डिभी भर्नेको विवरण खुफिया डाटाबेसमा : अनुहारबाट अपराधी चिन्ने प्रविधि सुधार्दै अमेरिका


प्रकाशित मिति : कार्तिक ४, २०७३ बिहीबार

 

अमेरिकाले हरेक बर्ष डिभी लोटरी खुलाएर विश्वभरबाट करोडौं व्यक्तिका विवरणहरु जम्मा पार्छ । गत बर्ष खुलाइएको डिभी लोटरीमा विश्वभरबाट १ करोड ९३ लाख ४४ हजार ५ सय ८६ जनाले आफ्ना तस्विरसहितका विवरणहरु डिभी लोटरीमार्फत अमेरिकालाई बुझाएका थिए । मंगलबारदेखि खुलेको डिभी लोटरीमा यो बर्ष त्यो भन्दा धेरैका विवरणहरु विश्वभरबाट अमेरिकी सरकारसमक्ष पुग्ने अनुमान गरिएको छ ।

अमेरिकी भिसाका लागि आवेदन दिने र डिभी लोटरी भर्नेहरुका तस्विरहरु सिधै अमेरिकी सरकारको खुफिया डाटाबेसमा पुग्ने गरेका छन् । अमेरिकी सरकारका एफबीआई लगायतका एजेन्सीहरुले ती तस्विर र विवरणहरु अपराधी चिन्ने प्रविधिमा प्रयोग गर्दै आएका छन् । गतबर्षसम्म अमेरिकी सरकारको विदेशमन्त्रालयले भिसा लगायतका प्रयोजनमा प्रयोग हुँदै आएका १४ करोड तस्विरहरु एफबीआईलाई उपलब्ध गराएको थियो । अमेरिकी सरकारका निकायमहरुमध्ये सबैभन्दा धेरै तस्विरहरु अनुहारबाट अपराधी चिन्ने प्रयोजनका लागि एफबीआईसमक्ष पठाउनेमा अमेरिकी सरकारको विदेशमन्त्रालयको कन्सुलर अफेयर्स सबैभन्दा अगाडि रहेको छ ।

वेष्ट भर्जिनियामा रहेको एफबीआईको नयाँ प्रविधि केन्द्र ।
वेष्ट भर्जिनियामा रहेको एफबीआईको नयाँ प्रविधि केन्द्र ।

अनुहारबाट अपराधी चिन्ने प्रविधिमा सुधार ल्याउने उद्देश्यले अमेरिकी सरकारले आगामी नोभेम्बर १ देखि लागुहुने गरी अमेरिकी भिसा र पासपोर्टका आवेदकहरुलाई तस्विरमा चस्मा लगाउन निषेध गरेको छ । अपराधीहरुले चस्मा लगाएर आफ्नो परिचय लुकाउनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चस्माका कारण व्यक्तिको पहिचान हुनमा समस्या नपरोस् भन्ने उद्देश्यले अमेरिकी सरकारले भिसा र पासपोर्टको तस्विरमा चस्मा निषेध गरेको छ । अनुहारबाट अपराधी चिन्ने प्रविधिमा आँखाको भूमिका महत्वपूर्ण हुने भएकाले चस्माले केहीहदसम्म आँखा छोपिदा व्यक्ति पहिचानमा गडबडी हुनसक्ने भएकाले सादा चस्मा लगाउन समेत निषेध गरिएको हो । यसअगाडि आँखा कमजोर हुनेहरुले सादा चस्मा लगाएर पासपोर्ट र भिसाका लागि तस्विर खिच्न पाउँथे ।

