११ मंसिर २०८३, शुक्रबार| Friday, November 27, 2026
अमेरिका

अमेरिकी वायुसेनाको प्रमुख क्लाउड प्रणाली ‘क्लाउड वन’ ह्याक, संवेदनशील सैन्य तथ्याङ्क जोखिममा

हवाई प्रतिरक्षा राडार र क्षेप्यास्त्र निगरानीसम्बन्धी प्रणाली जोडिएको प्लेटफर्ममा घुसपैठ भएको बताइएको छ। यद्यपि, अमेरिकी वायुसेनाले यस विषयमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेको छ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Kevin Doyle/ Unsplash

ह्याकरहरूले अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा अनधिकृत प्रवेश गरेका छन्। यस घटनाका कारण वायुसेनाका अति संवेदनशील सामरिक, कर्मचारी तथा लजिस्टिकसम्बन्धी विशाल तथ्याङ्कहरू जोखिममा पर्न सक्ने जनाइएको छ।

प्रणाली स्तरोन्नति गर्ने क्रममा करिब एक महिनाअघि पत्ता लागेको उक्त साइबर घुसपैठका कारण प्लेटफर्मका विभिन्न सेवाहरू अवरुद्ध भएका छन्, तर ह्याकरहरूको पहिचान, आक्रमणको वास्तविक दायरा र तथ्याङ्क चोरी भए वा नभएको विषय अझै खुल्न सकेको छैन।

सन् २०१७ मा सुरु गरिएको ‘क्लाउड वन’ अमेरिकी वायुसेनाको सूचना प्रविधि आवश्यकता पूरा गर्ने एकीकृत प्रणाली हो। माइक्रोसफ्ट, अमेजन, ओराकल र अल्फाबेट गरी चार ठूला प्रविधि कम्पनीहरूको स्रोत संयोजन गरी निर्माण गरिएको यस प्लेटफर्मले कर्मचारीको विवरण, तलब, लजिस्टिक र मर्मतसम्भारसम्बन्धी दर्जनौँ एप्लिकेसनहरू सञ्चालन गर्छ।

यस प्रणालीअन्तर्गत उत्तर अमेरिकाभरका हवाई प्रतिरक्षा राडारको डेटा सङ्कलन गर्ने ‘क्लाउड-बेस्ड कमान्ड एन्ड कन्ट्रोल’ तथा विश्वका २०० भन्दा बढी अमेरिकी वायुसेनाका अखडाहरूमा रहेका बम र क्षेप्यास्त्रको निगरानी गर्ने ‘थिएटर इन्टिग्रेटेड कम्ब्याट म्युनिसन्स सिस्टम’ समेत पर्दछन्। सन् २०२५ सम्म एसएआईसीले यसको मुख्य ठेक्का सम्हालेकोमा हाल लिडोसले यसको व्यवस्थापन गर्दै आएको छ।

अमेरिकी सेनाको सबैभन्दा ठूलो क्लाउड प्लेटफर्ममध्ये एक मानिने ‘क्लाउड वन’ मा भएको यो आक्रमणलाई सुरक्षा विज्ञहरूले निकै गम्भीर रूपमा लिएका छन्। क्षतिको मूल्याङ्कन गर्न अमेरिकी सेनाको साइबर सुरक्षा निकाय ‘साइबर कमान्ड’ लाई परिचालन गरिएको छ। तर, अमेरिकी वायुसेना र साइबर कमान्ड दुवैले यस विषयमा औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

ह्याक पत्ता लागेपछि वायुसेनाका ‘ब्याक-अफिस’ एप्लिकेसनहरूलाई क्लाउड वनमा सार्ने दीर्घकालीन योजना हाललाई स्थगित गरिएको छ। साथै, प्रणालीमा चलिरहेका एप्लिकेसनहरूको अपडेट रोकिँदा नयाँ सफ्टवेयर कमजोरीहरू सुधार गर्न प्राविधिकहरूलाई कठिनाइ भएको छ भने केही प्रयोगकर्ताहरूको ‘एडमिनिस्ट्रेटर’ अधिकारसमेत खोसिएको छ।

स्रोतका अनुसार ह्याकरहरूले सफ्टवेयरको कमजोरीको फाइदा उठाउँदै प्रणालीको ‘कन्ट्रोल प्लेन’ सम्म पहुँच पुर्‍याएका थिए। कन्ट्रोल प्लेनलाई प्रणालीको ‘युनिभर्सल रिमोट’ सरह मानिन्छ, जसको माध्यमबाट सैद्धान्तिक रूपमा सैन्य विमानहरूको सञ्चालन अवस्था र पार्टपुर्जाको ओसारपसारसमेत जाँच्न सकिन्छ। यद्यपि, ह्याकरहरूले त्यसो गरे वा गरेनन् भन्ने पुष्टि भइसकेको छैन।

पछिल्लो समय कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी साइबर आक्रमण गर्ने क्रम बढेसँगै अमेरिकी सरकारी निकायहरू निरन्तर निशानामा परिरहेका छन्। यसअघि पनि एफबीआई, पेन्टागन, होमल्यान्ड सेक्युरिटी, गुप्तचर निकाय र ट्रेजरी डिपार्टमेन्टमा यस्तै साइबर आक्रमणका घटनाहरू सार्वजनिक भएका थिए। सन् २०२३ मा साइबर आक्रमण रोक्न शतप्रतिशत सफल रहेको दाबी गरेको ‘क्लाउड वन’ को नेतृत्वका लागि यो घटना ठुलो धक्का सावित भएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →