नेपालमा खोज तथा उद्धारका लागि स्याटेलाइट प्रविधिसहित सहायता बढाउन २७ अमेरिकी सांसदद्वारा रुबियोलाई आग्रह
फोटो: ह्यारोल्ड मेन्डोजा
नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार तथा पुनर्निर्माणका लागि अमेरिकी सहयोग उल्लेख्य रूपमा बढाउन २७ अमेरिकी सांसदले विदेशमन्त्री मार्को रुबियोलाई आग्रह गरेका छन्। रुबियोलाई पठाइएको पत्रमा सांसदहरूले अमेरिकी विदेश मन्त्रालयलाई उपलब्ध सबै स्रोत परिचालन गरी जारी खोज तथा उद्धार अभियानमा सहयोग गर्न, अमेरिकी नागरिकसहित बेपत्ता व्यक्तिहरूको खोजी गर्न तथा विपद्बाट बाहिर निस्कन नेपाललाई सहयोग गर्न आग्रह गरेका छन्।
सांसदहरूको यो आग्रह अगस्ट २६ मा भएको घटनापछि नेपालले सामना गरिरहेको विनाशकारी अवस्थाबीच आएको हो। उक्त घटनापछि पानी, बरफ, ढुंगा, हिलो र भग्नावशेषको ठूलो बहाव त्रिशूली र भोटेकोशी नदीका जलाधार हुँदै तलतिर बगेको थियो। विपद्ले घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। हजारौं मानिसको मृत्यु भएको वा अझै बेपत्ता रहेको अवस्थामा सेप्टेम्बर ४ सम्म नेपालका विपद् व्यवस्थापन निकायहरूले १,३०० भन्दा बढीको मृत्यु भएको र हजारौं मानिस अझै सम्पर्कविहीन रहेको जनाएका छन्। तीमध्ये ७५ जना अमेरिकी नागरिक छन्।
रोयटर्सका अनुसार नेपालमा घर, आवास तथा पूर्वाधारमा भएको क्षति करिब २ अर्ब ५६ करोड अमेरिकी डलर बराबर अनुमान गरिएको छ। करिब २० हजार घर पुनर्निर्माण गर्नुपर्ने अनुमान गरिएको छ।
सांसदहरूले अमेरिकाले प्रारम्भिक चरणमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको स्वीकार गरे पनि विपद्को अभूतपूर्व स्तरलाई ध्यानमा राख्दै अमेरिकी प्रतिक्रिया अझ व्यापक बनाउनुपर्ने बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसमार्फत आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छताका लागि ५ लाख अमेरिकी डलर उपलब्ध गराएको थियो। अगस्ट २९ मा मन्त्रालयले नेपालका लागि ३६ लाख अमेरिकी डलर मानवीय सहायता घोषणा गरेको थियो।
“यद्यपि, अभूतपूर्व मानवीय क्षति र असंख्य मानिस बेपत्ता रहेको अवस्थामा हामी मन्त्रालयलाई अझ धेरै गर्न आग्रह गर्दछौं,” सांसदहरूले पत्रमा लेखेका छन्।
सांसदहरूले विदेश मन्त्रालयले तत्काल लिनुपर्ने पाँचवटा प्रमुख कदमसमेत सुझाएका छन्।

बेपत्ता अमेरिकीका परिवार र संसद्लाई दैनिक जानकारी दिन आग्रह
खोज तथा उद्धार अभियान जारी रहँदा अमेरिकी विदेश मन्त्रालयले अमेरिकी संसद् र बेपत्ता अमेरिकी नागरिकका परिवारलाई दैनिक जानकारी उपलब्ध गराउनुपर्ने सांसदहरूको माग छ। उनीहरूले कन्सुलर हटलाइनमा पर्याप्त कर्मचारी परिचालन गर्न तथा अमेरिकी नागरिक र उनीहरूका परिवारलाई स्वदेश फर्काउन आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरेका छन्।
बेपत्ता अमेरिकी नागरिकका परिवार आफ्ना आफन्तबारे जानकारीको प्रतीक्षामा रहेकाले बाढी प्रभावित क्षेत्रमा खोजी जारी रहँदासम्म विदेश मन्त्रालयले नियमित सम्पर्क कायम राख्नुपर्ने सांसदहरूले बताएका छन्।
बेपत्ता विदेशी नागरिकको संख्या पनि उल्लेख्य रहेको छ। नेपालका विपद् व्यवस्थापन निकायहरूले अझै सम्पर्कमा नआएका मानिसमा सयौं विदेशी नागरिक रहेको जनाएका छन्।
सांसदहरूले बाढी प्रभावित समुदायमा डिजास्टर असिस्टेन्स रेस्पोन्स टिम तत्काल परिचालन गर्न पनि आग्रह गरेका छन्। टोलीले खोज तथा उद्धार, रसद व्यवस्थापन, स्वास्थ्य सेवा र स्थानीय निकाय तथा मानवीय संस्थासँग समन्वयलगायतका क्षेत्रमा तीव्र विपद् सहायता प्रदान गर्ने गर्दछ। विपद्को व्यापकतालाई ध्यानमा राख्दै यस्तो टोली “सकेसम्म चाँडो” पठाउनुपर्ने सांसदहरूको भनाइ छ।
बेपत्ता मानिसको खोजीका लागि उन्नत प्रविधि प्रयोग गर्न अन्य अमेरिकी सरकारी निकाय तथा निजी कम्पनीसँग समन्वय गर्न पनि उनीहरूले विदेश मन्त्रालयलाई आग्रह गरेका छन्। सांसदहरूले उच्च उचाइमा प्रयोग गर्न सकिने उपकरण, थर्मल तथा इन्फ्रारेड ड्रोन, भू-उपग्रहबाट प्राप्त तस्बिर तथा अन्य हवाई निगरानी प्रविधिको प्रयोग गर्न विशेष आग्रह गरेका छन्।
सांसदहरूले विदेश मन्त्रालयले नेसनल जियोस्पेसियल–इन्टेलिजेन्स एजेन्सी तथा रक्षा मन्त्रालयअन्तर्गतका अन्य निकायसँग सहकार्य गरी भौगोलिक तथा हवाई तस्बिरहरू सुरक्षित रूपमा उद्धारकर्मी, मानवीय संस्था र स्थानीय सरकारलाई उपलब्ध गराउनुपर्ने बताएका छन्।
त्यस्तै, उद्धार टोलीका लागि सार्वजनिक रूपमा उपलब्ध गराउन मिल्ने अद्यावधिक भू-उपग्रह तस्बिर उपलब्ध गराउन निजी स्याटेलाइट कम्पनीहरूसँग समन्वय गर्न पनि आग्रह गरिएको छ।
बेपत्ता व्यक्तिहरूको स्थान पत्ता लगाउन मोबाइल फोनको लोकेसन डेटा प्रयोग गर्ने सम्भावनाबारे पनि विदेश मन्त्रालयले अध्ययन गर्नुपर्ने सांसदहरूको माग छ।
“यी प्रविधिले सुरक्षित र प्रभावकारी उद्धार अभियानका लागि आवश्यक भौगोलिक जानकारी उपलब्ध गराएर जीवन बचाउन सक्छन्,” सांसदहरूले पत्रमा लेखेका छन्।

नेपाल र चीनसँग समन्वय गर्न आग्रह
सांसदहरूले विदेश मन्त्रालयलाई नेपाल र चीनका विपद् व्यवस्थापन निकायसँगै अन्तर्राष्ट्रिय साझेदार तथा दाता राष्ट्रहरूसँग समन्वय गरी प्रभावित सबै क्षेत्रमा पूर्ण पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन्।
नेपाल–चीन सीमाका दुवैतर्फका समुदाय प्रभावित भएकाले जारी खोज तथा उद्धार अभियानमा सरकारहरू र अन्तर्राष्ट्रिय राहत संस्थाबीच समन्वय अत्यन्त महत्वपूर्ण रहेको उनीहरूले बताएका छन्।
कूटनीतिक पहलमार्फत उद्धार टोलीलाई सबै खोजी क्षेत्रमा पहुँच सुनिश्चित गर्न तथा बेपत्ता अमेरिकी नागरिकसम्बन्धी सूचना आदानप्रदान सहज बनाउन सकिने सांसदहरूको भनाइ छ।
तत्काल राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्म अमेरिकी योजना माग
सांसदहरूको माग तत्कालीन मानवीय आवश्यकतामा मात्र सीमित छैन। उनीहरूले खोज तथा उद्धार, खानेपानी तथा सरसफाइ, खाद्यान्न र यातायातका लागि थप इन्टरनेसनल डिजास्टर असिस्टेन्स रकम उपलब्ध गराउने विषयमा विदेश मन्त्रालयले विचार गर्नुपर्ने बताएका छन्।
नेपालका प्रभावित समुदाय पुनर्निर्माण गर्न, पूर्वाधार पुनःस्थापना गर्न र भविष्यमा यस्ता विपद्को जोखिम सामना गर्ने क्षमता बढाउन दीर्घकालीन अमेरिकी पुनर्निर्माण योजना बनाउन पनि उनीहरूले आग्रह गरेका छन्। सांसदहरूले अमेरिकी सरकारको प्रारम्भिक प्रतिक्रियाको स्वागत गरे पनि विपद्को स्तरका कारण अझ व्यापक अमेरिकी प्रयास आवश्यक रहेको बताएका छन्।
“हामी विदेश मन्त्रालयलाई खोज तथा उद्धार अभियानमा नेतृत्वदायी भूमिका लिन, सबै बेपत्ता अमेरिकी नागरिकको खोजी गर्न र यस त्रासदीबाट प्रभावित समुदायको पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्दछौं,” सांसदहरूले लेखेका छन्।
पत्रमा प्रतिनिधिसभाका सदस्यहरू रो खन्ना, राजा कृष्णमूर्थी, सुहास सुब्रमण्यम, यभेट डी. क्लार्क, लतीफा साइमन, जस्मिन क्रकेट, निडिया एम. भेलाज्केज, राशिदा तलैब, एलेनोर होम्स नोर्टन, इल्हान ओमर, प्रमिला जयपाल, स्टेफन एफ. लिन्च, श्री थानेदार, जिसस जी. “चुई” गार्सिया, जेम्स पी. म्याकगभर्न, केभिन मुलिन, सिड्नी कलामर–डोभ, एरिक सोरेन्सन, रोबर्ट गार्सिया, अडेलिटा एस. ग्रिजाल्भा, सिल्भिया आर. गार्सिया, ज्यान शकाउस्की, जेनिफर एल. म्याक्लेलन, थोमस आर. सुजी, सारा एलफ्रेथ, मार्क ए. भेसी र यासमिन अन्सारीले हस्ताक्षर गरेका छन्।





