२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

डेमोक्र्याटको जितपछि ह्युस्टनद्वारा सङ्घीय अध्यागमनसँगको सहकार्य सीमित गर्ने घोषणा

तस्वीर : आइस

टेक्सास राज्यमा दशकौँपछि डेमोक्र्याटिक पार्टीले सत्ता सम्हालेसँगै ह्युस्टन सहरले सङ्घीय अध्यागमन अधिकारीहरूसँगको सहकार्यलाई सीमित गर्ने घोषणा गरेको छ। ह्युस्टनका मेयर जोन ह्वाइटमायरले शुक्रबार अध्यागमन कार्यान्वयनको “नयाँ मोडल” सुरु गर्दै यो निर्णय सार्वजनिक गरेका हुन।

मेयर ह्वाइटमायरका अनुसार, अब सहरले केवल खतरा सृजना गर्ने व्यक्तिहरूलाई मात्र लक्षित गर्नेछ; आफ्नो परिवार, काम र शिक्षामा व्यस्त रहेका सर्वसाधारणलाई असर पारिने छैन। सामान्य ट्राफिक नियम उल्लङ्घनजस्ता गैर-हिंसात्मक र जेल सजाय नहुने अपराधमा कुनै पनि व्यक्तिलाई अध्यागमन निकाय आइससँग सम्पर्क गराइने छैन। यसले मानिसहरूमा रहेको डर र त्रास घटाउनेछ, उनले भने।

अमेरिकाको चौथो ठूलो सहरको यो कदमलाई हालै सम्पन्न मध्यावधि निर्वाचनपछि आइसको अधिकारमा कटौती गर्ने पहिलो ठूलो कदमका रूपमा हेरिएको छ।

यसअघि गत जुलाईमा ह्युस्टनको म्याग्नोलिया पार्कमा ट्राफिक चेकिङका क्रममा आइस एजेन्टले चलाएको गोली लागेर लोरेन्जो साल्गाडो अराउजोको मृत्यु भएको थियो। उक्त घटनाले स्थानीय बासिन्दा र निर्माण क्षेत्रका श्रमिकहरूमा गहिरो चिन्ता सृजना गरेको थियो। त्यस्तै, अक्टोबरमा अर्का एक संदिग्धको खोजी गर्ने क्रममा आइसका अधिकारी मारियो अल्बर्टो मोरालेसले गाडीले ठक्कर दिँदा मिगेल पार्रा हर्नान्डेज घाइते भएका थिए।

मेयरको नयाँ निर्देशिका अनुसार, अब ह्युस्टन प्रहरीले गम्भीर अपराधमा पक्राउ परेका वा आइसले आधिकारिक प्रशासनिक वारेन्ट जारी गरेका व्यक्तिहरूको हकमा मात्र आइसलाई खबर गर्नेछ। व्यक्ति अध्यागमन अनुगमनको दायरामा परेको शङ्का लागेकै भरमा उसलाई नियन्त्रणमा राख्न वा हिरासत लम्बाउन पाइने छैन।

टेक्सासमा नव-निर्वाचित डेमोक्र्याट गभर्नर जिना हिनोहोसाको आगमनसँगै ह्युस्टनको यो निर्णयलाई नागरिक अधिकारकर्मीहरूले स्वागत गरेका छन्। “फिएल ह्युस्टन” नामक अधिकारवादी संस्थाका कार्यकारी निर्देशक सेसार एस्पिनोसाले यस निर्णयलाई ह्युस्टनवासीको जित भनेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।