२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

बाढीले उजाडिएको देवीघाटमा तिहार: भग्नावशेषबीच बलेका केही दियो (स्थलगत)

बाढीले क्षति पुर्‍याएको आफ्नो घरमा लक्ष्मी पूजाको तयारी गर्दै नुवाकोटको देवीघाटकी ४२ वर्षीया लक्ष्मी भण्डारी। बाढीले घर र सम्पत्ति गुमाए पनि उनले परिवारसँगै यस वर्षको तिहार मनाउने निर्णय गरिन्। फोटो : दिपेन्द्र ढुंगाना

नुवाकोट — तिहारका बेला देशभरका घर र बजार दीपावलीका बत्तीले उज्यालिएका छन्। तर नुवाकोटको देवीघाट बजारमा यस वर्ष तिहारको रौनक छैन। गत भदौ १० गते आएको बाढीले बस्तीका अधिकांश घर बगाएपछि कुनै समय चहलपहल रहने यो बजार अहिले सुनसान छ।

बजारका सडकमा मानिसहरूको आवतजावत छैन। कतिपय घर पूर्ण रूपमा भत्किएका छन् भने बाँकी रहेका संरचना पनि बसोबास गर्न नमिल्ने गरी क्षतिग्रस्त छन्। उभिएका घरका भित्तामा बाढीले छाडेका माटो र गेगरका धर्सा अझै देखिन्छन्। बजारको स्वरूप बदलिएको छ। स्थानीयका लागि भने घरसँगै वर्षौंको मेहनत र भविष्यका योजनासमेत गुमेको छ।

भोटेकोशी नदीमा आएको बाढीले देवीघाट बजारलाई ठूलो क्षति पुर्‍याएको थियो। बाढीले घरहरूमा बालुवा र गेगर थुपार्‍यो भने कतिपय संरचना बगायो। ज्यान जोगाउन भागदौड गरेका स्थानीयमध्ये धेरै अहिले पनि विस्थापित जीवन बिताइरहेका छन्।

करिब २०० घरधुरी रहेको बजारमा अहिले मुस्किलले केही दर्जन घर मात्र बाँकी छन्। तीमध्ये पनि धेरै बस्न योग्य छैनन्। बाढीपीडित परिवारहरू कोही सरकारी तथा अन्य निकायले व्यवस्था गरेका अस्थायी आश्रयस्थलमा बसिरहेका छन् भने केही जोखिमपूर्ण अवस्थाबीच पुरानै बस्तीमा फर्किएका छन्। स्थायी पुनःस्थापनाको टुंगो नलाग्दा उनीहरूको दैनिकी अझै अनिश्चित छ।

बाढीले क्षति पुर्‍याएको घरमा लक्ष्मी पूजा गर्दै नुवाकोटको देवीघाटकी लक्ष्मी भण्डारी। तस्बिर: दीपेन्द्र ढुंगाना / खसोखास

यही परिस्थितिमा लक्ष्मी पूजा मनाउने कि नमनाउने भन्ने प्रश्न पनि विस्थापित परिवारका लागि सहज थिएन। छरछिमेकका अधिकांश घरमा चाडपर्वको तयारी थिएन। तर ४२ वर्षीया लक्ष्मी भण्डारीले परिवारसँगै आफ्नो घरमा दियो बाल्ने निर्णय गरिन्।

बाढीले क्षति पुर्‍याएको घर र वरिपरि थुप्रिएको माटो तथा भग्नावशेषबीच उनले लक्ष्मी पूजाको तयारी गरिन्। वर्षौंको मेहनतले जोडेको सम्पत्ति गुमाएकी भण्डारीका लागि यस वर्षको तिहार अघिल्ला वर्षभन्दा फरक थियो। तर उनले चाडपर्व नमनाई सधैँ शोकमा बस्न नसकिने बताइन्।

“पहिला यही देवीघाटमा तिहार एकदमै हर्षोल्लासका साथ मनाइन्थ्यो। यसपालि सबै कुरा बिथोलिएको छ। आफ्ना छिमेकी, दिदीबहिनीहरू कोही पनि यहाँ हुनुहुन्न,” उनले भनिन्। “भौतिक क्षति धेरै भएको छ। मानवीय क्षति धेरै नभए पनि बस्तीको अवस्था फेरिएको छ।”

उनका अनुसार बाढीपछि बजारमा चाडपर्व मनाउने वातावरण थिएन। तर आफूले गर्दै आएको परम्परा र संस्कृति जोगाउन पनि पूजा गर्ने निर्णय गरेको उनले बताइन्। “आफूले गर्दै आएको कुरा किन छोड्ने? जे जस्तो भए पनि गर्नुपर्छ भनेर पूजा गर्‍यौँ। बत्ती बाल्यौँ,” उनले भनिन्।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

भण्डारीका लागि भदौ १० गतेको बिहान अझै सम्झनामा ताजा छ। बाढी आउँदा उनी घरमै खाना पकाउँदै थिइन्। उनका श्रीमान् काठमाडौंमा थिए। श्रीमान्ले फोन गरेर बाढी आएको खबर दिएपछि उनले खाना पकाउन छाडेर घरबाट निस्कने निर्णय गरिन्।

“म घरमै खाना बनाउँदै थिएँ। श्रीमान् काठमाडौं जानुभएको थियो। उहाँले फोन गरेर बाढी आयो भन्नुभयो। सुरुमा यति माथिसम्म आउँदैन होला भन्ने लागेको थियो। तर उहाँले पटकपटक फोन गरेपछि खाना बनाउँदै छोडेर निस्किएँ,” उनले बाढी आएको दिन सम्झँदै भनिन्।

