२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

एसियाली खेलकुदमा नेपाल : रजतमा अड्किएको नेपालको स्वर्ण सपना !

एसियाली खेलकुदको महाकुम्भ ‘२० औँ एसियाली खेलकुद’ जापानको आइची प्रिफेक्चर र नागोया सहरमा औपचारिक रूपमा सुरु भएको छ । ‘हार्मोनिक हार्ट बिट’ भन्ने नाराका साथ शनिबारदेखि खेलकूद सुरु भएको हो ।

खेलकुदको नागोयास्थित पालोमा मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित भव्य समारोहबिच जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा मार्चपासमा नेपालको तर्फबाट बक्सिङका चन्द्र बहादुर थापा मगर र महिला कबड्डी टिमकी कप्तान मानमती विष्टले नेपालको झन्डा बोकेका थिए ।

एसियाली खेलकुद महादेशीय स्तरको सबैभन्दा ठूलो र प्रतिष्ठित खेलकुद महोत्सव हो । सन् १९५१ मा भारतको नयाँ दिल्लीबाट सुरु भएको यस महाकुम्भमा नेपालले पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको छ ।

सात दशकभन्दा लामो खेलकुद इतिहास बोकेको नेपालले एसियाली खेलकुदको मञ्चमा अनेकौँ आरोह-अवरोह, सङ्घर्ष र सफलताका क्षणहरू व्यतीत गरिसकेको छ । भौगोलिक, आर्थिक र पूर्वाधारजन्य सीमाका बाबजुद नेपाली एथलिटहरूले एसियाली मञ्चमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै देशको झण्डा फहराएका छन् ।

एसियाडमा नेपालको सहभागिता केवल खेलकुदमा भाग लिनुमा मात्र सीमित नरहेर राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय भाइचारा र खेलकुद विकास मापन गर्ने आधार स्तम्भ बनेको छ ।

नेपाल एसियाली खेलकुदको संस्थापक सदस्य देशहरूमध्ये एक हो । सन् १९५१ को प्रथम एसियाडदेखि नै सहभागिता जनाउँदै आएको नेपालले अहिलेसम्म आयोजना भएका १९ वटा संस्करणमध्ये दुई वटाबाहेक बाँकी सबै १७ वटा संस्करणमा भाग लिइसकेको छ । नेपालले सन् १९५४ मा फिलिपिन्सको मनिला र सन् १९६२ मा इन्डोनेसियाको जकार्तामा भएका आयोजनाहरू मात्र गुमाएको थियो । बाँकी इतिहासमा नेपालले भारतको नयाँ दिल्ली (१९५१ र १९८२), थाइल्यान्डको बैंकक (१९६६, १९७०, १९७८ र १९९८), इरानको तेहरान (१९७४), दक्षिण कोरियाको सोल (१९८६), बुसान (२००२) र इन्चोन (२०१४), चीनको बेइजिङ (१९९०), ग्वाङझाउ (२०१०) र हाङझाउ (२०२३), जापानको हिरोसिमा ९१९९४० तथा कतारको दोहा (२००६) मा भएका संस्करणहरूमा आफ्नो सशक्त उपस्थिति जनाइसकेको छ।

एसियाली खेलकुदको इतिहासमा नेपालले हालसम्म कुल २६ वटा पदक जित्न सफल भएको छ, जसमा ३ रजत र २३ कांस्य पदक रहेका छन् । यद्यपि, स्वर्ण पदकको खाता भने अझै खुल्न सकेको छैन। नेपालका लागि मार्सल आर्ट्स (सामरिक कला) पदकको मुख्य स्रोत रहँदै आएको छ, जहाँ तेक्वान्दोले १ रजत र १३ कांस्य गरी १४ पदक, बाक्सिङले ६ कांस्य, र करातेले १ रजत र ३ कांस्य गरी ४ पदक दिलाएका छन्। यसबाहेक गैर-मार्सल आर्ट्स विधातर्फ प्याराग्लाइडिङले १ रजत र महिला कबड्डी टोलीले १ कांस्य पदक हात पारेका छन्।

