‘मुलुकका लागि नेपाली काँग्रेस आमा हो, आमा विनाको घर, कसरी घर रहन सक्छ ?’
प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

नविन्द्रराज जोशी । नेपाली कांग्रेसका प्रभावशाली नेतामात्र नभई पार्टी भित्र एक असल विचारकका रुपमा चिनिने व्यक्तित्व । पार्टीलाई गतिशिल बनाउनु पर्ने, पार्टीको विचार युवाहरुमा पुराउनुपर्ने र राजनीतिमा युवाहरुलाई सक्रिय बनाउनुपर्नेे धारणा राख्ने नेता हुन् जोशी । काठमाण्डौंका मतदाताको मन जित्न सफल नेता जोशीले २८ बर्षको उमेरमै नगरपालिका मेयरको चुनाव जितेका थिए । नेपाली कांग्रेसका आदर्श नेता लौह पुरुष वीर गणेशमानको जीवनमा आधारित चलचित्र निमार्ण गरेका जोशी त्यही चलचित्र प्रदर्शनका क्रममा अमेरिका आएका थिए । यसै अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री जोशीसँग खसोखास कार्यकारी सम्पादक अनिल अधिकारीले गरेको कुराकानी ।
बहुमतको सरकारले कांग्रेसलाई त कत्तिपनि टेरेन नि ?
हामी बहुदलीय शासन व्यवस्था ल्याउनका लागि लडेका मान्छे । नेपाली कांग्रेसको स्थापना लोकतन्त्र र बहुदलीय शासन व्यवस्थाका निम्ति भएको हो । नेपाली कांग्रेसले ठुलो लडाई लडेर प्राप्त गरेको लोकतन्त्रलाई मास्ने र एकदलिय शासन व्यवस्था लाद्ने ढंगबाट नेपाल सरकार र नेकपा अगाडि बढेको छ । यसलाई पुष्टि गर्न मैले केही विरोधका शब्द भन्नै पर्दैन् ।
प्रेसलाई अंकुश लगाउने ढंगबाट विधयेक आईरहेका छन् । प्रश्न सोधका भरमा पत्रकारलाई जागिरबाट निकालिएको छ । पूर्ववर्ती सरकारले गरेको निर्णय उल्याउँदै मनपरी ढंगबाट सरकारले नयाँ निर्णय र नियुक्ती गरिरहेको छ । समग्रमा सरकार जनताप्रति उदासिन छ, लोकतान्त्रिक शासन व्यवस्थामा प्रश्न चिन्ह खडा भईरहेका छन् ।
बहुदलिय शासन व्यवस्थामा प्रतिपक्षी दलको आफ्नै भुमिका हुन्छ । सरकार प्रतिपक्षी दलसंग सल्लाह गर्दै गर्दैन । यसर्थ बहुदलीय शासन व्यवस्थाको पक्षधर नेपाली कांग्रेस अझै जिम्मेवार भएर मुलुक र नेपाली जनताका खातिर दह्रो भएर उभिनुपर्ने बेला आएको छ । अन्यथा मुलुक फेरी अर्को समस्यामा फस्न सक्छ । हामीले धरै विवेकपूर्ण ढंगबाट निर्णय गर्दै मुलुकलाई यहाँ सम्म ल्याएका हौं । सरकार र नेकपाको गलत कृयाकलापबिरुद्ध खबरदारीका लागि कांग्रेस सँधै सचेत छ ।
प्रतिपक्षी दलको भूमिकामा पनि सशक्त छैन नि कांग्रेस !