उनी घरको अगाडिको बाटोभन्दा पछाडिको बाटो हुँदै बाहिर निस्किएकी थिइन्। “अगाडिबाट निस्केको भए बाँचिँदैनथ्यो होला। पछाडिबाट निस्किएँ र बाँच्न सफल भएँ,” उनले भनिन्।

बाढीपछि उनको परिवारले करिब एक महिना घरबाहिर बिताउनुपर्‍यो। घरमा फर्कन सक्ने अवस्था थिएन। पछि सरसफाइ गरेर उनीहरू पुनः त्यही घरमा बस्न थाले। उनकी आमा बिरामी रहेकाले अन्यत्र बस्न कठिन भएको भण्डारीले बताइन्।

विनाशकारी बाढी लगत्तैको देवीघाट बजार। फोटो: दिपेन्द्र ढुंगाना
विनाशकारी बाढीको झण्डै साढे २ महिनापछि आइतबार देखिएको देवीघाट बजार। फोटो : दिपेन्द्र ढुंगाना

“भगवान्ले बचाइदिनुभयो। घर देखेपछि आफ्नै घरको माया लागिहाल्यो। त्यसपछि सफा गर्‍यौँ र बस्न थाल्यौँ। आमा पनि बिरामी हुनुहुन्छ। अन्त बस्दा समस्या हुने भएकाले दसैँदेखि यहीँ बसिरहेका छौँ,” उनले भनिन्।

भण्डारीले बाढीमा आफू बाँच्न सफल भएको कुरालाई नै ठूलो उपलब्धिका रूपमा लिएकी छन्। उनका अनुसार सम्पत्ति गुमाएका परिवारको पीडा ठूलो भए पनि बाँचेकाहरूले जीवनलाई अघि बढाउनुपर्ने हुन्छ।

“नरमाइलो त छ। तर नरमाइलो भए पनि रमाइलै गर्नुपर्छ। आफू बाँचेको छ, त्यही नै ठूलो कुरा हो,” उनले भनिन्।

लक्ष्मी पूजाका अवसरमा उनले देशभरका मानिसलाई प्राकृतिक विपत्तिबाट सुरक्षित रहन पाऊन् भन्ने कामना पनि गरिन्। “यस्तो दैवी प्रकोपबाट क्षतविक्षत भएर बस्न कसैलाई पनि नपरोस्। आफ्नो दुःख–सुख गरेर, आफ्नै पौरखले कमाएर सबैले खुसी भएर बस्न पाऊन्,” उनले भनिन्।

भण्डारीको परिवारले बालेको दियोले भग्नावशेषले भरिएको बजारमा तिहारको उपस्थिति देखायो। तर बजारका धेरै परिवारका लागि चाडपर्वभन्दा पहिले बसोबास र दैनिक जीवनलाई सामान्य अवस्थामा फर्काउने चुनौती छ।

देवीघाटबाट विस्थापित भएर पिपलटारस्थित लामिबगरको होल्डिङ सेन्टरमा बसेका परिवारमध्ये केहीले पनि अस्थायी आश्रयस्थलमै लक्ष्मी पूजा गरे। करिब २५ वटा टेन्ट रहेको उक्त केन्द्रमा केही परिवार अन्यत्र सरे पनि अधिकांश अझै त्यहीँ बसिरहेका छन्।

बाढीपछि पिपलटारस्थित लामिबगरको अस्थायी होल्डिङ सेन्टरमा रहेको टेन्टभित्र लक्ष्मी पूजा गर्दै सविता नेपाली। तस्बिर: दीपेन्द्र ढुंगाना / खसोखास

त्यहाँ बस्ने सविता नेपालीको परिवारले पनि टेन्टमै दियो बाल्यो। जाडो र सीमित सुविधाबीच उनीहरूले चाडपर्व मनाउने प्रयास गरे।

नेपालीको परिवार करिब दुई दशकदेखि देवीघाटको सुकुमबासी बस्तीमा बस्दै आएको थियो। लामो समय मजदुरी गरेर र खर्च कटाएर बचत गरेको रकमबाट उनीहरूले केही समयअघि मात्र देवीघाटमा घर किनेका थिए। दसैँमा नयाँ घरमा सर्ने र आफ्नै घरमा दसैँ–तिहार मनाउने उनीहरूको योजना थियो।

तर घर किनेको दुई महिना नपुग्दै बाढीले त्यो योजना भत्काइदियो।

“दुई महिना मात्र भएको थियो घर किनेको। दसैँमा सर्ने योजना थियो,” नेपालीले भनिन्।

वर्षौंको मेहनतपछि आफ्नै घर बनाउने सपना पूरा भएको ठानेका उनीहरूको परिवार अहिले अस्थायी टेन्टमा बस्न बाध्य छ। सरकारी तथा विभिन्न संघसंस्थाबाट केही राहत पाए पनि स्थायी बसोबासको व्यवस्था हुन सकेको छैन।

घर र सम्पत्ति गुमाएका परिवारका लागि पुनःस्थापना अझै अधुरो छ। केहीले पुरानै ठाउँमा फर्कने प्रयास गरिरहेका छन् भने अरू अस्थायी आश्रयमै दिन बिताइरहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।