कमल थापाले सिमा अतिक्रमणबारे सरकारका गतिविधिप्रति अमेरिकाबाट जनाए यस्तो आपत्ति


प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार

विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपाका अध्यक्ष कमल थापाले नेपाली भूभाग अतिक्रमण सम्बन्धमा सरकारले अहिलेसम्म भारतलाई औपचारिक पत्र नपठाएको भन्दै आपत्ति जनाएका छन् ।

सरकारले अहिलेसम्म कालापानी, लिपुलेक अतिक्रमणबारे नेपाल सरकारले भारतलाई औपचारिक पत्र पठाएको वा त्यसबारे विरोध जनाएको नदेखिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘चर्को भाषण गरेर, विज्ञप्ति निकालेर मात्र जनताको आँखामा छारो हाल्ने काम नहोस्, यसबारे वार्ता गर्न भारतलाई तत्काल औपचारिक पत्र पठाइयोस् ।’

यस अगाडि पनि थापाले अमेरिकाबाटै सामाजिक सञ्जालमा लेखेका थिए – ‘नेपालको भुमी कालापानीबाट भारतीय सेना फिर्ता जानुपर्छ,पठाउनुपर्छ।विगतमा जोसुकैको कमजोरी भएपनि गल्ती सच्याउनु वर्तमान पिंढीको कर्तब्य हो।पंचायतसंग कालापानी साटेको अपुष्ट गफ र नक्सा फेर्ने प्राथमिकता होइन जस्ता हल्का कुरा गरेर ध्यान अन्त मोडने र अतिक्रमणलाई निरन्तरता दिने काम नहोस् ।’

अमेरिका भ्रमणमा रहेका थापा अमेरिकाका विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन् । अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्ने कार्यक्रम छ ।

अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशन हुँदैछ । यसैगरी अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासको ड्यालसमा आयोजना गरिएको नेपाली समुदायलाई सम्बोधन र अन्तरक्रियामा सहभागी हुने जनाइएको छ ।

अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागीता जनाउँदै महत्त्वपूर्ण सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com