न्युयोर्कका मेयर ममदानीद्वारा तिहारको शुभकामना
सिटी हलमा मेयर ममदानी। नोभेम्बर ४, २०२६। फोटो: एड रिड/मेयरल फोटोग्राफी अफिस
न्युयोर्क — न्युयोर्कका मेयर जोहरान क्वामे ममदानीले नेपाली समुदायलाई तिहारको शुभकामना दिँदै यस पर्वले समृद्धि, शान्ति र अपनत्वको अनुभूति ल्याओस् भन्ने कामना गरेका छन्।
सामाजिक सञ्जाल एक्समा प्रकाशित सन्देशमा ममदानीले रोमन लिपिमा नेपाली भाषामा “तिहारको हार्दिक शुभकामना!” लेखेका छन्। त्यसपछि अंग्रेजीमा लेखिएको सन्देशमा उनले लक्ष्मीपूजामा दियो बाल्ने र भाइटीकामा आपसी सम्बन्धको उत्सव मनाउने हजारौं नेपाली न्युयोर्कवासीलाई सम्बोधन गरेका छन्।
“हजारौं नेपाली न्युयोर्कवासीले लक्ष्मीपूजाका लागि दियो बाल्दै र भाइटीकाको सम्बन्धलाई उत्सवका रूपमा मनाउँदै गर्दा, यस तिहारले तपाईंहरूलाई समृद्धि, शान्ति र तपाईंहरूले पाउनुपर्ने अपनत्वको अनुभूति ल्याओस्,” उनले सन्देशमा भनेका छन्।
ममदानीले शुभकामना सन्देशमा तिहारका धार्मिक तथा पारिवारिक पक्षसँगै नेपाली समुदायको अपनत्वको भावनालाई पनि जोड दिएका छन्। तिहार नेपालका प्रमुख चाडमध्ये एक हो। उज्यालोको पर्वका रूपमा चिनिने यो चाड पाँच दिनसम्म मनाइन्छ। यस अवधिमा काग, कुकुर, गाई र गोरुको पूजा गर्नुका साथै धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ। नेवार समुदायले यही अवसरमा आफ्नो शरीर तथा आत्माको पूजा गर्ने म्हःपूजा पनि मनाउँछ।
लक्ष्मीपूजामा घरआँगनमा दियो बालेर देवी लक्ष्मीको स्वागत गर्ने परम्परा छ। तिहारको अन्तिम दिन भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिई दीर्घायु र समृद्धिको कामना गर्छन्। कतिपय समुदायमा दाजुभाइ र दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिने चलन पनि छ।
न्युयोर्कमा नेपाली समुदायको बसोबास विशेषगरी क्वीन्सका रिजउड, ज्याक्सन हाइट्स, उडसाइड, सन्नीसाइड र एल्महर्स्टलगायत क्षेत्रमा रहेको छ, र उनीहरू अहिले हर्षोल्लासका साथ तिहार मनाइरहेका छन्।





