निर्दयी आमा आफ्नो ६ बर्सिय छोरालाइ खोलामा धकेली मारिन


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

मोरङको कानेपोखरी गाउँपालिका ५ की २३ वर्षीय कल्पना दर्जी आइतबार बिहान माइत जान भन्दै ६ वर्षीय छोरा रेशमलाई लिएर निस्किन्।

रमाइलो आइतबारेस्थित उनको माइती घर पुग्न त्यहाँको चिसाङ खोला तर्नै पर्छ। अलिकति हिँड्दा खोला तर्नलाई पुल भेटिन्छ। तर मन भित्र पाप चिताएकी उनले नाबालक छोरालाई पुलको बाटो प्रयोग नगरिकन खोलाबाटै लिएर गइन्। अबोध बालकलाई के थाहा आफैलाई जन्म दिने आमाले निर्दयी निर्णय गरेको कुरा !

खोला तरिसकेपछि उनले छोरा रेशमलाई बाढी आउँदै गरेको सानो चिसाङ खोलामै धकेलिदिइन्। बालकलाई खोलाले बगायो। त्यसपछि माइत पुगेर छोरालाई तर्ने क्रममा खोलाले बगाएको सुनाइन्। नाबालकको खोजीमा निस्किएका माइती पक्षले शंका गरेर केरकार गरे। अन्तत कल्पना आफैँले छोरालाई खोलामा धकेलेको स्वीकार गरिन्।

खोलाले बगाएर मृत्यु भएका बालकको शव घटनास्थलबाट एक सय मिटर तल अल्झिएको अवस्थामा इलाका प्रहरी कार्यालय पथरीको टोलीले भेट्टायो। प्रहरी टोली प्रहरी निरीक्षक कमल बजगाईको नेतृत्वमा घटनास्थलमा पुगेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पति श्याम दर्जीले किटानी जाहेरी दिएपछि प्रहरीले कल्पनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। कल्पनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालत मोरङबाट म्याद थप भएको छ।

अदालतबाट म्याद थप भएसँगै कल्पनामाथि अनुसन्धान अगाडि बढाएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीको भनाइ छ। प्रहरी समक्ष पनि उनले घटना स्वीकार गरेकी छन्। ‘छोरालाई लिएर माइत जान घरबाट निस्किएँ। खोला तरिसकेपछि रिस उठेर उसलाई उतै धकेलिदिएँ,’ कल्पनालाई उद्धृत गर्दै एसपी केसीले भने, ‘पछि माया लागेर बचाउन त खोजेँ तर खोलाले बगाएर लगिसकेकाले भेटिन।’

कल्पना निगुरो बिक्री गरेर जीवन चलाउँदै आएकी थिइन्। प्रहरीसँगको वयानमा उनले पतिसँगको रिसको आवेगमा आफूले छोरालाई खोलामा धकेलेर हत्या गरेको स्वीकार गरेकी छन्। कल्पना र श्यामबीच आठ वर्ष पहिले बिहे भएको थियो। ‘नाबालकको यसरी हत्या हुनुको मुख्य कारण गरिबी नै हो,’ घटनाको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले भने, ‘पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण पति पत्नीबीचको सम्बन्ध पनि केही समयदेखि राम्रो रहेनछ।’

प्रहरीसँगको वयानमा कल्पनाले पतिले दैनिक रक्सी पिएर आफूलाई यातना गरेको रिसमा छोरा परेको बताएकी छन्।

‘घरमा म र छोरालाई खानेकुरा केही हुँदैन। ऊ सधैं रक्सी मात्रै आएर हिड्छ’, कल्पनालाई उद्धृत गर्दै एक प्रहरीले भने, ‘मैले मात्रै घर व्यवहार चलाउन नसक्ने स्थिति आयो। यो दुःखमा छोरालाई पाल्न नसक्ने भएकाले एक्कासी मन बिग्रियो। खोलामा बाढी आएको अवस्थामा छोरालाई धकेल्न पुगेछु।’

प्रहरीको प्रारम्भिक अनुसन्धानले आर्थिक र पारिवारिक रुपमा उत्पन्न तनाव र पीडाले बालकको हत्या भएको देखाएको छ।

पतिसँगको सम्बन्ध त्यति राम्रो नभएपछि उनी धेरै जसो माइत बस्दै आएकी थिइन्। प्रनि बजगाईले भने, ‘उनी कहिले माइत त कहिले घरमा बस्ने गरेकी रहिछन्। घटना भएको दिन चैं घरबाट माइत जाँदै गरेको पाइयो।’

बजगाईले नाबालक छोराको हत्याका विषयमा थप अनुसन्धान भइरहेको बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com