पासपोर्ट र भिसाका हकमा नोभेम्बर १ देखि लागु हुने भएपनि डिभी लोटरीका सन्दर्भमा भने अहिलेदेखि नै डिभी लोटरी भर्दा चस्मा लगाएको फोटो प्रयोग नगर्न कन्सुलर अफेयर्सले सुझाव दिएको छ । अमेरिकी सरकारले नोभेम्बर १ देखि लागु हुनेगरी भिसा र पासपोर्टका लागि प्रयोग गरिने तस्विरमा चस्मा लगाउन नपाइने पोलिसी गत सेप्टेम्बर २३ मा सार्वजनिक गरेको हो । यो नीति अनुशार कन्सुलर अफेयर्सले भिसा, पासपोर्ट र डिभीका तस्विरमा चस्माको प्रयोग गर्न पाइने छैन ।

deepface-facebook

कन्सुलर अफेयर्सको नीतिमा भनिएको छ —‘चस्मा प्रयोग गर्न नपाइने नीति सन् २०१६ को नोभेम्बर १ देखि लागु हुनेछ । यो नीति अन्तरगत कन्सुलर अफेयर्सले स्वास्थ्यका दृष्टिकोणले अति संवेदनशिल अवस्थामा बाहेक भिसा र पासपोर्ट आवेदकका चस्मा लागएका तस्विरहरु स्वीकार गर्ने छैन । नोभेम्बर १ देखि ३० सम्मको अवधिलाई एकमहिनाको नरम अवधिका रुपमा लिएर कन्सुलर अफेयर्सले यो नीति कार्यान्वयन गर्नेछ । त्यसपछिको अवधिमा हामीले चस्मा लगाएका कुनै पनि तस्विरहरु स्वीकार गर्ने छैनौं ।’

कन्सुलर अफेयर्सले कन्सुलर अफेयर्सको फेस रिकग्निसन प्रविधिमा सुधारका लागि आफूहरुले चस्मा लगाएका तस्विरहरु निषेध गरेको जनाएको छ । यस्तो निषेधले अनुहारबाट व्यक्ति चिन्ने प्रविधिको एक्युरेसीलाई बढाउने र उस्तै उस्तै प्रकारका आवेदकहरुमा झुक्किने समस्यालाई कम गर्ने कन्सुलर अफेयर्सले विश्वास लिएको छ । नयाँ नीति अनुशार आवेदकले अत्यन्तै संवेदनशिल अवस्थामा मात्र चस्माको प्रयोग गर्न जनाइएको छ ।

भिसा आवेदनको बेलामा यदि आवेदकको आँखाको दृश्यसम्बन्धि सर्जरी गरिएको छ र आवेदकको इमर्जेन्सी यात्राका क्रममा चस्मा लगाउनु अत्यावश्यक भएको खण्डमा मात्र चस्मा लगाउन पाइने तर त्यसका लागि आवेदकले मेडिकलका आधिकारिक व्यक्तिले हस्ताक्षर गरेको कागजात प्रदान गर्नुपर्ने जनाइएको छ । चस्मा लगाउनुपरेको अवस्थामा एकबर्षको पासपोर्टमात्र जारी गरिने वा भिसा जारी गर्दा पनि कम समयकोमात्र गरिने जनाइएको छ । स्वास्थ्यका कारणले चस्मा लगाएको तस्विर स्वीकार गरिएको खण्डमा पनि चस्माको फ्रेमले आँखा ढाकिएको हुन नहुने र आँखालाई प्रभावित पार्नेगरी चस्मा टल्किएको वा आँखामा छाया परेको हुन नहुने कन्सुलर अफेयर्सले जनाएको छ ।

14670786_1111201838916874_274142857457545829_n

नोभेम्बर १ देखि ३० सम्मको नयाँ नीति कार्यान्वयनको नरम अवधिमा भिसा र पासपोर्टका आवेदकका चस्मा लगाएका तस्विरहरु पनि अस्वीकार नगरिने तर डिसेम्बर १ देखि भने आवेदकले या त संवेदनशिल स्वास्थ्य अवस्था दर्शाउने कागजात पेश गर्नुपर्ने अन्यथा भिसा र पासपोर्टका लागि चस्मा लगाएको तस्विर प्रयोग गर्नै नपाइने जनाइएको छ । यदि भिसाका आवेदकहरुले चस्मा लगाएको तस्विर प्रयोग गरेको खण्डमा दूतावास वा कन्सुलर कार्यालयले भिसाको लागि अन्तरवार्ता लिने तर भिसाका लागि योग्य भएका आवेदकले समेत चस्मा विनाको नयाँ तस्विर बुझाउने तरिका सहितको अस्थायी रिफ्युजल लेटर प्राप्त गर्ने जनाइएको छ । तर नोभेम्बर ३० भन्दा अगाडि भने कार्यालयले चस्मा लगाइएका तस्विर प्रयोग गरिएका आवेदकको समेत भिसा र पासपोर्टको आवेदन स्वीकृत गर्न सक्ने जनाइएको छ ।

