मिनियापोलिस गोलीकाण्ड: ‘आइस’ अधिकारीमाथि झुटो बयान दिएको आरोपमा अनुसन्धान सुरु


प्रकाशित मिति : माघ ३०, २०८२ शुक्रबार

फोटो : एपी/रासस

इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) ले मिनियापोलिसमा गत महिना एक आप्रवासीमाथि गोली प्रहार गरिएको घटनामा दुई जना अमेरिकी आप्रवासन अधिकारीहरूले असत्य बयान दिएको हुनसक्ने जनाएको छ।

‘आइस’ का कार्यवाहक निर्देशक टोड लायन्सले ती दुई अधिकारीलाई आन्तरिक अनुसन्धान पूरा नहुँदासम्म प्रशासनिक बिदामा राखिएको बताएका छन्। उनले भनेका छन्, “शपथ खाएर झुट बोल्नु गम्भीर संघीय अपराध हो।”

एक जना न्यायाधीशले ती अधिकारीमाथि आक्रमण गरेको आरोप लागेका दुई व्यक्तिविरुद्धको मुद्दा खारेज गर्ने अनुरोध स्वीकृत गरेका छन्। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी ले सुरुमा १४ जनवरीमा तीन आप्रवासीले बेल्चा र झाडूको डण्डीले आक्रमण गरेपछि एक संघीय अधिकारीले एक व्यक्तिको खुट्टामा गोली हानेको दाबी गरेको थियो।

तर, शुक्रबार लायन्सले भिडियो प्रमाणका आधारमा ती दुई अधिकारीको बयान “असत्य देखिएको” बताएका छन्। अमेरिकी एटोर्नी अफिसले यस विषयमा सक्रिय रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानपछि ती अधिकारीहरूलाई सेवाबाट हटाउने वा आपराधिक अभियोजनसमेत हुन सक्ने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनापछि डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले अवैध रूपमा अमेरिकामा रहेका एक भेनेजुएलाका नागरिकलाई कारले पछ्याउने क्रममा रोकिएको र त्यसपछि झडप भएको जनाएको थियो। त्यस क्रममा नजिकैको अपार्टमेन्टबाट दुई व्यक्ति आएर संघीय अधिकारीमाथि आक्रमण गरेको दाबी गरिएको थियो। अधिकारीले “आफ्नो ज्यान जोगाउन” गोली चलाएको बताइएको थियो।

घटनापछि गृहमन्त्री कृष्टि नोयमले एक एजेन्ट घाइते भएको र उपचार भइरहेको बताएकी थिइन्। त्यसपछि अमेरिकी उप-महान्यायाधिवक्ताले सामाजिक सञ्जाल ‘एक्स’ मा मिनेसोटाको नेतृत्वप्रति आलोचना गरेका थिए।

मिनेसोटाका प्रमुख संघीय अभियोजकले “नयाँ प्रमाण आरोपसँग मेल नखाने” भन्दै मुद्दा पूर्ण रूपमा खारेज गर्न अदालतसँग अनुरोध गरेका थिए। उनले न्यायको हितका लागि मुद्दा पुनः दर्ता नहुने गरी खारेज गरिनुपर्ने बताएका थिए।

ट्रम्प प्रशासनका सीमा प्रमुख टम होमनले मिनेसोटामा दुई महिनाभन्दा बढी समयदेखि जारी कडाइ अभियान अन्त्य गरिने घोषणा गरेका छन्। उक्त अभियानका क्रममा ४,००० भन्दा बढी अवैध आप्रवासी पक्राउ गरिएको जनाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com