झुटा विवरण पेस गरी अमेरिकी सैन्य ठेकेदार कम्पनीमा ३० वर्ष काम गर्ने आप्रवासी महिला पक्राउ
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकी नागरिकतासम्बन्धी झुटा विवरण पेस गरी रक्षा तथा विमान निर्माणसम्बन्धी कम्पनीमा विगत तीन दशकदेखि काम गर्दै आएकी एक कानुनी हैसीयत नभएकी आप्रवासीलाई अमेरिकी होमल्यान्ड सेक्युरिटीका अधिकारीहरूले पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा ५४ वर्षीया मेक्सिकन नागरिक अल्मा प्याट्रिसिया कन्ट्रेरास भिल्लाफाना रहेकी छन्। उनलाई दक्षिण लस एन्जलसस्थित ‘हाउमेट एरोस्पेस’को टोरेन्स कारखानाबाट प्रहरी हिरासतमा लिइएको हो। पक्राउ गर्नुअघि उनी कम्पनीको सभाहलमा करिब दुई घण्टा लुकेर बसेकी थिइन्।
अदालती कागजातका अनुसार भिल्लाफानाले सन् १९९६ मा पहिलोपटक आफू अमेरिकी नागरिक भएको झुटा दाबी गर्दै ‘फर्म आइ-९’ भरेर काम सुरु गरेकी थिइन्। जबकि सन् २००३ मा नै एक अध्यागमन न्यायाधीशले उनलाई अमेरिका छाड्ने आदेश दिइसकेका थिए।
चालू वर्षमा पनि उनले अर्को व्यक्तिको प्रकृयाद्वारा प्राप्त नागरिकता नम्बर प्रयोग गरी पुनः झुटा कागजात पेस गरेकी थिइन्। ३० वर्षको अवधिमा उनले कम्पनीबाट कम्तीमा १४ लाख २ हजार ४ सय ५९ अमेरिकी डलर तलबभत्ता बापत बुझेको अभियोजकहरूले जनाएका छन्।
भिल्लाफानाविरुद्ध इलेक्ट्रोनिक माध्यमबाट ठगी गरेको अभियोगमा ‘वायर फ्रड’ का पाँचवटा मुद्दा दर्ता गरिएका छन्, जसमा प्रत्येक मुद्दामा अधिकतम २० वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ। यसका साथै अर्काको नाममा जारी भएको नक्कली नागरिकता प्रमाण-पत्र प्रयोग गरेको अभियोगमा १० वर्षसम्म र अमेरिकी नागरिकतासम्बन्धी झुटा दाबी गरेको कसुरमा ३ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ।
यसैगरी, अर्कै व्यक्तिको विवरण प्रयोग गरी गम्भीर व्यक्तिगत पहिचान चोरी गरेको अभियोगमा उनीमाथि थप २ वर्षको अनिवार्य कैद सजाय हुने मुद्दा पनि दायर गरिएको छ। यदि यी सबै अभियोगहरूमा उनी दोषी ठहरिएमा उनले लामो समयसम्म जेल सजाय भुक्तान गर्नुपर्ने हुन्छ।
लस एन्जलसका शीर्ष संघीय अभियोजक बिल एसाइलीले यस घटनालाई राष्ट्रिय सुरक्षामाथिको गम्भीर खेलबाड भनेका छन्। उनले भने, “अमेरिकी सेनासँग प्रत्यक्ष काम गर्ने संवेदनशील रक्षा कम्पनीमा गैरकानुनी रूपमा तीन दशकसम्म प्रवेश पाउनु गम्भीर चिन्ताको विषय हो। यस्ता लापरबाहीलाई अब कडाइका साथ नियन्त्रण गरिनेछ।”
हाउमेट एरोस्पेस कम्पनीले अमेरिकी सेनाका लागि एफ-३५ फाइटर जेटका पार्ट्स तथा अन्य सैन्य विमानका महत्वपूर्ण पार्टपुर्जाहरू निर्माण गर्दै आएको छ। हाल ‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेसन्स’ले कम्पनीको भर्ना प्रक्रिया र कानुनी उल्लङ्घनबारे थप अनुसन्धान गरिरहेको छ।