अनुहारबाट मान्छे चिन्ने प्रविधिमा सुधार ल्याउनका लागि ल्याइएको नयाँ नियमपछि अमेरिकी सरकारलाई यो प्रविधिको प्रयोगमा अझ सहज हुने विश्वास गरिएको छ । अमेरिकामा प्रयोग भइरहेको फोटोबाट मान्छेको पहिचान गर्ने प्रणाली औंठाछापबाट र आँखाको स्क्यानबाट मान्छेको पहिचान गर्ने प्रविधि भन्दा सहज र उन्नत रहेको छ । किनभने फोटोबाट मान्छेको पहिचान गर्दा व्यक्ति जहाँसुकै भएपनि सीसी क्यामेरा वा अन्यत्र कैद भएको फोटोको आधारमा समेत व्यक्तिको पहिचान हुन सम्भव छ । यसो गर्दा कुनै पनि अपराधीलाई आफ्नो बारेमा पत्ता लागिसकेको छ भन्ने कुराको जानकारी पनि हुँदैन । कुनै पनि अपराधीलाई यो प्रविधिबाट बच्न सहज नहुने अनुमान गरिएको छ । ल्याम्प पोष्ट, मान्छेविनाका गाडि वा कसैको चस्मामा फिट गरिएका क्यामेरामा खिचिएका अपराधीका तस्विरलाई स्क्यान गर्दा उनीहरुको बारेमा पत्तो लाग्ने बताइएको छ ।

img7027

फेसबुकमा फोटो पोष्ट गर्दा फेसबुकले अटामेटिक रुपमा फोटोमा रहेका व्यक्तिको पहिचान गरेर ट्याग माग्ने गरेजस्तै यो प्रविधिले पनि कुनै पनि व्यक्तिको फोटो स्क्यान गर्नासाथ रेकर्डमा रहेको फोटोसँग म्याच गराउँछ । जस्ले गर्दा व्यक्तिको पहिचान गर्न सहज हुन्छ । फोटो पहिचानको प्रविधि अहिले फेसबुकले समेत परिक्षण गरिरहेको छ । तर यसको प्रयोजन भने फरक रहेको छ । फेसबुकले फोटो पहिचान गर्ने डिपफेस सिस्टम एउटा रिसर्च प्रोजेक्ट मात्र भएको बताइएको छ । फेसबुकको यो प्रविधिले ९७ दशमलव २५ प्रतिशत व्यक्तिको पहिचान गर्दै आएको छ ।

फेस रिकग्निसन प्रणालीको प्रयोग गर्नेमा अमेरिकी सरकारको विदेश मन्त्रालयले विश्वकै सबैभन्दा ठूलो मध्येको एक फेस रिकग्निसन प्रणालीको प्रयोग गर्दै आएको छ । अमेरिकाको एफबीआईले अर्कोे पुस्ताको पहिचान नामको प्रविधिको प्रयोग गर्दै आएको छ । अहिले एफबीआईसँग ४१ करोड भन्दा धेरै तस्विरहरु स्क्यान गर्नसक्ने प्रविधि रहेको छ । चालक अनुमतिपत्र, पासपोर्ट र भिसामा प्रयोग हुने तस्विरहरु समेत एफबीआईले स्क्यान गर्दै आएको छ । एफबीआईएको यो प्रविधि गतबर्षको अप्रिलदेखि पूर्णतया काममा आएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com