रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतबाट अमेरिकी सैनिक पक्राउ
Photo: Diego González/ Unsplash
रुसका लागि जासुसी गरेको आशङ्कामा अमेरिकी सेनाका एक वरिष्ठ सैनिक बेलायतबाट पक्राउ परेका छन्। ४१ वर्षीय ती सैनिकलाई मङ्गलबार बेलायतको ग्लोचेस्टरशायर क्षेत्रबाट पक्राउ गरिएको बेलायती काउन्टर टेरडिजम प्रहरीले जनाएको छ।
लन्डनस्थित काउन्टर टेरडिजम पोलिसिङका अनुसार ती सैनिकलाई बेलायतको ‘नेसनल सेक्युरिटी एक्ट २०२३’ को दफा १ र दफा ३ अन्तर्गत नियन्त्रणमा लिइएको हो। उक्त ऐनको दफा १ संरक्षित सूचना प्राप्त गर्ने वा सार्वजनिक गर्नेसँग सम्बन्धित छ भने दफा ३ विदेशी गुप्तचर संस्थालाई सहयोग पुर्याउनेसँग सम्बन्धित छ।
अनुसन्धानका क्रममा प्रहरीले ग्लोचेस्टरशायरका दुई स्थानमा खोजी गरिरहेको छ।पक्राउ परेका सैनिक ग्लोचेस्टरशायरस्थित इम्जिन ब्यारेक्समा कार्यरत थिए। यो ब्यारेक्स नेटोको ‘एलाइज र्यापिड रियाक्सन कर्प्स’को मुख्यालय हो, जुन गठबन्धनको एक रणनीतिक कार्यसञ्चालन केन्द्र मानिन्छ।
अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोका निर्देशक काश पटेलले एक विज्ञप्ति जारी गर्दै यस घटनालाई गम्भीर रूपमा लिइएको बताएका छन्। यो महत्त्वपूर्ण गिरफ्तारीमा जासुसीको आरोप जोडिएको छ, जुन अमेरिका र हाम्रा सहयोगी राष्ट्रहरूका लागि अत्यन्तै चिन्ताको विषय हो, उनले भने, हामी आफ्नो शपथ तोड्ने तथा राष्ट्रिय सुरक्षा एवं सहयोगी राष्ट्रहरूको सुरक्षा खतरामा पार्ने कसैलाई पनि छुट दिँदैनौँ।
काउन्टर टेरडिजम पोलिसिङ लन्डनकी डेपुटी असिस्टेन्ट कमिश्नर भिकी इभासले यस गिरफ्तारीलाई महत्त्वपूर्ण भन्दै आरोपहरू गम्भीर प्रकृतिका भएकाले अनुसन्धान तीव्र रूपमा अघि बढाइएको जानकारी दिइन्।
पक्राउ परेका सैनिकलाई हाल लन्डनस्थित प्रहरी हिरासतमा राखिएको छ। नेसनल सेक्युरिटी एक्ट २०२३ अनुसार प्रहरीले उनलाई बिनाकुनै औपचारिक मुद्दा १४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ।
अमेरिकी सेनाको काउन्टर इन्टेलिजेन्स कमान्डका कमान्डिङ जनरल ब्रिगेडियर जनरल सन स्टिन्चनले संवेदनशील सूचनाको जिम्मेवारी पाएका वरिष्ठ सैनिकमाथि लागेको यो आरोपले आन्तरिक खतरा वास्तविक र निरन्तर रहिरहने स्मरण गराएको बताएका छन्।





