२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

२७ सांसदले पत्र लेखे लगत्तै अमेरिकी विदेशमन्त्रीले गरे रवि लामिछानेलाई फोन, के भयो कुरा?

अमेरिकी विदेशमन्त्री मार्को रुबियो। (अमेरिकी विदेश मन्त्रालयका लागि फ्रेडी एभरेटले खिचेको आधिकारिक तस्बिर)

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूप्रति समवेदना व्यक्त गर्दै नेपालको आवश्यकताअनुसार थप सहायता उपलब्ध गराउन नेपाल सरकारसँग नजिकबाट काम गर्न अमेरिका तयार रहेको बताएका छन्। रुबियोले सेप्टेम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग फोनवार्ता गर्दै सहयोग गर्न तयार रहेको बताएका हुन्।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले खसोखासलाई दिएको जानकारी अनुशार रुबियोले बाढीबाट प्रभावित सबैप्रति हार्दिक समवेदना व्यक्त गर्दै कठिन घडीमा अमेरिका नेपाली जनतासँग ऐक्यबद्ध रहेको पुनः पुष्टि गरेका थिए। उनले नेपालको आवश्यकतासँग प्रत्यक्ष रूपमा मेल खाने थप सहायता उपलब्ध गराउन नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न अमेरिका तयार रहेको पनि बताएका थिए।

रुबियोले अमेरिकी नागरिक तथा उनीहरूका परिवारलाई सहयोग र संरक्षण गर्नु विदेश मन्त्रालयको सर्वोच्च प्राथमिकता रहेकोमा समेत जोड दिएका थिए।

यसअघि फोनवार्ताबारे रास्वपाले सार्वजनिक गरेको विवरणमा लामिछानेले बाढीपछि जारी खोज, उद्धार र राहत कार्यका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी रुबियोलाई गराएको उल्लेख थियो।

नेपालका नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति सरकार समान रूपमा प्रतिबद्ध रहेको लामिछानेले बताएका थिए, रास्वपाको विवरणमा भनिएको थियो।

लामिछानेले कठिन परिस्थितिमा अमेरिकाले गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिएका थिए। त्यसको जवाफमा रुबियोले नेपाल सरकारलाई थप सहयोग गर्न अमेरिका तयार रहेको बताएका रास्वपाले जनाएको थियो।

अमेरिकी विदेश मन्त्रालयले भने वार्ताका क्रममा लामिछानेले राखेका भनाइ वा अमेरिकाले उपलब्ध गराउने भनिएको सम्भावित थप सहायताको प्रकृतिबारे थप विवरण सार्वजनिक गरेको छैन।

रुबियो र लामिछानेबीचको फोनवार्ताले नेपालमा अमेरिकी उच्च अधिकारीहरूको राजनीतिक नेतृत्वसँगको पछिल्लो सम्पर्कलाई पनि चर्चामा ल्याएको छ। रुबियो र लामिछानेबीचको फोनवार्ताबारे नेपालको परराष्ट्र मन्त्रालयलाई संचारमाध्यमार्फत मात्र जानकारी भएको जनाइएको छ । उक्त विवरणलाई नेपाल सरकार वा अमेरिकी विदेश मन्त्रालयले औपचारिक रूपमा पुष्टि भने गरेको छैन।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

प्रधानमन्त्री बालेन्द्र शाहको साटो लामिछानेसँग रुबियोको संवादलाई कुटनीतिक बृत्तमा पनि चासोका साथ हेरिएको छ। अमेरिकी राजदूत सर्गियो गोरले पनि यसअघि लामिछानेसँग भेट गरेका थिए। अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपूरले पनि यसअघि काठमाडौंमा लामिछानेसँग भेटवार्ता गरेका थिए।

