भिसा आवेदन विचाराधीन रहेका अमेरिकी राज्य सडक प्रहरी आइसको नियन्त्रणमा
तस्वीर : आइस
अमेरिकाको आइसले विस्कन्सिन राज्यका एक राज्य सडक प्रहरीलाई विमानस्थलबाट पक्राउ गरेको छ। उनका वकिलहरूले बिहीबार दिएको जानकारी अनुसार शरणार्थीको आवेदन विचाराधीन अवस्थामै रहेका बेला उनलाई हिरासतमा लिइएको हो।
दक्षिण अफ्रिकाबाट शरणार्थीका रूपमा अमेरिका आएका २१ वर्षीय क्यारेल एरोन भान डेर मेर्वेसँग संघीय सरकारबाट प्राप्त वैध काम गर्ने अनुमति समेत रहेको छ। आन्तरिक उडानका लागि विमान पर्खिरहेका बेला आइसका अधिकारीहरूले उनलाई पक्राउ गरेका हुन्। हाल उनलाई विस्कन्सिनको जुनूस्थित एक नजरबन्द केन्द्रमा राखिएको आइसको अभिलेखमा देखिएको छ।
वकिलहरूको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भान डेर मेर्वेले आफूसँग वैध वर्क पर्मिट र शरणार्थी आवेदन रहेको कुरा स्पष्ट पार्ने प्रयास गरेका थिए। तर, आइसका अधिकारीहरूले कुनै वास्ता गरेनन्, हतकडी र सिक्री लगाएर उनलाई आप्रवासी नजरबन्द केन्द्रमा पुर्याए।
विज्ञप्तिअनुसार उनी बाल्यकालमै दक्षिण अफ्रिकाबाट वैध तरिकाले अमेरिका आएका थिए र उनी आफ्नो बुबाको शरणार्थी आवेदनतर्फ नै सूचीकृत छन्। उनी करिब एक वर्षदेखि विस्कन्सिन राज्यको सडक प्रहरीको रूपमा कार्यरत रहेका उनका वकिलहरूले बताएका छन्।
यता, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले विज्ञप्तिमा स्पष्ट पार्दै भनेका छन्, स्पष्ट कुरा के हो भने, काम गर्ने अनुमति वा विचाराधीन आवेदनले अमेरिकामा कुनै पनि कानुनी हैसियत प्रदान गर्दैन।
डिपार्टमेन्टका अनुसार, बिहीबार मायामी वा विस्कन्सिनको म्याडिसनस्थित डाइन काउन्टी क्षेत्रीय विमानस्थलमा लक्षित कारबाहीका दौरान आइसले उनलाई पक्राउ गरेको हो।
प्रवक्ताले भनेका छन्, “उनी सन् २०१९ को मार्चमा सेप्टेम्बर २०१९ सम्म बस्ने वैध अनुमतिसहित देशमा प्रवेश गरेका थिए। तर, उनले हाम्रो देशको कानुनको अवहेलना गर्दै बसाइको म्याद नाघेपछि पनि बसेका हुन्। यस कानुनि हैसीयत नभएका आप्रवासीले उचित कानुनी प्रक्रिया प्राप्त गर्नेछन् र देश निकालासम्बन्धी कारबाही नभएसम्म आइसको हिरासतमा रहनेछन्।
प्रवक्ताले थपे, हाम्रो देशमा गैरकानुनी रूपमा रहेका आप्रवासीहरूले स्वेच्छाले देश छाड्न बाहेक अन्य कुनै पनि अवस्थामा विमानबाट यात्रा गर्न नपाउन् भन्ने सुनिश्चित गर्न यो प्रशासनले कडा मेहनत गरिरहेको छ।
भान डेर मेर्वे का वकिल मार्क क्रिस्टोफरले यो गिरफ्तारीलाई अमानवीय र घृणित भनेका छन्। उनले एक विज्ञप्तिमा भनेका छन्, शरणार्थीको मुद्दा टुंगो नलागेको अवस्थामा विस्कन्सिन राज्यका एक प्रहरीलाई हिरासतभित्र थुन्नुले हाम्रो समुदायलाई थप सुरक्षित बनाउँदैन।
अर्को एक विज्ञप्तिमा क्रिस्टोफरले भने, “विस्कन्सिनले जनताको सुरक्षाका लागि क्यारेलमाथि विश्वास गरेको छ। उनलाई नजरबन्दमा राख्नु किन आवश्यक छ भन्नेबारे होमल्यान्ड सेक्युरीटीले उनका परिवार र हाम्रो समुदायलाई स्पष्टीकरण दिनुपर्छ।




