११ मंसिर २०८३, शुक्रबार| Friday, November 27, 2026
अमेरिका

न्यु मेक्सिकोमा खाजा किन्न रोकेको मौका छोपी कारागारकै गाडी लिएर गर्भवती कैदी फरार

अमेरिकाको न्यु मेक्सिकोमा गर्भवती कैदी कारागारकै गाडी लिएर फरार भएपछि खोजी कार्य तीव्र पारिएको छ। स्वास्थ्य परीक्षणपछि कारागार फर्काउने क्रममा खाजा किन्न गाडी रोकेको मौका छोपी उनी भागेकी हुन्।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Michael Förtsch/ Unsplash

अमेरिकाको न्यु मेक्सिकोमा गर्भवती महिला कैदी कारागार विभागकै सवारी साधन लिएर फरार भएकी छिन् । अधिकारीहरूले खाना किन्नका लागि रेस्टुरेन्ट अगाडि गाडी रोकेको मौका छोपी २६ वर्षीया रेबेका टेलर गाडी हाँकेर भागेकी हुन् ।

न्यु मेक्सिको कारागार विभागका अनुसार बुधबार बिहान गर्भावस्थासम्बन्धी नियमित स्वास्थ्य परीक्षण गराएर ग्रान्ट्सस्थित वेस्टर्न न्यु मेक्सिको सुधार गृह तर्फ लैजाँदै गर्दा उनी हिरासतबाट फरार भएकी हुन् । चोरी तथा डकैतीसम्बन्धी विभिन्न अभियोगमा कारागार सजाय भोगिरहेकी टेलरको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

कारागार विभागले एक सूचना जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । सूचनामा भनिएको छ, “कृपया सावधानी अपनाउनुहोला र उनलाई नजिकबाट भेट्ने वा समात्ने प्रयास नगर्नुहोला । फरार व्यक्तिहरू अप्रत्याशित हुन सक्छन् र नजिक जाँदा वा सामना गर्न खोज्दा अनपेक्षित प्रतिक्रिया दिन सक्छन् ।”

स्थानीय सञ्चारमाध्यम कोआटका अनुसार तीन जना सुरक्षा अधिकारीहरूले टेलर र अर्की एक महिला कैदीलाई स्वास्थ्य परीक्षणपछि कारागार फर्काउँदै थिए । सोही क्रममा बुधबार बिहान करिब ११:३५ बजे अल्बुकर्कको ९८औँ स्ट्रिटस्थित ‘वाटाबर्गर’ रेस्टुरेन्टमा खाना किन्नका लागि गाडी रोकिएको थियो ।

गाडीका चालक बाहिर निस्कनेबित्तिकै टेलरले आफ्नो सिट बेल्ट खोलिन् र चालकको सिटमा सरेर गाडी कुदाउँदै भागिन् । सोही गाडीमा रहेकी अर्की महिला कैदी भने गाडीबाट हाम फालेर निस्कन सफल भइन् र उनी हाल पुनः सुरक्षा नियन्त्रणमा आइसकेकी छिन् । गर्भवती भएका कारण यात्राका क्रममा टेलरलाई हतकडी वा अन्य कुनै बन्धनमा राखिएको थिएन । गाडी खानाका लागि रोकिँदा अन्य दुई सुरक्षा अधिकारीहरू कहाँ थिए भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।

फरार टेलरले चलाएर लगेको ‘डज जर्नी’ एसयूभी गाडी पछि अल्बुकर्ककै क्रेस्टभ्यु ड्राइभ एसडब्लू क्षेत्रको एक आवासीय टोलमा जीपीएस प्रविधिको सहायताले फेला परेको छ । गाडीभित्र उनले लगाएको सुन्तला रङको कैदी पोसाक मात्र भेटिएको र उनी भने त्यहाँ नरहेको कारागार विभागले जनाएको छ । त्यसयता उनको अवस्था अज्ञात रहेको छ ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →