भारतीय खेलाडी पराजित गर्दै बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण
प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार

१३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ ।
सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले महिलातर्फ ४३ केजी तौल समूहमा भारतकी शिक्षालाई फाइनलमा ५-० अङ्कले हराएर स्वर्ण जित्नुभएको हो ।
यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जित्नुभएको थियो । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो ।
त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पार्नुभयो । उहाँ भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पार्नुभएको हो ।
सोमवार महिला कबड्डी, महिला फुटबल र पुरुष थ्री बाई थ्री बास्केटबलको फाइनलमा भारतसँग पराजित भएको नेपालले १३औँ सागमा कुल स्वर्ण पदक सङ्ख्या ४६ पुर्याएको छ।