न ४ वटा सुझावहरु दिएका छन् । २० सेकेण्डभन्दा बढी हात धुन, हात नमिलाउन, बिरामी भएमा घरमै बस्न, खोक्दा वा हाछ्यु गर्दा टिस्यु वा कुहिनोमा गर्न गभर्नर कुमोले सुझाव दिएका छन् ।

न्युयोर्कमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि हिजो राज्य संकटकालको घोषणा गरिएको थियो । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले राज्य संकटकालको घोषणा गरेका थिए ।

संकटकालको घोषणा गरेपछि कोरोनाबिरुद्ध लड्न अझ धेरै जनशक्ति काममा लगाउन सकिने भएकाले संकटकाल घोषणा गरेको कुमोले जनाएका छन् । तनावमा रहेका स्थानीय स्वास्थ्य विभागलाई सहयोगका लागि संकटलिन अवस्थाको घोषणा गरेपछि राज्यलाई थप शक्ति मिलेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com