हामीले जुन ढंगबाट आफ्ना कार्यक्रम गर्नुपर्ने हो त्यो सशक्त नभएको कुरा पार्टीले पनि महशुस गरेको छ । नेतृत्व तहमा पनि यस बिषयमा बहसहरु नभएका होइनन् । तर कांग्रेसले बिरोधका नाममा बिरोध गरेर आफुलाई क्रान्तिकारी देखाउने भन्दा पनि एउटा जिम्मेवार दलको हैसियतमा भुमिका निर्वाह गरिरहेको छ । हामीले सिमानाका बिषयमा सरकारसँग हातेमालो गरेर अगाडी बढीरहेका छौं ।
यदी कम्यूनिष्ट साथीहरु प्रतिपक्षमा हुनुहुन्थ्यो भने उहाँहरुले सडकमा टायर बालेर बिरोध गर्नु हुन्थ्यो । हामीले यो विषय गम्भीर भएकाले रचनात्मक तर बलियो ढंगबाट कुरा राखेर आफ्नो मुलुकको सिमानाको रक्षा गर्नुपर्छ भन्ने हिसावले लागिरहेका छौं । हो विगतमा केही गल्तीहरु भए होलान् तर समग्रमा नेपाली कांग्रेसविना मुलुकको हित हुँदै हुँदैन ।
लोकतान्त्रिक व्यवस्थामा चलेको मुलुकका लागि लोकतान्त्रिक शक्ति अर्थात नेपाली कांग्रेस बलियो हुनु जरुरी छ अन्यथा तपाई हामीले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ । मुलुकका लागि नेपाली कांग्रेस आमा हो । आमा विनाको घर, कसरी घर रहन सक्छ ? हामी सबै बिषयलाई गम्भीरता पूर्वक लिएका छौं, अब कांग्रेस लोकतन्त्र र मुलुकको रक्षाका लागि सडक र सदनमा खबरदारी गर्दै अगाडी बढ्छ ।
कांग्रेसमा आन्तरिक गुट धेरै भयो भन्ने कार्यकर्ताको आरोप छ नि ?
हरेक राजनीतिक दलमा समुह समुहमा राजनीति हुन्छ नै, कांग्रेस पनि त्यसबाट अछुतो छ म भन्दिन् । तर नेपाली कांग्रेस लोकतान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गर्ने पार्टी हो । हामीले हरेक तह र तप्कामा लोकतान्त्रिक बिधिबाटै नेता र नेतृत्व छानेका छौं । हिजो भएका गल्तीहरु अबको महाधिवेशन तथा अन्य स्थानीय चुनावहरुबाट सुधार हुँदै जानेछन् ।
नेतृत्व छानेको हामी कार्यकर्ताले नै हो, अबको राजनीतिलाई अगाडी बढाउन कस्तो नेता र नेतृत्व छान्नुपर्छ भन्ने कार्यकर्ताकै हातमा छ, यसर्थ यसलाई गुट उपगुट भन्दा पनि पार्टीको हित हुनेगरी नेता कार्यकर्ता सचेत भएर लाग्नुपर्ने बेला आएको छ । पार्टी केही कम्जोर अवस्थामा भएकाले यसलाई बलियो बनाउने भनेकै कार्यकर्ताले हो । हाम्रा साथीहरु यस बारेमा सचेत हुनुहुन्छ ।
युवा नेताहरुलाई तपाईहरुले नेतृत्व तहमा आउन नै दिनुहुन्न नि !
कांग्रेसमा हरेक नेताहरु युवा विचार भएका हुनुहुन्छ । लोकतन्त्र भनेकै युवा विचार हो । जहाँ व्यक्तिको स्वतन्त्रता हुन्छ, त्यही विचार नै युवा बिचार हो । भावनामा बहकिएर निर्णय गर्दा कहिले काँही गल्ती पनि हुन सक्छ ।
यसर्थ सबैलाई समेट्दै संगठनमा क्रियाशिल जनताको भावना बुझ्ने नेता छान्नुपर्ने हुन्छ । हामीले धरै युवा साथीहरुलाई समेट्दै अगाडि बढी रहेका छौं । गगन थापा, विश्वप्रकाश शर्मा जस्ता नेताहरु पार्टीको फ्रन्ट लाइनमै हुनुहुन्छ । यस्तै हाम्रो हरेक संगठनमा त्यस्तै उदाहरणीय नेता साथीहरु हुनुहुन्छ । चाहे तपाईले महिला संघ भन्नुस या नेपाल बिद्यार्थी संघ, या दलित संघ, सबै भातृसंगठनबाट नेता छान्ने अन्तिम ठाँउ महाधिवेशन हो ।
यसर्थ अब पार्टीलाई नयाँ विचारबाट अगाडि बढाउन पार्टीको महाधिवेशन कुर्नुपर्ने हुन्छ । त्यही महाधिवेशनले बाँकी कुरा टुंगो लगाउँछ ।
नेतृत्वको खुबै आलोचना छ नि । बोल्नै नहुनेमा बोल्ने र बोल्न पर्ने ठाँउमा नबोल्ने भनेर । यस्तो किन ?
