अमेरिकी श्रम बजार पुन: लयमा: अगस्टमा १६२,००० रोजगारी थपिए
Photo: Wonderlane/Unsplash
अमेरिकी अर्थतन्त्रले अगस्ट महिनामा अपेक्षाभन्दा उच्च गतिमा नयाँ रोजगारी सिर्जना गर्दै ग्रीष्मकालीन सुस्ततालाई अन्त्य गरेको छ। श्रम तथ्याङ्क ब्यूरोले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, अगस्टमा गैर-कृषि क्षेत्रमा १६२,००० नयाँ रोजगारी थपिएका छन् भने बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहेको छ। डाउ जोन्सका अर्थशास्त्रीहरूले ५३,००० मात्र नयाँ रोजगारी थपिने अनुमान गरेका थिए।
तथ्याङ्क अनुसार क्षेत्रगत आधारमा रेस्टुरेन्ट तथा बार क्षेत्रमा सबैभन्दा बढी ५९,०००, सरकारी शिक्षामा ४२,००० र उत्पादन क्षेत्रमा १६,००० नयाँ रोजगारी थपिएका छन्। अर्कोतर्फ, विगत १२ महिनामा औसत ३२,००० को दरले रोजगारी सिर्जना गर्दै आएको स्वास्थ्य क्षेत्रमा यस महिना १३,००० मात्र रोजगारी थपियो। यसैगरी, सूचना प्रविधि र सम्बन्धित क्षेत्रमा २३,००० रोजगारी घटेका छन्, जसलाई आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगसँग जोडेर हेरिएको छ।
यसका साथै अघिल्ला महिनाहरूका तथ्याङ्कमा पनि सकारात्मक संशोधन गरिएको छ। जुलाई महिनाको तथ्याङ्क संशोधन भई २३,००० को घाटाबाट २१,००० को सकारात्मक वृद्धिमा परिणत भएको छ भने जुन महिनाको वृद्धि पनि ३१,००० पुर्याइएको छ।
श्रम बजारमा ६८३,००० नयाँ मानिस प्रवेश गर्दा श्रम सहभागिता दर ०.२ प्रतिशत बिन्दुले बढेको छ। यति धेरै जनशक्ति भित्रिँदा पनि बेरोजगारी दर स्थिर रहनुलाई अर्थशास्त्रीहरूले सकारात्मक सङ्केतका रूपमा लिएका छन्। यसैबीच, औसत प्रतिघन्टा आम्दानी ०.३ प्रतिशतले बढेसँगै वार्षिक ज्याला वृद्धि ३.१ प्रतिशत पुगेको छ।
रोजगारीको तथ्याङ्क अपेक्षाभन्दा बलियो आएपछि सेयर बजारका फ्युचर्स सूचकहरू घटेका छन् भने ब्याजदर बढेको छ। फेडरल रिभर्सले सेप्टेम्बर १५-१६ मा हुने आगामी बैठकमा ब्याजदर २५ आधार बिन्दु (०.२५%) ले बढाउन सक्ने सम्भावना ५८% पुगेको छ।
तथापि मर्गन स्ट्यान्ली वेल्थ म्यानेजमेन्टका अर्थशास्त्री एलेन जेन्टनरका अनुसार, ब्याजदर बढाउने वा नबढाउने अन्तिम निर्णय आगामी हप्ता सार्वजनिक हुने उपभोक्ता र उत्पादक मूल्य मुद्रास्फीति को प्रतिवेदनमा निर्भर रहनेछ। मुद्रास्फीति नियन्त्रणमा आएमा केन्द्रीय बैंकले हालकै ब्याजदरलाई यथावत राख्न सक्नेछ।





