शहिद परिवार र घाइतेमाथि मुख्यमन्त्रीको अपमान


प्रकाशित मिति : कार्तिक २५, २०७६ सोमबार

मधेश आन्दोलनका बेला सयौ शहिद बलिदानिको सेन्टिमेन्टबाट बनेको प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका घाइते तथा सहिद परिवारहरुलाई अपमान गरेका छन् । मधेश आन्दोलनकै जगमा मधेशवादी दलले जनमत पाएपछि मुख्यमन्त्री बनेका राउतले सहिद परिवार तथा घाइतेहरुलाई भेट्न समेत समय नदिएर अपमान गरेका हुन् ।

मधेश आन्दोलन र चुनावमा बाँडेको आश्वासन पुरा नगरेपछि पर्सा, बारा, सर्लाही र रौतहट जिल्लाका घाइते तथा सहिद परिवारहरु पूर्व सूचना दिएर बिहीबार दिउँसो १ बजे मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री कार्यालय जनकपुर आएका थिए । तर, उनीहरुलाई मुख्यमन्त्रीले समय दिएनन् । ज्ञापनपत्र बुझाउन आउन लागेको थाहा हुँदाहुँदै पनि मुख्यमन्त्री राउत भने सिरहा जिल्लाको कार्यक्रममा सहभागि हुन गएर आफुहरुलाई नभेटी अपमान गरेको मधेश आन्दोलनका घाइते पर्साका विजय यादवले बताए । मुख्यमन्त्रीले आ“फुहरुलाई वेवास्ता र अपमान गरेको गुनासो गरे ।

त्यस्तै, बारा कलैयाका मधेश आन्दोलन २०६३ का घाइते जितेन्द्र प्रसाद यादवले सहिद र घाइतेहरुको बलबुतामा सत्तामा पुगेपछि उनीहरुको रहनसहन, बोलीवचन सबै फेरिएको र अहिले उनीहरु सहिद परिवार र घाइतेहरुको मुख समेत हेर्न नचाहेको दुखेसो पोखे । त्यस्तै अर्का घाइते लालबाबु राउत कुर्मीले मधेश आन्दोलनमा सहादत भएका सहिद परिवारलाई ५० लाख रुपैया“ र घाइतेलाई उपचार तथा परिवारको व्यवस्थापनको घोषणा गर्नेहरु अहिले सत्तामा आएर सबै विर्सिएको दुखेसो पोखे । अहिले जागिरको नाममा प्रदेश सरकारले सहिद परिवारलाई पिउन, चपरासीको जागिर दिएर अपमान गरेको उनिहरुको गुनासो छ ।

मुख्यमन्त्रीले समय दिएर ज्ञापन नबुझी बाहिर गएपछि घाइते तथा सहिद परिवारहरु निराश भएर घर फर्किएका छन् । उनीहरुले छिटै आफुहरुको माग सम्बोधन नभए मुख्यमन्त्री कार्यालयमै आएर अनसन बस्ने चेतावनी दिएका छन् ।सहिद परिवार र घाइतेहरुलाई जिल्लाको सदमुकाममा स्वीकृत बस्ती निर्माण गरी आवासको सेवा सुविधा प्रदान गर्ने छोराछोरीलाई उच्च शिक्षासम्मको लागि अनुदानको व्यवस्था गर्ने पनि उनिहरुले माग गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com