बर्षा र हिमपातका बाबजुत ह्वाइटहाउस अगाडि नेपालीसहित सयौंको प्रदर्शन
प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार
बर्षा र हिमपातका बाबजुत टीपीएसको पक्षमा नेपालीसहित सयौंले मंगलबार ह्वाइटहाउस अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनमा ठूलो संख्यामा नेपाली टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरुको उपस्थीति रहेको थियो ।
प्रदर्शनमा सहभागीहरुले नेपाली, अँग्रेजी, स्पानिस, फ्रेन्च लगायतका भाषामा टीपीएसका पक्षमा नारावाजी गरेका थिए । उनीहरुले टीपीएस वाहकका लागि स्थायी समाधान खोज्न माग गरेका थिए ।

विहान साढे ९ बजे ह्वाइटहाउस अगाडि सुरु भएको प्रदर्शनका क्रममा नेपाल लगायतका देशका नागरिकका लागि प्रदान गरिएको टीपीएस अन्त्य नगर्न माग गरिएको थियो । अमेरिकी ट्रम्प प्रशासन र सांसदहरुको ध्यानाकर्षणका लागि आजको प्रदर्शन गरिएको हो । नेपालीका तर्फबाट प्रदर्शनको नेतृत्व नेपाली र नेपाली भाषीहरुको अधिकारका लागि कृयाशिल संस्था अधिकारले गरेको थियो ।

पेन्सिलभेनिया एभिन्युहुँदै ट्रम्पको इन्टरनेशनल होटल र क्यापिटल हिलसम्म प्रदर्शन जारी राखिएको थियो । रसेल सिनेट अफिसको भवन अगाडि पुगेका प्रदर्शनकारीहरुले नाचगानमात्र गरेनन्, टीपीएसप्राप्तकर्ताहरुले आफ्ना कथाहरु समेत बताएका थिए ।

नेपाल र होण्डुसरको टीपीएस समाप्त नगर्न मागसहित अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा ट्रम्प प्रशासनबिरुद्ध मुद्दा दायर गरेको दुईदिनपछाडि वासिंटन डिसीमा प्रदर्शन गरिएको हो ।
केशव भट्टराई, सुम्निमा थापा र सज्जन भट्टराईका तर्फबाट अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको हो । गतबर्ष सान फ्रान्सिस्कोमा संघीय न्यायाधिसले एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस अन्त्य गर्नमा अस्थायी रोक लगाएका थिए । जसमा नेपाल र होण्डुरस भने परेको थिएन ।

प्रदर्शनमा सहभागी हुन न्युयोर्कबाट ठूलो संख्यामा नेपालीहरु पुगेका थिए भने मेरिल्याण्ड र वासिंटन डिसीमा रहेका नेपालीहरुको समेत सहभागिता रहेको थियो । टीपीएस एलाइन्सले क्यापिटल हिलमा आयोजना गरेको तीनदिने दबाबमुलक कार्यक्रमको शिलशिलामा मंगलबारको प्रदर्शन भएको हो ।

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका झण्डै १४ हजार ७ सय ९१ जना नेपालीहरुले टीपीएस सुविधा लिएका थिए । जसमध्ये टीपीएस कायम भएमा ८ हजार ९ सय ५० ले पुन दर्ता गर्ने अपेक्षा गरिएको थियो ।
अमेरिकी सरकारले तय गरेको मिति अनुशार आगामी जुन २४ मा नेपालको टीपीएस समाप्त हुनेछ । नेपालको टीपीएस समाप्त भएमा अमेरिकामा रहेका हजारौं नेपालीहरुले देशनिकालाको सामना गर्नेछन् ।

नेपाललाई पहिलोपटक सन् २०१५ को जुन २४ मा टीपीएस प्रदान गरिएको थियो । नेपालमा सन् २०१५ को अप्रिलमा गएको महाभूकम्पमा झण्डै ९ हजारको ज्यान गएको थियो भने २० हजार भन्दा धेरै घाइते भएका थिए ।

फोटो : प्रदीप परियार थापा





