नक्कली चिट्ठाले गुम्यो २ करोडको घर, ठगी गर्ने पक्राउ


प्रकाशित मिति : फाल्गुन ५, २०७३ बिहीबार

डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् ।

दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षाैँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ ।

लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम (यमराज) गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

वृत्तका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार सोयमले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय फेसन डिजाइनसम्बन्धी प्रतिस्पर्धामा आफू प्रथम भएको र ८६ करोड रुपैयाँ आउने भन्दै सोयमले बेलबहादुरलाई झुक्याएका थिए । सो पैसा नेपाल ल्याउन आफूलाई खर्च अभाव भएको भन्दै नाटकीय शैलीमा सोयमले ठगी गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोयमले दुई करोड सहयोग गरे ३५ करोड रुपैयाँ दिने बताएपछि बेलबहादुर लोभिएका थिए । सोहीअनुसार पोखरास्थित दुई करोड पर्ने घर गत असोजमा बिक्री गरी बेलबहादुरले सोयमलाई पैसा दिएका थिए । तर, सोयमले चिट्ठा परेर फेसन डिजाइनको प्रतिस्पर्धा जितेको कुरा गलत भएको र पैसा पनि फिर्ता नगरेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । दुई साताअघि सोयमलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।

फेसबुकको चिनजानले बिचल्ली
बेलबहादुर र सोयमबीच करिब ६ महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । चिनजानका क्रममा सोमयले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको बताउँदै प्रभावमा पारेका थिए । उनको फेसबुक प्रोफाइलमा पनि त्यही कुरा उल्लेख थियो ।

प्रहरीका अनुसार दुईजनाबीच च्याटमा बारम्बार गफ हुन थाल्यो । सोयमकै प्रस्तावमा गत भदौमा बेलबहादुर नेपाल आए । उनलाई भेट्न सोयम पोखरा नै गए । आफू फेसन डिजाइनसम्बन्धी कार्यक्रममा भाग लिन जान लागेको र थोरै पैसा नपुगेको भन्दै दुई लाख रुपैयाँ लिए । त्यसरी विभिन्न बहानामा उनले ४२ लाख रुपैयाँ हात पारे ।

पैसा नपुग्दा चिट्ठाको पैसा आउन ढिला भएको भन्दै पछि सोयमले बेलबहादुरसँग दुई करोड मागेका थिए । तर, बेलबहादुरसँग त्यति पैसा थिएन । चिट्ठाको ३५ करोड दिने बताएपछि उनले घर नै बिक्री गरेर सोयमलाई पैसा दिए । पैसा दिएको एक महिनापछि ३५ करोड रुपैयाँ खातामा आउने भनेर उनले विश्वस्त बनाएका थिए । एउटै बैंक खातामा त्यति धेरै पैसा नआउने भन्दै पाँचवटा बैंकमा खाता खोल्न लगाएर नाटक गरेका थिए । ३५ करोड खातामा आएपछि मात्र सबैलाई सरप्राइज दिन भन्दै उनले यसबारे कसैलाई जानकारी दिएका थिएनन् ।

तर, एक महिना होइन दुई महिना कुर्दा पनि पैसा आएन । त्यसपछि बेलबहादुरले सोयमलाई दबाब दिन थाले । पछि बुझ्दा सोयम अन्तर्राष्ट्रिय फेसन डिजाइनर पनि नभएको र ८६ करोडको चिट्ठा पनि नपरेको खुलेपछि उनले पैसा मागे । तर, सोयमसँग पैसा थिएन । त्यसपछि उनी प्रहरीमा गएका हुन् । पक्राउ परेपछि सोयमले आफूले पैसा लिएको स्विकारेका छन् । २४ वर्षीय सोयमले धेरै नाटकीय शैली अपनाएर बेलबहादुरलाई प्रभावमा पारेको प्रहरीले जनाएको छ । पैसा लिएको प्रमाणसमेत नराखी उनले ठगी गरेका थिए ।

बेलबहादुरसँग लिएको पैसामध्ये केहीबाट सोयमले महाराजगन्जमा बुटिक पसल खोलेका थिए । ५० लाख बेलायत पठाएको उनले बताएका छन् । ५० लाख बुटिकमा लगानी गरेको र बाँकी अन्यत्र खर्च भएको बयान सोयमले दिएका छन् । व्यवसाय गर्ने पैसाका लागि आफूले चिट्ठा परेको भनेर नाटक गरेको उनले बताएका छन् । ठगी गरेर उनी बेलायत भाग्न खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ । नयाँ पत्रिका

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com