दशैंमा बसको जिम्मा लिन सक्दैनौँ: व्यवसायी


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेको सरकारको घोषणापछि देखिएको अन्योलकामाझ यातायात सञ्चालन गर्दे आएका व्यवसायीहरूले यहि अवस्थामा आउँदो दशैंको लागि यात्रुहरूको अग्रिम टिकट बुकिङ प्रक्रिया अगाडि बढाउन नसकिने चेतावनी दिएका छन्।

टिकट

लाखौं मानिसहरू चाडपर्वका बेला राजधानी बाहिर जाने भएकाले त्यसलाई सहज बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था हुँदै आएको छ।

सरकारले यसै हप्ताबाट दशैंको अग्रिम टिकट बुकिङ शुरु गर्ने तयारी गरिरहँदा सरकारले निर्देशन दिए जस्तै कम्पनी अन्तर्गत नगएका झन्डै तीन सय यातायात संस्थाहरूले अधिकार विहीन अवस्थामा टिकटको जिम्मा लिन नसक्ने बताएका हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाखौं मानिसहरू चाडपर्वका बेला राजधानी बाहिर जाने भएकाले त्यसलाई सहज बनाउन अग्रिम टिकट बुकिङको व्यवस्था विगतदेखि हुँदै आएको छ।

रोक्का

सरकारले आगामी मंसिरको अन्तिम हप्तासम्म सबै व्यवसायी समितिलाई कम्पनीमा रूपान्तरण हुन भनिए पनि अहिलेसम्म १०० भन्दा कम मात्र कम्पनीमा दर्ता भएका छन्।

यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी महासंघ अन्तर्गत रहेका बाँकी झन्डै ३ सय समितिहरू आफ्नो खाता रोक्का रहेको अवस्थामा दशैंमा सञ्चालन हुने गाडीको जिम्मा लिन नसक्ने बताउँछन्।

महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, “विगतमा महासंघले बुकिङ गर्दै सबै समितिलाई परिपत्र गर्थ्यौ। समितिका पदाधिकारीहरूलाई राख्थ्यौँ। अनुगमन गर्थ्यौँ। गाडी नपुगे जसरी नै व्यवस्थापन गरिन्थ्यो। अहिले त्यो परिस्थिति छैन। खाता रोक्का छ।”

सरकारले गत चैत महिनाको अन्तिम साता यातायात क्षेत्रको सिन्डिकेट अन्त्य भएको घोषणा गर्दै सबै व्यवसायीहरूलाई कम्पनीमा रूपान्तरण हुन आगामी मंसिर महिनासम्मको समय दिएको थियो।

सरकारले सबै यातायात व्यवसायीहरूको खाता पनि त्यहि समयदेखि रोक्का राखेको छ।

तर आगामी बाटोबारेको अन्योल हटाउन उच्च स्तरीय आयोग गठन गर्ने सहमति गरिए पनि सरकारले अहिलेसम्म कुनै काम गर्न नसकेको आरोप व्यवसायीहरूको छ।

भाडा बृद्धि

सरकारले भने यो वर्ष गाडी भाडामा बृद्धि गर्नुपर्ने मागमा सकारात्मक हुने संकेत गर्दै सहमतिमा अगाडी बढ्ने जनाएको छ।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले यसै हप्ता हुने दुई पक्षीय छलफलबाट निष्कर्ष आउने बताउँदै भने, “एक चरणको अनौपचारिक छलफल भइसकेको छ। भाडामा समायोजन गरिदिनुपर्‍यो भन्ने उहाँहरूको एउटा माग छ। २०६९ सालदेखि भाडा बढेको रहेनछ। त्यसैले वैज्ञानिक रूपमा कसरी भाडा बढाउने भन्ने तयारी गरिरहेका छौँ। सम्भवत: यसै हप्ताबाट बुकिङ खुल्ला हुनेछ।”

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत अहिले देशभर २ सय ९७ संघ सस्थाहरू छन्।

त्यस अन्तर्गत झन्डै ३ लाखको हाराहारीमा बसहरू सञ्चालन भइरहेका छन्।

सिन्डिकेटकै कारण यो वर्ष दशैंलक्षित गरी नयाँ गाडीहरू नथपिएको पनि बताइएको छ।

BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com