लस एन्जलसमा ठूलो विमान दुर्घटना टर्यो: आकाशमै ठोक्किनबाट जोगिए एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई जहाज
Photo: Forsaken Films / Unsplash
लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेलगत्तै एयर फ्रान्स र अमेरिकन एयरलाइन्सका दुई ठूला यात्रुवाहक विमानहरू आकाशमै एक-आपसमा ठोक्किनबाट झन्डै-झन्डै जोगिएका छन्।
अमेरिकी सङ्घीय उड्डयन प्रशासनले दिएको जानकारीअनुसार गत नोभेम्बर ७ तारिख मध्यराति करिब १२:२० बजे एयर फ्रान्सको उडान नम्बर २८ ले एटीसीको अनुमतिविना अचानक मोड लिएपछि यो गम्भीर र खतरनाक स्थिति सिर्जना भएको थियो।
समानान्तर रनवेबाट अमेरिकन एयरलाइन्सको उडान नम्बर १६६० सँगै उडान भरेको एयर फ्रान्सको बोइङ ७७७-३२८ईआर विमानले तोकिएको उडान मार्ग छोडेर अर्को विमानको बाटोमा प्रवेश गरेको थियो। गम्भीर स्थिति उत्पन्न हुनासाथ एयर ट्राफिक कन्ट्रोलरले तत्कालै रेडियो मेसेजमार्फत एयर फ्रान्सका पाइलटलाई दिशा परिवर्तन गर्न र अमेरिकन एयरलाइन्सका पाइलटलाई उचाइ कायम राख्न कडा निर्देशन दिएका थिए।
अडियो रेकर्डिङमा कन्ट्रोलरले एयर फ्रान्स टोलीलाई भनेका छन्, एयर फ्रान्स ०२८ हेभी, तुरुन्तै २७० तर्फको दिशामा घुम्नुहोस्। लगत्तै अमेरिकन एयरलाइन्सका पाइलटलाई सचेत गराउँदै भनिएको छ, ट्रान्सफिक अलर्ट, १२ बजेको दिशामा एक माइलभन्दा कम दूरीमा अर्को विमान छ, २००० फिटमै उचाइ कायम राख्नुहोस्।
उड्डयन विशेषज्ञ तथा सेवानिवृत्त कप्तान स्टेभन एरोयोका अनुसार दुई विमानबीचको दूरी ४०० फिट र एक माइलभन्दा पनि कम थियो, जुन अत्यन्तै जोखिमपूर्ण अवस्था हो। एयर ट्राफिक कन्ट्रोलरको द्रुत र प्रभावकारी कदमका कारण समयमै सम्भावित ठूलो महाविपत्ति टरेको छ।
उक्त घटनापछि एफएएले एयर फ्रान्सले अनुमतिविना किन मोड लियो भन्ने विषयमा सूक्ष्म र गम्भीर अनुसन्धान थालेको छ।





