२५ कार्तिक २०८३, बुधबार| Wednesday, November 11, 2026
अमेरिका

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्धको महाअभियोग प्रस्ताव सदनबाट अस्वीकृत

Photo: Simon Gagner/ Unsplash

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्ध संसद्को स्वीकृतिविना इरानमा युद्ध पोखेको अभियोग लगाउँदै ल्याइएको महाअभियोग प्रस्ताव अमेरिकी संसद्मा असफल भएको छ।

प्रतिनिधिसभाका बहुमत सांसदहरूले महाअभियोगका प्रस्तावहरूलाई न्यायिक समितिमा पठाउने पक्षमा मतदान गरे। यस निर्णयसँगै केन्टकीका विद्रोही रिपब्लिकन सांसद थोमस मासीले अघि सारेको महाअभियोगको प्रयास तत्कालका लागि थामिएको छ।

पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रक्षा मन्त्री हेगसेथले महाअभियोगको प्रयासलाई “प्रहसन” र “तोडफोड” को संज्ञा दिए। क्याबिनेट मन्त्रीलाई पदमुक्त गर्ने यो प्रयास सुरुदेखि नै कमजोर मानिएको थियो, किनभने यसका लागि धेरै रिपब्लिकन सांसदहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध गर्नुपर्ने हुन्थ्यो।

तर, मध्यवधि चुनावमा सफलता हासिल गरेपछि आगामी जनवरीदेखि डेमोक्रेटिक पार्टीले संसद्का दुवै सदनको नियन्त्रण सम्हाल्दा यो समीकरण बदलीन सक्छ। हालका लागि ट्रम्पको रिपब्लिकन पार्टीकै नियन्त्रण कायम छ।

मङ्गलबारको मतदानपछि प्रतिनिधिसभाका शीर्ष डेमोक्रेट नेता हकिम जेफ्रिजले भने, यो अन्त्य होइन, सुरुआत मात्र हो।

कानुन निर्माताहरूले उक्त प्रस्तावलाई रिपब्लिकनको नेतृत्वमा रहेको हाउस जुडिसियरी समितिमा पठाउने वा प्रतिनिधिसभामै अघि बढाउन दिने भन्ने विषयमा मतदान गरेका थिए।

थोमस मासीबाहेक सबै रिपब्लिकन सांसदहरूले प्रस्ताव समितितर्फ पठाउने पक्षमा मतदान गरेपछि २११ विरुद्ध २०४ मतले मासीको प्रयास असफल भयो।

यस अवधिमा संसद्को कार्यकाल थोरै मात्र बाँकी रहेकाले प्रस्तावलाई समितिमा पठाउनुले यस प्रयासलाई पूर्ण रूपमा निस्तेज पारिदिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

मतदानका क्रममा एक दर्जनभन्दा बढी सांसदहरू अनुपस्थित थिए। अनुपस्थित ११ जना डेमोक्रेटिक सांसदहरूमध्ये धेरैले ट्राफिक समस्यालाई कारण देखाएका थिए। यसरी मतदानमा अनुपस्थित भएकामा डेमोक्रेटिक पार्टीका अन्य नेताहरूले आफ्नै सांसदहरूको आलोचना गरेका छन्।

यसैबीच राष्ट्रपति ट्रम्पले ट्रुथ सोसियलमा पोस्ट गर्दै यस परिणामको स्वागत गरेका छन् र महाअभियोगको प्रयास “शोचनीय रूपमा असफल” भएको बताएका छन्।

मतदानपछि सांसद मासीले आफू आश्चर्यचकित नभएको तर निराश भएको बताए। उनले हेगसेथलाई अहिले नै हटाउँदा रिपब्लिकनहरूकै सत्ता छँदा नयाँ व्यक्ति चयन गर्न सहज हुने तर्क गरेका थिए। महाअभियोग प्रस्तावहरू नयाँ कार्यकालमा पनि लैजान सकिने भएकाले डेमोक्रेटहरूले आगामी वर्ष यसलाई पुनः बढाउन सक्नेछन्।

लेखक रमेश फुल्लेल

रमेश फुल्लेलले खसोखासका लागि समसामयिक विषयमा रिपोर्टिङ गर्छन्। नेपालका अनलाइन सञ्चारमाध्यममा रिपोर्टिङको अनुभव बटुलेका उनले राजनीति, अध्यागमन लगायतका विषयमा समाचार लेख्दै आएका छन्। साथै, उनले स्थानीय जनसरोकारका विषयमा समेत रिपोर्टिङ र विश्लेषण प्रस्तुत गर्दै आएका छन्।

यस लेखकका थप समाचार →