बाढीको विनाश: १,२५९ शव फेला, खुलेन १ हजारभन्दा बढीको पहिचान, ५ हजारभन्दा बढी बेपत्ता
फोटो: नेपाली सेना
नेपालको रसुवासहित विभिन्न जिल्लामा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु हुनेमध्ये अहिलेसम्म १,२५९ जनाको शव फेला परेको छ भने ५,०८३ जना अझै बेपत्ता रहेका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार साँझ जारी गरेको अद्यावधिक विवरणअनुसार प्रभावित क्षेत्रहरूबाट हालसम्म १२,०३८ जनाको जीवितै उद्धार गरिएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण सबैभन्दा बढी चितवनमा ३५५ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ७२, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव भेटिएको छ। यी अन्य जिल्लाबाट बाढीले बगाएर ल्याएका शव हुन्। फेला परेका शवमध्ये हालसम्म ९५ वटा पहिचान गरी परिवारलाई बुझाइएको छ भने १ हजारभन्दा बढी शवको अहिलेसम्म पहिचान हुन सकेको छैन। बाढीमा परी घाइते भएका ५,३८४ जनाको उपचार भइरहेको छ, जसमध्ये ३,२०६ जनाको नेपाली सेना, १,८७४ जनाको सशस्त्र प्रहरी बल र ३०४ जनाको स्थानीय अस्पतालहरूमा उपचार जारी छ। प्रहरीको अद्यावधिक तथ्याङ्कअनुसार बाढी तथा पहिरोका कारण ज्यान गुमाएका कुल १,२५२ जनाको शव तथा अवशेष फेला परेका छन् भने ६०१ जना विदेशी नागरिक अझै बेपत्ता रहेका छन्।
नेपाल प्रहरीका अनुसार फेला परेका शवहरूमा ४१६ पुरुष, २४८ महिला, ३४ बालक र ४४ बालिका रहेका छन्। यसबाहेक ५१० वटा शरीरका आंशिक अङ्गहरूसमेत फेला परेका छन्। बेपत्ता नागरिक तथा पहिचान हुन नसकेका अवशेषहरूको खोजी र सनाखतका लागि सुरक्षा निकायहरूले संयुक्त रूपमा कार्य गरिरहेका छन्।
मृतकहरूको पहिचान सहज बनाउन प्रहरीले व्यापक रूपमा डीएनए सङ्कलन कार्य अघि बढाएको छ। हालसम्म कुल १,७९४ वटा डीएनए नमुना सङ्कलन गरिएको छ, जसमा १,१४३ वटा नमुना मृतकको शव तथा अवशेषबाट र ६५१ वटा नमुना आफन्तहरूबाट लिइएको छ।
यसैबीच, नेपाल प्रहरीका अनुसार हालसम्म ८९७ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ। बेपत्ता रहेका ६०१ जना विदेशी नागरिकको खोजीका लागि कूटनीतिक नियोगहरू तथा उद्धार टोलीसँग समन्वय गरी खोजी तथा राहत कार्यलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।
विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसमा ९,२८७ नेपाली सेना, ७,९१२ नेपाल प्रहरी र ४,२०३ सशस्त्र प्रहरी बलका जवान रहेका छन्। सेनाले हवाईमार्गबाट ३,६५३ नेपाली र २७३ विदेशी नागरिक तथा स्थलमार्गबाट २०० जना गरी कुल ४,१२६ जनाको उद्धार गरेको छ। यस्तै नेपाल प्रहरीले ३,९८८ र सशस्त्र प्रहरी बलले ३,९२४ जनालाई जीवितै उद्धार गरेका छन्। उद्धार तथा अनुगमनका लागि नेपाली सेनाका हेलिकप्टरले ७८५ उडान र काठमाडौंबाट निजी क्षेत्रका हेलिकप्टरले १२९ उडान भरेका छन्।
विस्थापित भएका ३,८४४ जनालाई नुवाकोट, रसुवा र धादिङका होल्डिङ सेन्टरमा राखिएको छ। स्थलमार्गबाट ८० भन्दा बढी राहत ट्रक तथा बोलेरो गाडी प्रभावित क्षेत्रमा पठाइएको छ भने हवाईमार्गबाट समेत निरन्तर खाद्यान्न आपूर्ति भइरहेको छ। यसैबीच, नेपाल टेलिकमका क्षति पुगेका सबै ११० वटै टावर सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ टावर पुनः सञ्चालन भई सञ्चार सेवा सुचारु भएको छ।





