अष्ट्रेलियामा यो वर्ष नागरिकता पाउनेको संख्या दोब्बर !
प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार
अष्ट्रेलियामा अघिल्लो वर्षभन्दा यो वर्ष दोब्बर व्यक्तिले नागरिकता पाएका छन् । यो वर्ष अर्थात २०१८ मा जुलाई देखि अक्टोबर महिना सम्मको अवधिमा नागरिकताको लागि परेको निवेदन मध्ये ४५ हजार ५ सय अन्तिम चरण सम्म पुगे र ती मध्ये ३९ हजारले नागरिकता पाए ।
गत वर्ष यही समयको अवधि अर्थात जुलाई देखि अक्टोबर महिनासम्मको अवधिमा १५ हजार ५ सय जनाले मात्र नागरिकता पाएका थिए ।इमिग्रेसन मन्त्री डेभिड कोलम्यानले गृह मन्त्रालयमा स्रोतहरु थपिएका कारणले नागरिकता पाउनेहरुको संख्या दोब्बर भएको बताएका छन् ।उनका अनुसार चारित्रिक जांचमा कडाइ गरिएको छ, नागरिकता तथा आप्रवासी सम्बन्धि कुनै कठीन मुद्दा आएमा त्यसलाई हेर्नको लागि छुट्टै संयन्त्र गठन गरिएको छ, अतिरिक्त स्टाफ नियुक्ति तथा तालिमको लागि ९ मिलियन डलर भन्दा बढी बजेट छुट्टाइएको छ र काम छिटो तथा सहज होस् भन्नको लागि नयाँ प्रविधिहरु भित्र्याइएको छ । जसले गर्दा नागरिकता सम्बन्धि काम छिटो भएको छ ।
नागरिकता निवेदन अन्तिम चरणमा पुग्ने ( फ़ाइनलाइज ) हुने संख्या बढेता पनि लाग्ने समय ( Waiting Time ) भने बढेको छ । उक्त समय १४ महिनाबाट १८ महिना पुगेको छ ।