९ मंसिर २०८३, बुधबार| Wednesday, November 25, 2026
अन्तर्राष्ट्रिय

ट्रम्पको जन्मसिद्ध नागरिकतासम्बन्धी कार्यकारी आदेशमा दोस्रो अमेरिकी न्यायाधीशद्वारा पनि रोक

वासिङ्टन डिसीस्थित संघीय न्यायाधीश क्रिस्टोफर कुपरले ट्रम्पको नयाँ नागरिकता आदेशमा अन्तरिम रोक लगाएका छन्। यसअघि मेरील्याण्डको अदालतले पनि रोक लगाइसकेकाले अब आदेश लागू गर्न प्रशासनले दुवै फैसला उल्ट्याउनुपर्नेछ।

यो समाचार सुन्नुहोस्0:00 / --:--

Photo: Sasun Bughdaryan/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरा सीमित पार्न जारी गरेको कार्यकारी आदेश कार्यान्वयनमा दोस्रो संघीय न्यायाधीशले पनि रोक लगाएका छन्।

वासिङ्टन डिसीस्थित अमेरिकी जिल्ला न्यायाधीश क्रिस्टोफर कुपरले बुधबार उक्त आदेशविरुद्ध दायर सामूहिक मुद्दामा सुनुवाइ गर्दै अन्तरिम रोक लगाउने आदेश जारी गरेका हुन्। सर्वोच्च अदालतले ट्रम्पको पहिलो प्रयासलाई अस्वीकार गरेपछि उनले गत अगस्टमा यो नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

यसअघि सेप्टेम्बरमा मेरील्याण्डका अर्का एक संघीय न्यायाधीशले पनि ट्रम्पको उक्त आदेश कार्यान्वयनमा रोक लगाएका थिए। अब ट्रम्प प्रशासनले यो आदेश लागू गर्न दुवै अदालतका निर्णयहरू उल्ट्याउनुपर्ने बाध्यता सिर्जना भएको छ। न्यायाधीश कुपरको यो फैसलाले ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक प्रमुख योजनामा ठूलो धक्का पुर्‍याएको छ।

फैसला सुनाउँदै न्यायाधीश कुपरले यस मुद्दाको कानुनी आधार निकै स्पष्ट रहेको बताए। उनले भने, “अमेरिकी कानुनको अधीनमा नरहेका अत्यन्तै थोरै अपवादबाहेक यस देशमा जन्मिएका सबै बालबालिका अमेरिकी नागरिक हुन् भनी सर्वोच्च अदालतले दुई पटक पुष्टि गरिसकेको छ।”

निवेदकहरूको तर्फबाट बहस गरेका अमेरिकन सिभिल लिबर्टिज युनियनका वकिल कोडी वोफ्सीले एक विज्ञप्ति जारी गर्दै जन्मसिद्ध नागरिकता देशको मूल कानुन भएको तथ्यलाई ट्रम्पले स्वीकार गर्नुपर्ने बताए। “अति भइसक्यो,” उनले भने, “सर्वोच्च अदालतले सन् १८९८ मा र यस वर्षको सुरुमा गरी दुई पटक जन्मसिद्ध नागरिकता खोस्ने प्रयासलाई अस्वीकार गरिसकेको छ। तेस्रो प्रयास पनि सफल हुनेछैन।”

यता, ह्वाइट हाउसकी प्रवक्ता लरेन बिसले विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति बाराक ओबामाद्वारा नियुक्त ‘कार्यकर्ता न्यायाधीश’ ले राष्ट्रपति ट्रम्पको व्यावहारिक एजेन्डालाई अवरोध पुर्‍याउने प्रयास गरेको आरोप लगाइन्। उनले ट्रम्पको कार्यकारी आदेश सर्वोच्च अदालतको व्याख्या र विश्लेषणअनुरूप नै रहेको दाबी गरिन्।

सन् २०२५ मा ट्रम्पले अमेरिकी नागरिक वा ग्रिन कार्डधारी बाहेकका आमाबाबुबाट जन्मने बालबालिकाको जन्मसिद्ध नागरिकता अन्त्य गर्न पहिलो आदेश जारी गरेका थिए। तर, सर्वोच्च अदालतले गत जुनमा उक्त आदेश अमेरिकी संविधानको १४औँ संशोधनको नागरिकता खण्डविपरीत रहेको ठहर गर्दै खारेज गरिदिएको थियो।

सर्वोच्चको उक्त फैसलाको लगत्तै ट्रम्पले बच्चालाई स्वतः अमेरिकी नागरिकता दिलाउने उद्देश्यले अमेरिका गएर सुत्केरी हुने प्रवृत्तिलाई लक्षित गर्दै अगस्टमा अर्को आदेश ल्याएका थिए। उक्त आदेशले कूटनीतिक उन्मुक्ति नभएका विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत कर्मचारीका सन्तान तथा ‘विदेशी शत्रु’का रूपमा वर्गीकृत आमाबाबुका सन्तानलाई समेत नागरिकताबाट वञ्चित गर्ने लक्ष्य राखेको थियो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तर, न्यायाधीश कुपरले अमेरिकाभित्र जन्मिएका र अमेरिकी कानुनको अधीनमा रहेका बालबालिकाका लागि राष्ट्रपतिले जन्मसिद्ध नागरिकतामा नयाँ अपवादहरू सिर्जना गर्न नसक्ने सर्वोच्च अदालतले पहिले नै स्पष्ट पारिसकेको उल्लेख गरे। सर्वोच्च अदालतले सन् १८९८ को ऐतिहासिक फैसलालाई नै आधार मान्दै आमाबाबुको आप्रवासन हैसियत जेसुकै भए पनि अमेरिकामा जन्मने बालबालिकाले जन्मसिद्ध नागरिकता पाउने अधिकार सुनिश्चित गरेको उनको भनाइ छ।

न्यायाधीश कुपरले जारी गरेको प्रारम्भिक निषेधाज्ञाले अमेरिकी विदेश मन्त्रालय, होमल्याण्ड सेक्युरिटी र सामाजिक सुरक्षा प्रशासनलाई यस मुद्दामा समेटिएका कुनै पनि बालबालिकाविरुद्ध ट्रम्पको आदेश कार्यान्वयन गर्नबाट रोक लगाएको छ।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →