इजरायलमा राजनीतिक हलचल: राष्ट्रपतिद्वारा गाडी आइजेनकोटलाई नयाँ सरकार गठनको जिम्मेवारी
Photo: Rafael Nir/ Unsplash
इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले शनिबार बेन्जामिन नेतान्याहुका प्रमुख राजनीतिक प्रतिस्पर्धी गाडी आइजेनकोटलाई नयाँ सरकार गठनको प्रयास गर्न आह्वान गरेका छन्। हालै सम्पन्न अनिर्णीत निर्वाचनपछि दुवै नेतासँग स्पष्ट बहुमत नभएका कारण राष्ट्रपतिले यस्तो कदम चालेका हुन।
नेतान्याहुको धार्मिक-राष्ट्रवादी गठबन्धनले अक्टोबर २७ को निर्वाचनमा आफ्नो बहुमत गुमाए पनि संसदमा सबैभन्दा ठूलो दलको रूपमा भने उभिएको छ।
पूर्व सेना प्रमुख आइजेनकोटले अरब दलहरूसँग सहकार्य नगर्ने स्पष्ट पारिसकेका छन्, जसको समर्थनले उनलाई संसदमा बहुमत दिलाउन सक्थ्यो। तर, नेतान्याहु र उनका कट्टरपन्थी सहयोगीहरूको नीतिको विरोध गर्दै अरब नेताहरूले आइजेनकोटलाई नै सरकार गठनका लागि पहिलो प्राथमिकतामा सिफारिस गरेका थिए, जसले गर्दा उनले सर्वाधिक समर्थन प्राप्त गरे।
राष्ट्रपतिका प्रवक्ताका अनुसार, राष्ट्रपति हर्जोगले आइजेनकोटलाई निवासमा आमन्त्रित गर्दै औपचारिक रूपमा सरकार गठनको जिम्मेवारी सुम्पनुभएको छ। इजरायलमा राष्ट्रपतिको भूमिका मुख्यतया आलंकारिक हुन्छ र निर्वाचनपछि गठबन्धन सरकार बनाउन नेता मनोनीत गर्ने अधिकार उहाँमा निहित हुन्छ।
मनोनयनपछि आइजेनकोटले ट्विटरमा लेख्दै भनेका छन्, अहिले राष्ट्रिय संकटकालीन सरकार गठन गर्ने समय हो। म यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्न आफ्नो सम्पूर्ण क्षमता लगाउनेछु।
आइजेनकोटका अगाडि सरकार बनाउने प्रक्रिया निकै जटिल रहेको विश्लेषकहरू बताउँछन्। उनलाई सरकार गठनका लागि २८ दिनको समय दिइएको छ, जुन थप १४ दिनसम्म विस्तार हुन सक्छ।
इजरायलमा नयाँ सरकार गठनका लागि गाडी आइजेनकोटका अगाडि मुख्य तीनवटा विकल्प रहेका छन्। उनले अरब दलहरूको बाह्य समर्थन लिएर अल्पमतको सरकार चलाउने, विगतमा टाढा रहेका अति-अर्थोडक्स धार्मिक दलहरूसँग गठबन्धन गर्ने वा बेन्जामिन नेतान्याहुसँगै मिलेर राष्ट्रिय एकताको सरकार बनाउने सम्भावना छ।
तथापि, वर्तमान राजनीतिक समीकरणका कारण यी तीनै विकल्पहरू कार्यान्वयन हुन निकै कठिन मानिएका छन्। यदि तोकिएको समयसीमाभित्र आइजेनकोट सरकार गठन गर्न असफल भएमा संसदले अर्को उम्मेदवारलाई अवसर दिनेछ। सम्पूर्ण प्रक्रियाका लागि तोकिएको १०० दिनको अवधिभित्र पनि कुनै पनि नेताले सरकार बनाउन नसकेमा मुलुक पुनः नयाँ निर्वाचनतर्फ धकेलिनेछ।
१२० सिट रहेको इजरायली संसदमा नेतान्याहुको ‘लिकुड’ पार्टीले २७ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि उनको गठबन्धनले ५३ सिट मात्र ल्याउन सक्यो, जुन बहुमत ६१ सिट भन्दा कम हो।
आइजेनकोटको ‘यासार’ पार्टीले २१ सिट जितेको छ भने उनको चार-दलीय गठबन्धनले ४८ सिट हासिल गरेको छ। इजरायलका अरब अल्पसंख्यक समुदायका प्रतिनिधि दलहरूले अभूतपूर्व १९ सिट जितेका छन्।
६६ वर्षीय आइजेनकोट मोरक्कन मूलका यहुदी हुन्। यदि उनी प्रधानमन्त्री बनेमा इजरायलको इतिहासमा मध्यपूर्व र उत्तरी अफ्रिकी मूलका यहुदी समुदायबाट प्रथम प्रधानमन्त्री हुनेछन्। सन् २०२२ मा राजनीतिमा प्रवेश गरेका उनले अक्टोबर ७ को हमलापछि गठन भएको नेतान्याहुको युद्धकालीन मन्त्रिपरिषदमा छोटो समय सेवा गरेका थिए।




