एनआरएन नागरिकताको टुंगो यसै अधिवेशनबाट, के छ विधेयकमा एनआरएन नागरिकताबारे ?
प्रकाशित मिति : पुस ४, २०७६ शुक्रबार

आजदेखि शुरु सङ्घीय संसद्को पाँचौँ अधिवेशनले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने कार्यसुची तय गरेको छ । यो विधेयक पारित भइसकेपछि विदेशको नागरिकता लिएका नेपालीहरुले पनि नेपालको एनआरएन नागरिकता प्राप्त गर्नेछन् ।
संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकतामाथिको संशोधन प्रस्तावलाई पारित गरिसकेको छ । यसलाई अब संघीय संसदको अधिवेशनमा पेश गरिनेछ ।
सुरुमा तुलनामा अहिले एनआरएन नागरिकताका सन्दर्भमा नागरिकता ऐन संसोधन गर्न ल्याइएको विधयेकमा केही विषयहरु संसोधन गरिएका छन् । गैरआवासीय नेपाली संघले नेपाल सरकारले संघीय संसदमा दर्ता गराएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकप्रति संघले ९ वटा बुँदामा सुझाव दिएको थियो ।
गैरआवासीय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा विधेयक मस्यौदामा राजनीतिक अधिकारबाहेकको नागरिकता दिने भन्ने शब्दावली उल्लेख गरिएको थियो । तर सो शब्दावलीलाई हाल परिमार्जन गरेर संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन् भन्ने व्यवस्था गरिएको छ ।
गैरआवासिय नेपालीले नागरिकता लिनलाई गृह मन्त्रालय नै आउनुपर्ने विधेयकमा उल्लेख गरिएको थियो । त्यसलाई परिमार्जन गरेर गृह मन्त्रालय वा गृह मन्त्रालय मातहताका निकायहरुबाट गैरआवासिय नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । अरूले जस्तै एनआरएनले पनि जिल्ला प्रशासन कार्यालयबाटै एनआरएन नागरिकता लिन पाउनेछन् ।
एनआरएन नागरिकता लिनका लागि नेपाली नागरिकता प्रमाणपत्र त्यागेको व्यहोराको पत्र विदेशबाटै ल्याएर पेश गर्नुपर्ने विधेयकमा उल्लेख थियो । त्यसलाई परिमार्जन गरेर विदेशमा नागरिकता त्यागेको भन्ने प्रमाण ल्याउनु पर्ने नभई स्वदेशबाटै सो व्यहोराको पत्र लिएर पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
संसदीय समितिले पारित गरेको सो संसोधन प्रस्तावलाई अब संसदको पूर्ण बैठकले अनुमोदन गरेपछि कानुनको रूपमा कार्यान्वयन हुनेछ।
नेपालको संविधानको भाग २ मा नागरिकताबारेको व्यवस्थामा एनआरएनए नागरिकताको व्यवस्था गरिएको छ । धारा १४ मा गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिने शीर्षकमा भनिएको छ – ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी
नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।’