नेपालले सन् १९५१ देखि भाग लिए पनि पहिलो पदक जित्न ३५ वर्ष कुर्नुपरेको थियो, जुन सन् १९८६ को सोल एसियाड (दक्षिण कोरिया) मा सम्भव भयो। सोल एसियाडमा विधान लामाले तेक्वान्दोमा कांस्य पदक जितेर नेपाललाई एसियाड इतिहासमै पहिलो पदक दिलाएका थिए ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

सोही संस्करणमा तेक्वान्दोका राजकुमार राई, राजकुमार बुधेच्छुक, रामबहादुर घर्ती क्षेत्री तथा बाक्सिङका दलबहादुर रानामगर, मनोजबहादुर श्रेष्ठ, सुशील पोखरेल र तुलबहादुर थापाले कांस्य पदक जित्दै कुल ८ वटा पदक नेपालको नाममा गराए। त्यसपछि सन् १९९० को बेइजिङ एसियाडमा बाक्सिङका चित्रबहादुर गुरुङले १ कांस्य तथा सन् १९९४ को हिरोसिमा एसियाडमा तेक्वान्दोका मानबहादुर शाही र करातेकी सीता राईले १-१ कांस्य पदक जितेका थिए।

सन् १९९८ को बैंकक एसियाड नेपालका लागि ऐतिहासिक बन्यो, जहाँ तेक्वान्दोकी सविता राजभण्डारीले नेपालका लागि पहिलो रजत पदक जितेर नयाँ इतिहास रचिन् । सोही संस्करणमा तेक्वान्दोका किशोर श्रेष्ठ, सपना मल्ल र करातेका साम्भरबहादुर गोलेले कांस्य पदक थपे । यसैगरी सन् २००२ को बुसान एसियाडमा दीपक विष्ट, रेनुका मगर र ऋतु जिमी राई (सबै तेक्वान्दो) ले १-१ कांस्य पदक जिते ।

सन् २००६ को दोहा एसियाडमा दीपक विष्ट, मनिता शाही र आयसा शाक्यले तेक्वान्दोमा कांस्य पदक जिते भने दीपक विष्ट लगातार दुई एसियाडमा पदक जित्ने पहिलो नेपाली खेलाडी बने । त्यसपछि सन् २०१० को ग्वाङझाउ एसियाडमा बाक्सिङका दीपक महर्जन र सन् २०१४ को इन्चोन एसियाडमा करातेकी विमला तामाङले १-१ कांस्य पदक हासिल गरे ।

सन् २०१८ को जकार्ता-पालेम्बाङ एसियाडमा नेपालले २० वर्षपछि दोस्रो रजत पदक जित्यो, जुन विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सम्मिलित पुरुष प्याराग्लाइडिङ टोलीले ‘क्रस-कन्ट्री’ विधामा हासिल गरेको थियो । पछिल्लो पटक सन् २०२३ मा चीनको हाङझाउमा आयोजित १९ औँ एसियाडमा करातेकी एरिका गुरुङले ६८ केजी माथि तौल समूहमा ऐतिहासिक रजत पदक जितिन् भने नेपाली महिला कबड्डी टोलीले पहिलो सहभागितामै कांस्य पदक जितेर समूहगत खेलमा नयाँ कीर्तिमान कायम गर्‍यो ।

सात दशक लामो यात्रा र २६ वटा पदकको सफलताका बाबजुद नेपाली खेलकुद अझै पनि स्वर्ण पदकको खोजीमा छ । पर्याप्त पूर्वाधारको अभाव, प्रशिक्षणको कमी, न्यून सरकारी बजेट तथा लगानी र दीर्घकालीन योजनाको अभाव जस्ता मुख्य चुनौतीहरूका कारण नेपाली एथलिटहरूले क्षमता हुँदाहुँदै पनि स्वर्ण पदक जित्ने सपना पूरा गर्न सकेका छैनन् ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।