तर, रुबियोले लामिछानेलाई फोन गर्नु प्रधानमन्त्री शाहलाई ‘किनारा लगाउने’ अमेरिकी नीति भएको वा दुई घटनाबीच प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गर्ने कुनै सार्वजनिक अमेरिकी सरकारी विवरण उपलब्ध छैन। अमेरिकी विदेश मन्त्रालयले पनि फोनवार्तालाई बाढीबाट प्रभावित नेपाललाई सहयोग र अमेरिकी नागरिक तथा उनीहरूका परिवारको संरक्षणसँग सम्बन्धित संवादका रूपमा मात्र वर्णन गरेको छ।

रुबियोले लामिछानेलाई फोन गरेको तीन दिनअघि २७ अमेरिकी सांसदले विदेशमन्त्री रुबियोलाई पत्र लेख्दै नेपाल तथा नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार र पुनर्निर्माणका लागि अमेरिकी सहयोग उल्लेखनीय रूपमा विस्तार गर्न आग्रह गरेका थिए।

क्यालिफोर्नियाका डेमोक्र्याटिक सांसद रो खन्नासहित २७ सांसदले सेप्टेम्बर ४ मा पठाएको पत्रमा विदेश मन्त्रालयलाई उपलब्ध सबै स्रोतसाधन परिचालन गरी जारी उद्धार कार्यमा सहयोग गर्न, बेपत्ताको खोजी गर्न तथा नेपाललाई विपद्बाट उकास्न सहयोग गर्न आग्रह गरिएको थियो। पत्रमा बेपत्ता अमेरिकी नागरिकको खोजीलाई पनि प्राथमिकता दिन भनिएको थियो।

सांसदहरूले प्रभावित क्षेत्रमा तत्काल ‘डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम’ (डार्ट) पठाउन, बेपत्ता अमेरिकी नागरिकका परिवार र कंग्रेसलाई दैनिक जानकारी उपलब्ध गराउन तथा कन्सुलर हटलाइनमा पर्याप्त कर्मचारी खटाउन माग गरेका थिए। उनीहरूले थर्मल तथा इन्फ्रारेड ड्रोन, भूउपग्रह तस्बिर र अन्य हवाई निगरानी प्रविधिको प्रयोग गरी बेपत्ता व्यक्तिको खोजीमा सहयोग गर्न पनि आग्रह गरेका थिए।

पत्रअनुसार, अगस्ट २६ मा हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि पहिरोसहित आएको बाढीले त्रिशूली र भोटेकोशी नदी किनारका समुदायमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीले घर, सडक, पुल, जलविद्युत् संरचना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा क्षति पुर्‍याएको सांसदहरूले उल्लेख गरेका छन्।

नेपालका विपद् व्यवस्थापन निकायलाई उद्धृत गर्दै सांसदहरूले सेप्टेम्बर ४ सम्म १,३०० भन्दा बढीको मृत्यु भएको र हजारौं व्यक्ति बेपत्ता रहेको बताएका थिए। बेपत्ता हुनेमा ७५ अमेरिकी नागरिक पनि रहेको पत्रमा उल्लेख छ। उक्त तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।

अमेरिकी विदेश मन्त्रालयले यसअघि क्याथोलिक रिलिफ सर्भिसेसमार्फत आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहयोगका लागि ५ लाख डलर उपलब्ध गराएको थियो। अमेरिकाले अगस्ट २९ मा नेपालका लागि ३६ लाख डलर मानवीय सहायता घोषणा गरेको थियो।

पत्रमा सांसदहरूले प्रारम्भिक सहयोग महत्वपूर्ण भए पनि विपद्को व्यापकता हेर्दा त्यसलाई उल्लेखनीय रूपमा बढाउनुपर्ने बताएका थिए। उनीहरूले खोज तथा उद्धार, खानेपानी र सरसफाइ, खाद्य सहायता तथा यातायातका लागि थप अन्तर्राष्ट्रिय विपद् सहायता रकम उपलब्ध गराउन र दीर्घकालीन पुनर्निर्माण योजना तयार गर्न आग्रह गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।