विश्वका कुनै पनि भीभीआईपीलाई सुरक्षा खतरा विना आतिथ्यता प्रदान गर्नसक्छ नेपाल


प्रकाशित मिति : मंसिर २२, २०७६ आईतबार

– किशोर पन्थी

अन्तत नेपालले विश्वका कुनै पनि भीभीआईपीलाई आतिथ्यता प्रदान गर्नसक्छ भन्ने प्रमाणित गरेको छ । खासगरी सुरक्षा निकाय र फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीको सक्षमताले विश्वका कुनै पनि राष्ट्रका राष्ट्रप्रमुखलाई नेपालले सुरक्षित ढंगले आतिथ्यता प्रदान गर्नसक्ने पुष्टी भएको हो ।

झण्डै डेढ बर्षको अवधिमा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख सम्मिलित आधादर्जन बढी भीभीआईपी भ्रमणहरु भए, जुन भ्रमणका क्रममा कुनै पनि अप्रिय घटना हुन पाएन । जसको सम्पूर्ण जस नेपालको सुरक्षा र त्यसमा पनि फ्रन्टलाइनमा खट्ने नेपाल प्रहरीलाई नै जान्छ, जसको नेतृत्व सर्वेन्द्र खनालले गरिरहेका छन् ।

सन् २०१८ को अगस्त ३० र ३१ मा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सम्मेलन काठमाडौंमा सम्पन्न भयो । विगतका तीनवटा सम्मेलन थाइल्याण्ड, भारत र म्यानमारमा भएकोमा चौथो सम्मेलन नेपालमा भएको हो । बंगालादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याण्ड सदस्य रहेको बिम्स्टेक सम्मेलनमा भारत, बंगालादेश र थाइल्याण्डका प्रधानमन्त्रीहरु तथा म्यानमार र श्रीलंकाका राष्ट्रपतिहरु सहभागी थिए । भीभीआईपीहरु सम्मिलित उक्त सम्मेलनमा कुनै पनि सुरक्षा खतराको अनुभव गर्नुपरेन । सुरक्षा निकायले अत्यन्तै सचेततापूर्वक त्यसको प्रबन्ध गरेको थियो ।

त्यस्तै सन् २०१८ को डिसेम्बरमा दुईदिनसम्म भएको एसिया प्यासेफिक समिटका बेलामा गरिएको सुरक्षा प्रबन्ध पनि उल्लेखनीय रहेको छ । ४५ देशका १५ सय भन्दा धेरै सहभागी उक्त समिटमा म्यानमारकी नेतृ आङ साङ सु ची, भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडा लयायतका विशिष्टहरुको उपस्थीति रहेको थियो । त्यस्तै ४० देशका ६ सय भन्दा धेरै लगानीकर्ता र प्रतिनिधिहरु सहभागी मार्च २९ र ३० मा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनका क्रममा पनि सुरक्षा प्रबन्ध कायम गर्न र सुरक्षा घुसपैठ रोक्न नेपाली सुरक्षा निकाय सफल भएको थियो ।

त्यस्तै गत सेप्टेम्बरमा १५ देशका उच्च सुरक्षा अधिकारीहरुको सहभागितामा काठमाडौंमा नेपाल प्रहरी र आईसीआरसीको संयुक्त आयोजनामा तीनदिने प्रहरी सम्मेलन भयो । १५ एसियन राष्ट्रका २५ उच्च सुरक्षा अधिकारीहरुको सहभागिता रहेको उक्त सम्मेलन सुरक्षाका दृष्टिकोणले निकै संवेदनशिल थियो । पाकिस्तानदेखि श्रीलंकासम्मका उच्चतहका सुरक्षा अधिकारीहरु सहभागी भएको उक्त सम्मेलनमा कुनै सुरक्षा खतराको अनुभव हुन नदिई सफलताका साथ सम्पन्न गराउन नेपाल प्रहरीको भूमिका प्रशंसनीय छ ।

यस्ता महत्वपूर्ण कार्यक्रमहरु विना सुरक्षा खतरा सम्पन्न भएको परिदृश्यमा अक्टोबरमा चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आए । भारतदेखि अमेरिकासम्मको ध्यानाकर्षण गरेको यो भ्रमणमा सुरक्षा प्रबन्धको विषय निकै चुनौतीपूर्ण रहेको थियो । तिब्बतको विषयले चर्चा पाएको र चीनबिरुद्ध प्रदर्शन हुनसक्ने सम्भावना उच्च थियो ।