हामीले हरेक बिषयलाई रचनात्मक र सहि ढंगबाट बिरोध र सर्मथन गर्दै आईरहेका छौं । यहाँले इंगित गर्न खोज्नु भएको आलमको बिषयमा चाँही हामीले भन्दै आएका छौं, कुनै पनि विषयलाई व्यक्तिगत रुपमा होइन विधि र कानुनलाई आधार बनाउँछौं ।
यदी कसैले कानुन उल्लघन गर्छ भने त्यो व्यक्ति कानुनले भने अनुसार सजाय भोग्न तयार हुनुपर्छ । कानुन भन्दा माथी कोही छैन्, कानुन र विधि विधान अनुसार नै सबैले सजाय भोग्नुपर्छ । दोषी कोही उम्कनु हुन्न, निर्दोष फस्नु हुन्न । नेतृत्वले यस्ता बिषयलाई केही सचेत भएर प्रस्तुत हुनुपर्छ भन्नेमा म सहमत छु ।
पार्टीको महाधिवेशनबाट नेतृत्व लिनेगरी कसरी प्रस्तुत हुने मनस्थितिमा हुनुहुन्छ ?
केही कुरा मैले उल्लेख गरिसकेको छु । म मुलुकको समृद्धि, विकास र लोकतन्त्रका लागि जुनसुकै भूमिकामा रहन पनि तयार छु । हिजो मेरो मन्त्री कार्यकालमा धेरै उद्योग धन्दाहरु पुन संचालनमा ल्याउन पहल गरेको थिएँ, त्यो बारेमा दुनिया जानकार छ । अनि पार्टीलाई जिवन्त राख्नका लागि मैले देशभर प्रशिक्षण र अन्य कार्यक्रमहरु लिएर हिडँेको छु ।
कार्यकर्ताको भावना बुझेको छु । यसर्थ आगामी महाधिवेशनबाट साथीहरुले नेतृत्व तहमा रहनेगरी तयार हुनुहोस भन्ने सुझाव दिनु भएको छ । म पार्टीको नेतृत्व तहमै छु र आगामी महाधिवेशनबाट पनि नेतृत्व तहमै रहने गरी तयारी गरिरहेको छु । स्थान कुन हुने भन्ने अहिलै भन्न मिल्दैन । पार्टीले र कार्यकर्ताले समय अनुकुल निर्णय गर्ने कुरा हो ।
तपाईहरुको भातृसंगठन जनसम्पर्क समिति अमेरिकामा धेरै नै विवाद छ, यसलाई मिलाउन केही पहल गर्नुभयो ?
लोकतान्त्रिक पार्टीमा नै हो विरोध र बहस हुने । हाम्रा साथीहरु विधि विधान भन्दा बाहिर जान सक्नु हुन्न । उहाँहरु कांग्रेस हो । कांग्रेस पार्टीले मिलाउनुपर्ने धेरै ठाँउहरु छन्, बिद्यार्थी संघ भन्नुस या जनसम्पर्क समिति । हो पार्टीको स्पष्ट निर्देशन नहुँदा विदेशमा रहेको जनसम्पर्क समितिले स्पष्ट भएर काम गर्न पाएको थिएन । तर यहाँ रहेका साथीहरु असल नेताहरु हुनुहुन्छ ।
सबै साथीहरुलाई मिलाउने र छलफल गर्ने हिसावले मैले कुराकानी गरेको छु । साथीहरुले म संग विवाद भएका बिषय र सम्वाद हुनुपर्ने बिषयहरु पनि राख्नु भएको छ, नेपाल हिड्नुको अघिल्लो रात पनि म साथीहरुसँग छलफलमै थिएँ । पार्टीले अहिले स्पष्ट निर्देशनका साथ अधिवेशन गर्नका लागि पत्र पठाईसकेको अवस्था छ ।
यसर्थ सबै साथीहरु मिलेर समयमै अधिवेशन सम्पन्न गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु । यसका लागि पार्टीका जिम्मेवार साथीहरु जिम्मेवार ढंगबाट लाग्नु हुनेछ । म यहाँहरुसंग सबै सहकार्य गर्न तयार रहेको र जनसम्पर्कको हितका लागि सल्लाह सुझावका साथ सँधै सम्पर्कमा रहनेछु ।