अमेरिकामा ४७ हजार टिएसए अधिकारीहरूलाई समेट्ने सामूहिक सौदाबाजी सम्झौता खारेज


प्रकाशित मिति : मंसिर २७, २०८२ शनिबार

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएम

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकी सेक्रेटरी क्रिस्टी नोएमले ४७ हजार यातायात सुरक्षा प्रशासन (टिएसए)का अधिकारीहरूलाई समेट्ने सामूहिक सौदाबाजी सम्झौता खारेज गरेकी छन्। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार नयाँ श्रम ढाँचा जनवरी ११ देखि लागू हुनेछ । अब टिएसए अधिकारीहरूको तलबबाट युनियन शुल्क कटौती गरिने छैन।

विमानस्थलमा सुरक्षा जाँच गर्ने कर्मचारीहरूको प्रतिनिधित्व गर्ने अमेरिकी फेडेरेसन अफ गभर्नमेन्ट एम्प्लोइज (एएफजीइ)ले उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै अदालतमा मुद्दा दायर गर्ने जनाएको छ। एएफजीइका राष्ट्रिय अध्यक्ष एभरेट केलीले यो कदम प्रतिशोधपूर्ण युनियन–विरोधी कार्य भएको आरोप लगाएका छन्।

यसअघि, जुन महिनामा एक अमेरिकी न्यायाधीशले सेक्रटरी नोएमले मार्च ७ मा सम्झौता अन्त्य गर्न गरेको प्रयासलाई रोक्दै अन्तरिम आदेश जारी गरेका थिए। यसैबीच, अमेरिकी प्रतिनिधि सभाले टिएसएसहित करिब १० लाख युनियनमा आबद्ध संघीय कर्मचारीहरूको सामूहिक सौदाबाजी अधिकार पुनःस्थापना गर्ने पक्षमा मतदान गरेको छ।

टिएसएले नयाँ श्रम ढाँचाले सुरक्षा, कर्मचारी तयारी र स्रोत व्यवस्थापनमा केन्द्रित हुँदै करदाताको पैसाको प्रभावकारी उपयोग सुनिश्चित गर्ने जनाएको छ। तर, युनियन र श्रमिक अधिकार समूहहरूले यसले संघीय कर्मचारीहरूको अधिकार कमजोर बनाउने चेतावनी दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com