अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्ध महाभियोगको प्रस्ताव, पेन्टागनमा खण्डन
अमेरिकी रक्षामन्त्री पीट हेगसेथ । तस्बिर : रासस/ एपी
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले मंगलबार आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउने रिपब्लिकन सांसदको कडा शब्दमा भर्त्सना गर्दै इरान युद्ध तथा अन्य सैन्य आपरेसनमा आफ्नो नेतृत्वको आक्रामक रूपमा बचाउ गरेका छन्।
एकजना असन्तुष्ट र पराजित सांसदले गर्न खोजेको यो प्रयास न त अनुगमन हो, न त जवाफदेहिता नै। यो केवल अहङ्कार र आक्रोशबाट प्रेरित एउटा राजनीतिक नौटंकी र व्यक्तिगत घोषणापत्र हो,” रिपब्लिकन सांसद थोमस म्यासीले आठवटा महाभियोगका बुँदाहरू दर्ता गराएको भोलिपल्ट हेगसेथले भने।
पेन्टागनमा आयोजित छ महिनायताकै पहिलो पत्रकार सम्मेलनमा बोल्दै हेगसेथले भने, यो एउटा प्रहसन र सस्तो नौटंकी हो, जुन कुरा सबैलाई राम्ररी थाहा छ।
महाभियोगका बुँदाहरूमा हेगसेथमाथि कंग्रेसको स्वीकृतिविना युद्ध लडेको, क्यारिबियन क्षेत्रमा कथित लागूऔषध तस्करहरू विरुद्ध बोट स्ट्राइकका नाममा गैरन्यायिक हत्या गरेको र पूर्वसैन्य अधिकृत समेत रहेका डेमोक्र्याटिक सिनेटर मार्क केलीलाई निशाना बनाएर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको आरोप लगाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादका कारण गत मे महिनामा भएको रिपब्लिकन प्राइमरी चुनावमा पराजित भएका उदारवादी नेता म्यासीले मध्यावधि चुनावलगत्तै यो महाभियोगको प्रक्रिया अघि बढाएका हुन्। उक्त चुनावमा डेमोक्र्याटहरूले ‘ब्लु वेभ’ मार्फत प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरेका छन्।
संसद्मा अर्को कार्यकालका लागि सभामुख बन्ने दौडमा रहेका डेमोक्र्याटिक सांसद हकीम जेफ्रीजले आइतबार डेमोक्र्याटहरू हेगसेथमाथि महाभियोग लगाउने पक्षमा ‘दृढ’ रहेको बताएका थिए। उनले सोमबारको पत्रकार सम्मेलनमा पनि सोही कुरा दोहोर्याएका छन्।
प्रतिनिधिसभाले मंगलबार महाभियोग प्रस्तावसँग सम्बन्धित प्रक्रियागत प्रस्तावमा मतदान गर्दैछ। यो पास भएमा प्रस्ताव बहस र अन्तिम मतदानका लागि अघि बढ्नेछ। महाभियोग प्रस्तावहरू विशेषाधिकार प्राप्त हुने भएकाले प्रतिनिधिसभाले दुई कार्यदिनभित्र यसमा कारबाही गर्नुपर्ने, खारेज गर्नुपर्ने वा समितिमा पठाउनुपर्ने हुन्छ।
हेगसेथले म्यासीको यो ‘नौटंकी’ ले अमेरिकाका शत्रुहरूलाई खतरनाक सन्देश दिइरहेको आरोप समेत लगाए।
यसले कंग्रेसले हाम्रा सैनिकहरूको मिसनमा प्रत्यक्ष अवरोध पुर्याउँछ भन्ने सन्देश दिएर अमेरिकी योद्धालाई जोखिममा पारेको छ, हेगसेथले भने, यो देशभक्ति होइन, यो त घात हो।
पत्रकार सम्मेलन सकिनेबित्तिकै ट्रम्पले पनि सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै रक्षा मन्त्रीको बचाउ गरे। ट्रम्पले हेगसेथलाई असन्तुष्ट र पराजित पूर्वसांसद थोमस म्यासी विरुद्ध कडा रूपमा प्रस्तुत भएकोमा ‘ए प्लस, प्लस, प्लस’ अङ्क दिँदै म्यासीलाई पूर्ण असफल व्यक्तिको संज्ञा दिए।
पहिलो कार्यकालमा आफू स्वयं दुई पटक महाभियोगको सामना गरेका ट्रम्पले सोमबार प्रतिनिधिसभाले महाभियोग लगाए पनि आफू हेगसेथको पक्षमा उभिने बताएका थिए।
प्रतिनिधिसभामा रिपब्लिकनहरूसँग २१८-२१४ को झिनो बहुमत छ, तर उनीहरू म्यासीको महाभियोग प्रस्तावलाई असफल पार्न एकजुट हुन सक्छन् कि सक्दैनन् भन्ने स्पष्ट छैन। उपराष्ट्रपति जेडी भान्स लगायत केही रिपब्लिकनहरूले इरान युद्धका कारण मध्यावधि चुनावमा हार व्यहोर्नुपरेको प्रत्यक्ष आरोप लगाएका छन्, जहाँ अझै पनि छिटपुट झडपहरू जारी छन्।
यदि हेगसेथमाथि महाभियोग दर्ता भएमा सिनेटले सुनुवाइ गरी उनलाई पदबाट हटाउने वा नहटाउने विषयमा मतदान गर्नुपर्नेछ। पदमुक्त गर्न दुई-तिहाइ बहुमत आवश्यक पर्छ। अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि क्याबिनेट मन्त्रीलाई सिनेटले पदमुक्त गरेको छैन, यद्यपि दुई जनामाथि महाभियोग भने लगाइएको थियो।