मिडियाहरु पनि कतै चीनबिरुद्ध तिब्बतीहरुको प्रदर्शन होला कि भन्दै कभरेजका लागि निकै चनाखो देखिन्थे । सानो प्रदर्शन भएको भएपनि त्यसले सिंगै राष्ट्रपतिको भ्रमणलाई ओझेलमा पार्नेगरी अन्तर्राष्ट्रिय मिडियामा समेत कभरेज पाउने निश्चित थियो । खासगरी नेपालमा चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै आएको नेपालका लागि यो विषयले ठूलै राजनीतिक महत्व समेत राख्थ्यो । तर उच्च सुरक्षा शतर्कताका कारण भ्रमण अवधिभर न त कुनै चीनविरोधी गतिविधि वा प्रदर्शन हुन पायो न त कुनै सुरक्षा खतराको अनुभव नै हुन पायो ।

चारवटै सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु परिचालन गरिएको थियो भने सबैको भूमिका प्रभावकारी देखिएको थियो । तर प्रदर्शन वा कुनै पनि गतिविधि रोक्नुपर्ने फ्रन्टलाइनमा भने नेपाल प्रहरी खटिएकाले त्यस्ता गतिविधिको जस वा अपसज नेपाल प्रहरीले बेहोर्नुपर्ने थियो । अन्तत : नेपाल प्रहरीले कुनै अपजस बेहोर्नुपरेन, सबै सुरक्षा निकायहरुको राम्रो प्रशंसा भयो । सुरक्षा प्रबन्ध हेर्न प्रधानमन्त्री आफै सडकमा निस्कनुकासाथै भ्रमणपछि सुरक्षा निकायहरुको प्रशंसा गरेका थिए । चीनका राष्ट्रपनि पनि आफ्नो भ्रमणका बेलामा चीनविरोधी कुनै गतिविधि नहुँदा निकै खुशी भएर फर्किए ।

बरु त्यसको ठीक अगाडि भारत भ्रमणका रहेका बेला उनले चीनविरोधी प्रदर्शनहरुको सामना गर्नुपरेको थियो । तिब्बती समुहहरुले चीनविरोधी नारा लगाउँदै विभिन्न स्थानमा प्रदर्शन समेत गरेका थिए । जसको कभरेज विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले निकै प्राथमिकताका साथ गरेका थिए । तर नेपालमा त्यस्तो कुनै पनि अवस्थाको सामना गर्नु नपरेपछि चीनका राष्ट्रपतिमात्र खुशी भएनन्, यसले सुरक्षाका दृष्टिले नेपालले जस्तोसुकै भीभीआईपी भ्रमणको पनि आयोजना गर्न सक्छ भन्ने प्रमाणित भयो । त्यसैबाट उत्साहित भएको नेपाल सरकारले रुसका वा अमेरिकाका राष्ट्रपतिको समेत भ्रमण गराउन इच्छा देखाएको थियो ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद भक्तपुर दरबार क्षेत्रस्थित पाँचतले मन्दिर अवलोकन गर्नुहुँदै ।

चीनका राष्ट्रपतिको भ्रमण लगत्तै केही दिन अगाडि बंगालादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको चारदिने नेपाल भ्रमण सम्पन्न भयो । उनको भ्रमणमा पनि चारवटै सुरक्षा निकायको परिचालन गरिएको थियो । र, चुस्त दुरुस्त सुरक्षा प्रबन्धका साथमा उनको भ्रमण सकियो । काठमाडौं, भक्तपुर र पोखराका विभिन्न स्थानको भ्रमण गरेर उनी खुशीसाथ स्वदेश फर्किए । यी बाहेक चीनका विदेशमन्त्री लगायत कैयन भ्रमणहरु विना कुनै सुरक्षा खतरा सम्पन्न भएका छन् ।

नेपाल भारत खुला सिमाना र विमानस्थलको कमजोर सुरक्षाका बाबजुत पनि कुनै घुसपैठ वा गतिविधि हुन नदिई विश्वका विभिन्न देशका राष्ट्रप्रमुखहरुको भ्रमण विना सुरक्षा खतरा सम्पन्न गराउन सक्नुले रुस, अमेरिका वा कुनै पनि देशका राष्ट्रप्रमुखहरुलाई नेपालमा विना आशंका भ्रमण गर्नका लागि बाटो खोलिदिएको छ । जसका लागि नेपालका सबै सुरक्षा निकायहरु तालीका भागिदार छन् भने नेपाल प्रहरीले दक्षिण एसियाका अन्य प्रहरी संगठनको तुलनामा अब्बल र उत्कृष्ट रहेको दावीलाई पुष्टी गरिदिएको छ । यो प्रशंसाको भागिदार नेपाली प्रहरीको सिंगो संगठन, त्यसका अधिकारीहरु र नेतृत्व गरिरहेका सर्वेन्द्र खनाल छन् । एकदुई घटनालाई देखाएर सिंगो सुरक्षा व्यवस्थामा प्रहरीको क्षमतामाथि प्रश्न उठाउन मिल्दैन ।

खसोखासका प्रधानसम्पादकबाट लिखित यो लेख हालै अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com