साउथ क्यारोलिनामा आफ्नै बाबुले खाल्डोमा पुरेका ११ महिनाका शिशुको २४ घण्टापछि चमत्कारिक उद्धार
Photo: Richard Bell/ Unsplash
अमेरिकाको साउथ क्यारोलिना राज्यमा एक अकल्पनीय घटना बाहिर आएको छ। बाबुले बेपत्ता बनाएका ११ महिनाका एक शिशुलाई माटोमुनि कुकुरको पिंजडामा गाडिएको अवस्थामा जीवितै उद्धार गरिएको छ। लेक्सिङटन काउन्टीका सेरिफ ब्रायन कुनका अनुसार कोआ शार्प नाम गरेका ती शिशुलाई २४ घण्टाभन्दा बढी समयदेखि माटोमुनि पुरिएको अवस्थामा फेला पारिएको हो।
घटनाको विवरणअनुसार, शिशुका बाबु माइकल कोमरले सोमबार बिहान हजुरआमाको रेखदेखमा रहेका बालकलाई सुटुक्क लिएर भागेका थिए। शिशुलाई उनकी आमाले पूर्ण रेखदेखको जिम्मा पाएकी थिइन् र उनी काममा गएको मौका छोपी बाबुले बालकलाई लिएर फरार भएका थिए। त्यसपछि बालक बेपत्ता भएको खबर फैलिन बित्तिकै स्थानीय प्रहरी, एफबीआई र संघीय निकायसहित करिब १०० जनाको खोज टोली परिचालन गरिएको थियो।
खोजबिनका क्रममा मङ्गलबार दिउँसो करिब १:३० बजेतिर माइकलका बुबाको घरनजिकैको जङ्गलमा झन्डै ५० गजभित्र भर्खरै कोट्याएर पुरिएको स्थान फेला पर्यो। प्रहरी अधिकारीहरूले सो स्थानमा खन्दै जाँदा भित्रबाट बालक कोआ रोइरहेको आवाज सुनेका थिए। तुरुन्तै माटो र पिंजडा निकालेर हेर्दा बालक जिवितै भेटिएका हुन्।
अधिकारीहरूका अनुसार करिब २ गुणा २ फिटको तारको पिंजडामा शिशुलाई राखेर माटोमुनि गाडिएको थियो। तर, पिंजडालाई तौलियाले बेरिएको हुनाले त्यहाँ सानो हावा जाने ठाउँ बनेको र यसैका कारण शिशुले २४ घण्टासम्म अक्सिजन पाएर जीवितै रहन सफल भएको अनुमान गरिएको छ। साथै, त्यहाँको चिसो मौसमले समेत शिशुको शरीरको तापमान सन्तुलनमा राख्न सहयोग पुर्याएको प्रहरीको भनाइ छ।
शिशुको उद्धारलगत्तै उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनको स्वास्थ्योपचार जारी छ। आरोपी बाबु माइकल कोमरलाई प्रहरीले यसअघि नै सोमबार राति अन्य अभियोगमा पक्राउ गरिसकेको थियो र हाल उनीमाथि थप गम्भीर अपराधको मुद्दा चलाउने तयारी भइरहेको छ। शिशुको हजुरआमा प्याट्रिशिया कोमरले आफ्नो छोराको यो कार्य प्रति गहिरो खेद प्रकट गर्दै यसलाई ‘पूर्ण रूपमा घृणित र अकल्पनीय’ भनी प्रतिक्रिया दिएकी छिन्।





