गोफन्डमीद्वारा नेपाल बाढीपीडितका लागि प्रमाणित सहयोग अभियानको केन्द्र सञ्चालन
नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित मानिसहरूलाई सहयोग गर्न सञ्चालन गरिएका प्रमाणित आर्थिक सहयोग अभियानहरूलाई एउटै स्थानमा समेट्दै गोफन्डमीले केन्द्रीकृत सहयोग केन्द्र सञ्चालनमा ल्याएको छ। यस केन्द्रमा न्युयोर्क क्षेत्रका नेपाली समुदायका सदस्यहरूले सञ्चालन गरेका केही अभियानसमेत समावेश छन्। गोफन्डमीकी सञ्चार व्यवस्थापक तथा प्रवक्ता म्याडिसन जोन्सले उक्त जानकारी दिएकी हुन्।
गोफन्डमीका अनुसार नेपाल बाढी राहत केन्द्र ले थप समीक्षा गरिएका अभियानहरू पहिचान गर्न दाताहरूलाई सहयोग गर्नेछ। साथै, राहतका लागि आर्थिक सहयोग अभियान सुरु गर्न चाहनेहरूलाई आवश्यक जानकारी पनि उपलब्ध गराउनेछ। थप अभियानहरू प्रमाणित हुँदै गएसँगै उक्त पृष्ठ अद्यावधिक गरिने जोन्सले बताइन्।
न्युयोर्क क्षेत्रबाट उक्त केन्द्रमा समावेश गरिएको अभियानमध्ये आकस्मिक बाढी रासुवा बालबालिका राहत कोष पनि एक हो। यो अभियान किमा नेटवर्कका सहसंस्थापक तथा रासुवाको स्याब्रुबेँसीका स्थानीय सेनामले सञ्चालन गरेका हुन्।

यो अभियान बाढीबाट प्रभावित स्याब्रुबेँसी तथा आसपासका क्षेत्रका विद्यालय जाने उमेरका बालबालिकामा केन्द्रित छ। अभियान आयोजकका अनुसार उद्धार तथा खोजी कार्य जारी रहँदा काठमाडौंका बोर्डिङ विद्यालयमा अध्ययनरत १७ जना बालबालिकाले आफ्ना अभिभावक गुमाएको पहिचान गरिएको थियो। संकलित रकम प्रभावित परिवारका बालबालिकाका लागि आवास, शिक्षा तथा दीर्घकालीन हेरचाहको व्यवस्था गर्न प्रयोग गरिने जनाइएको छ।
नेपालमा आएको आकस्मिक बाढीबाट प्रभावित मानिसहरूका लागि प्रमाणित आर्थिक सहयोग अभियानहरू समेटिएको केन्द्रीकृत नेपाल बाढी राहत केन्द्र गोफन्डमीले सञ्चालनमा ल्याएको छ। न्युयोर्क महानगर क्षेत्रका नेपाली समुदायका सदस्यहरूले सञ्चालन गरेका अभियानसमेत समावेश रहेको यो केन्द्रले दाताहरूलाई समीक्षा गरिएका सहयोग अभियान तथा राहत संस्थाहरू पहिचान गर्न सहयोग गर्ने उद्देश्य राखेको छ।
अर्को अभियान नेपाल बाढी विपद् राहत २०२६ प्रवासी नेपाली सम्पर्क समिति अमेरिका नामक अमेरिकामा आधारित ५०१(सी)(३) गैरनाफामूलक संस्थाले सञ्चालन गरेको हो। नेपाली प्रवासी समुदायको प्रतिनिधित्व गर्ने उक्त संस्थाले नेपालका बाढी प्रभावित परिवारका लागि आकस्मिक राहत जुटाउन १ लाख अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको छ।
अभियानका अनुसार संकलित रकम नेपाल सरकारका आधिकारिक राहत कार्यक्रम वा प्रभावित क्षेत्रमा काम गरिरहेका योग्य संस्थामार्फत वितरण गरिनेछ। संकलित रकम कहाँ र कसरी वितरण गरियो तथा अभियान सञ्चालनमा लाग्ने शुल्कसम्बन्धी विवरण र कागजात उपलब्ध गराउने योजना रहेको संस्थाले जनाएको छ।
न्युरल एआई ले पनि चीनसँगको नेपालको सीमावर्ती क्षेत्रमा बाढीबाट प्रभावित समुदायका लागि सहयोग अभियान सुरु गरेको छ। कम्पनीका अनुसार उसका केही कर्मचारीसमेत बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन्। अभियानबाट संकलित रकम खाद्यान्न, अस्थायी आश्रय, स्वास्थ्य उपचार तथा खोज तथा उद्धार कार्यमा सहयोग गर्नुका साथै दीर्घकालीन पुनर्निर्माणका आवश्यकतामा खर्च गरिनेछ।
गोफन्डमीको विश्वास तथा सुरक्षा टोलीले नेपालमा आएको बाढीसँग सम्बन्धित सहयोग अभियानहरूको समीक्षा गरिरहेको जोन्सले बताइन्। ती अभियानहरूले कम्पनीका मापदण्ड पूरा गरेका छन् कि छैनन् भन्ने निर्धारण गर्नुका साथै दाताहरूलाई सम्भावित दुरुपयोगबाट जोगाउनु समीक्षा प्रक्रियाको उद्देश्य रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस्तो समीक्षामा मानव निगरानीसँगै सम्भावित दुरुपयोग पहिचान गर्न प्राविधिक उपकरणहरूको समेत प्रयोग गरिन्छ।
गोफन्डमीका अनुसार दाताबाट प्राप्त रकम भुक्तानी साझेदारमार्फत प्रशोधन गरिन्छ र अभियानमा उल्लेख गरिएको लाभग्राहीको परिचय तथा विवरण प्रमाणीकरण भएपछि रकम उनलाई उपलब्ध गराइन्छ। कुनै प्रश्न वा शंका उत्पन्न भएमा रकम प्राप्तकर्ताको पहिचान पुष्टि नभएसम्म भुक्तानी प्रशोधन गर्ने संस्थाले रकम रोक्न सक्ने जोन्सले बताइन्।
गोफन्डमीले दाताहरूलाई आफ्नो गिभिङ ग्यारेन्टी अन्तर्गत सुरक्षा प्रदान गरिने पनि जनाएको छ। निश्चित परिस्थितिमा दाताले आर्थिक सहयोग गरेको मितिपछि एक वर्षसम्म पूर्ण रकम फिर्ता पाउन सक्ने व्यवस्था यस ग्यारेन्टीअन्तर्गत रहेको कम्पनीले जनाएको छ।
व्यक्तिगत सहयोग अभियानबाहेक गोफन्डमीले नेपालमा आएको बाढीपछि राहत तथा मानवीय कार्यमा संलग्न केही गैरनाफामूलक संस्थाहरूलाई पनि पहिचान गरेको छ। तीमध्ये अल ह्यान्ड्स एन्ड हार्ट्स, डाइरेक्ट रिलिफ, वाइन टु वाटर र वल्र्ड सेन्ट्रल किचन रहेका छन्।





